Skip to content
Prabhu

पोखराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट

काठमाडौं । पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज मौसम खराबीका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको छ । पोखराबाट ७२ जना यात्रु लिएर बिहान काठमाडौं उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको पोखरा विमानस्थलले जनाएको हो ।

बिहान ७ः२५ मा उड्ने तय भएको जहाज सवा ९ बजेमात्र काठमाडौं उडेको थियो । तर, काठमाडौंको मौसम खराब हुँदा करिब २० मिनेट आकाशमा घुमेर भैरहवा अवतरण भएको हो । बुद्धको उडान नम्बर ६६४ को एटीआर ७२ जहाज काठमाडौंका लागि उडे पनि भैरहवा अवतरण भएको पोखरा विमानस्थलकी सूचना अधिकारी जसोदा रेग्मीले जानकारी दिइन् ।

अहिले यात्रु भैरहवा विमानस्थलमा रहेको र काठमाडौंको मौसम खुलेलगत्तै उडान हुने जानकारी दिइएको यात्रु टीका रेग्मीले बताए । काठमाडौं अवतरण नभएपछि डाइभर्ट गरेर बिहान १०ः२० मा भैरहवा अवतरण गरेको रेग्मीले जानकारी दिए । पोखराबाट उडान भर्ने बेला काठमाडौंको मौसम ठिकै देखिए पनि एक्कासि बिग्रिएको विमानस्थलको भनाइ छ ।

बिहान पोखरा विमानस्थलबाट बुद्धका २ वटा जहाज काठमाडौंका लागि उडेको थियो । त्यसमध्ये एउटा अवतरण भएको छ भने अर्को भिजिबिलिटीका कारण अवतरण गर्न नसकी भैरहवा गएको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal