Skip to content
Prabhu

अर्थतन्त्रका केही सूचकमा सुधार देखिएको छः पूर्वअर्थमन्त्री पौडेल

 

गण्डकी । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विप्रेषणको आप्रवाह, विदेशी मुद्राको सञ्चितिलगायत अर्थतन्त्रका कतिपय सूचकमा सामान्य सुधार देखिएको बताएका  छन् । 

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको ११औं केन्द्रीय परिषद्को आज पोखरामा उद्घाटन गर्दै उनले मुलुकको अर्थतन्त्रमा केही सुधारका सङ्केत देखिए पनि समस्याबाट भने मुक्त भइनसकेको विचार राखे । 

‘राजस्वले साधारण खर्च पनि धान्न नसक्ने स्थिति छ, आन्तरिक ऋण उठाएर कर्मचारीलाई तलब र सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ’, पूर्वअर्थमन्त्री पौडेलले भने, ‘सरकारले राष्ट्रिय गौरवका विकास आयोजनाको भुक्तानीसमेत दिन सकिरहेको छैन, वैदेशिक ऋण र अनुदानमा कटौती भएको छ ।’

पुँजीगत खर्च न्यून भएको भन्दै उनले राजस्वको परिचालन सन्तोषजनक नरहेको धारणा राखे । माग, आपूर्ति, उत्पादन, आयात, निर्यात आदि घट्दा अर्थतन्त्र सुस्ताएको पौडेलले बताए । विदेशी मुद्राको सञ्चिति बढे पनि सरकारले उपयुक्त काममा विदेशी मुद्रालाई खर्च गर्न नसकेको उनको भनाइ छ । 

अर्थतन्त्रलगायत मुलुकका सबै क्षेत्र दुरुस्त हुन पहिले राजनीति दुरुस्त हुनुपर्ने एमाले उपाध्यक्षसमेत रहेका पौडेलले बताए । संसद्मा रहेको अङ्कगणितका कारण तत्काललाई वर्तमान सरकारको कुनै विकल्प नेदिखएको उनले बताए । 

नेपाल टेलिकमलाई सक्षम व्यवस्थापन र गुणस्तरीय सेवाका आधारमा प्रतिस्पर्धी कम्पनी बनाउन सकिने भन्दै उनले त्यसतर्फ सक्रिय हुन संगठनका पदाधिकारी तथा सदस्यहरूलाई आग्रह गरे। 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal