Skip to content
Prabhu

दूध नपाउँदा ‘चितवन मिल्क’ ४ महिनादेखि बन्द

चितवन । दुग्ध उत्पादक सहकारी संस्था र फार्महरुको दूध प्रशोधन गर्दैै आएको चितवन मिल्क उद्योग चार महिनादेखि बन्द भएको छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा सञ्चालित उक्त उद्योगले गत वैशाखदेखि दूध नपाएपछि बन्द भएको हो । उद्योगले दूध ल्याएर प्रशोधन गरी नौनी घ्यू (बटर) र धुलो दूध उत्पादन गर्दै आएको थियो ।

उद्योगका प्रबन्धक दुर्गा पराजुलीले विभिन्न सङ्घसंस्थालाई दूध बिक्रीका लागि आग्रह गरिएको भन्दै पर्याप्त उपलब्ध हुन नसकेपछि उद्योग बन्द गरिएको बताए । ‘एक पटक सञ्चालन गर्न कम्तीमा ४० हजार लिटर दूध आवश्यक पर्दछ ।

उद्योगले एक सिफ्टमा एक लाख लिटर दूध प्रशोधन गर्न सक्छ’, उनले भने, ‘उद्योग नियमित सञ्चालन गर्न पर्याप्त दूध उपलब्ध हुनु जरुरी छ ।’

सहकारी र फार्मले दूध नल्याएपछि आफैँले किनेर मेसिन बिग्रन नदिन उद्योग पुनः सञ्चालनको योजना बनाइएको प्रबन्धक पराजुलीले जानकारी दिए । ‘गत वर्ष यो मौसममा दूधको अभाव थिएन । अघिल्ला वर्षमा असार १५ देखि साउन मसान्तसम्म दूधको अभाव हुने भए पनि यो अवस्था आएको थिएन’, उनले भने ।

प्रबन्धक पराजुलीका अनुसार उद्योगमा ३३ जना कर्मचारी छन् । उद्योग सञ्चालन नहुँदा मासिक १५ लाख रुपैयाँ तलब, मेसिन तथा भौतिक संरचना व्यवस्थापनमा खर्च हुने गरेको उनले जानकारी दिए। गत वर्ष प्रशोधन सामग्री सम्बन्धित सहकारी र फार्मले नलगेपछि दुई पटक गरी झण्डै दुई महिना भण्डारणको अभावमा उद्योग बन्द गर्नुपरेको थियो । अहिले ती सामग्री लैजाने क्रम जारी छ । केही महिनाभित्र सबै सामग्री खाली हुने उनको भनाइ छ ।

उद्योगमा अहिले १५ किलोका आठ हजार ब्लक नौनी र तीन हजार पाँच सय बोरा धुलो दूध बाँकी छ । केही महिना अघिसम्म २२ हजार ब्लक नौनी र २४ हजार बोरा धुलो दूध थियो ।

विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको रु एक सय १३ र घ्यू (बटर) को प्रतिकिलो ५५ रुपैयाँ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ । विसं २०६४ मा स्थापित उक्त उद्योग भूकम्पसँगै बन्द भएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal