Skip to content

पशुपालनबाट मासिक दुई लाख बचत

nabil bank

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–६ का गङ्गाधर न्यौपाने साँझ, बिहान गोठमा र दिउँसो कक्षा कोठामा व्यस्त रहनुहुन्छ । पेसाले शिक्षक रहे पनि न्यौपानेले विगत चार वर्षदेखि व्यावसायिक पशुपालन गरेर कृषि क्षेत्रमा आफूलाई सफल बनाएका छन् । 

गौरादेवी नवीन कृषि तथा पशु फार्म दर्ता गरी व्यावसायिक पशुपालन गरेका न्यौपाने कावासोती नगरपालिकाको उत्कृष्ट किसानका रूपमा पुरस्कृत पनि भएका छन् । ‘छ भैंसीबाट सुरु भएको मेरो व्यावसायिक पशुपालन अहिले २७ वटा भैंसी र गाई भएका छन्’, उनले भने, ‘मासिक ३५ सय लिटर दूध बिक्री गर्ने गरेको छु ।’

स्नातकसम्मको अध्ययन पूरा गर्नुभएका ३५ वर्षीय न्यौपानेले दिउँसो कावासोती–४ मा रहेको सरस्वती माविमा अध्यापन गर्नुहुन्छ । पछिल्लो समय कृषि पेसामा युवाको आकर्षण घटेको समयमा उनले ३५ लाख रुपैयाँको लगानीबाट पशुपालन सुरु गरेको बताए । 

‘बाबुबाजेदेखि गर्दै आएको पेसालाई मैले व्यावसायिक रूप दिएको हुँ । शिक्षण कार्यबाट बचेको समय सदुपयोग भएको छ’, न्यौपानेले भने, ‘पशुपालन व्यवसायलाई अझ टिकाउन गत वर्षदेखि आफ्नै दुग्ध डेरी पनि सञ्चालन गरेको छु ।’

पशुको स्याहारसुसारदेखि व्यवस्थापनमा आफैं खटिने गरेका न्यौपानेले अहिले दुई जनालाई रोजगारी दिएका छन् । बैंकको ऋणबाट सुरु गरेको पशुपालनले अहिले लगानी कटाएर प्रशस्त आम्दानी दिन थालेको न्यौपानेले बताए । सबै खर्च कटाएर मासिक दुई लाख रुपैयाँसम्म बचत हुने उनले जानकारी दिए ।

विद्यालयमा गणित विषय पढाउने न्यौपानेको अहिले दुई वटा परिचय बनेको छ । बिहान साँझ कृषकको रूपमा परिचय बनाएका उनले दिउँसो शिक्षकको रूपमा पहिचान स्थापित भएको छ । 

बिहान विद्यालय जानुभन्दा अगाडिसम्म श्रीमतीसहित गोठको काममा खटिने जनाउँदै न्यौपानेले दिउँसोका लागि पनि कामको प्रबन्ध गरेर विद्यालय जाने गरेको बताए । ‘बिहान तीन बजे उठेर गोठमा खटिन्छु । १९ वटा गाईभैंसी अहिले दुहुना छन् । श्रीमती र म मिलेर दुहुनदाहान सकेर दूध बिक्रीका लागि लैजान्छौं, उनले भने, ‘कावासोती बजारमा दूध डेरी खोलेका छौँ । त्यहाँबाट मासिक सात हजार पाँच सय लिटर दूध बिक्री हुने गरेको छ ।’ 

गाईभैंसीका लागि आवश्यक पर्ने दाना, पराल आफैंले तयार पार्ने गरेको न्यौपानेले बताए। करिब तीन बिघा जमिनमा उन्नत जातका घाँस लगाइएको उनको भनाइ थियो । पराल र हरियो घाँस मिलाएर दानापानी व्यवस्थापन गर्ने गरेको न्यौपानेले बताए । पशुपालनमा विगतमा केही समस्या पर्ने गरेको भए पनि अनुभव र योजनाले हिजोआज सहज भएको उनको भनाइ थियो ।  

‘मसँगै पशुपालन सुरु गरेका नगरपालिका क्षेत्रका ११ जना युवा साथीहरू यो पेसाबाट पलायन भइसक्नुभयो’, न्यौपानेले भने, ‘सबै कामदार मात्रै लगाएर पशुपालन गर्छु भन्ने हो भने सफल भइदैन । आफू पनि नियमित काममा खटिने हो भने असफल हुनुपर्दैन ।’ 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime