Skip to content
Prabhu

वीरगञ्जमा होल्डिङ सेन्टर प्रयोगविहीन

वीरगञ्ज । कोरोना सङ्क्रमणको समयमा करिब दुई वर्षअघि पर्साको वीरगञ्जस्थित भारतीय सीमानाकामा निर्माण गरिएका होल्डिङ सेन्टर यतिबेला प्रयोगविहीन अवस्थामा छन् । विसं २०७८ मा कोरोना रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले करिब २८ करोडको लागतमा यहाँ कुल ६० कोठे होल्डिङ सेन्टर निर्माण गरिएका हुन् । हालसम्म ती भवनको स्वामित्व हस्तान्तरण हुन नसक्दा प्रयोग गर्न सकिएको छैन । 

नेपाली सेनाले १३ भान्सा घर, २२ शौचालय, सामान्य लक्षण भएकाका लागि नौ सय श्यया र जटिल अवस्थाका बिरामीका लागि एक सय श्यया तथा तीन वातानुकलित  कक्षसहित निर्माण गरेको उक्त होल्डिङ सेन्टर सुरक्षार्थ सेनाको टोली खटिएको छ ।  

‘होल्डिङ सेन्टरको स्वामित्व कसले लिने भन्ने निश्चित  छैन’, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले भने, ‘स्वामित्व निश्चित नहुँदा बिजुली र खानेपानी जडान गर्न सकिएको छैन ।’ होल्डिङ सेन्टरको स्वामित्व सङ्घीय सरकार, प्रदेश सरकार वा स्थानीय सरकार कसको हुने अझै निश्चित नभएकाले समस्या भएको उहाँले बताउनुभयो । महानगरपालिकालाई स्वामित्वका लागि पत्राचार गरे पनि बजेट अभावका कारण स्वामित्व लिन नसकिने जवाफ पाएको प्रजिअ भुसालको भनाइ छ । 

‘मधेस प्रदेश सरकार र स्वास्थ्य विभागलाई समेत पत्राचार गर्यौँ, तर जवाफ आएको छैन’, उनले भने । होल्डिङ सेन्टर सञ्चालनका लागि जिल्लाका सबै संयन्त्र तयार रहेको प्रजिअ भुसालले जानकारी दिए । विद्युत् प्राधिकरण र खानेपानी कार्यालयले होल्डिङ सेन्टरमा बिजुली र खानेपानी जडान गर्न स्वामित्व अनिश्चित भएकै कारण आनाकानी गरेको उनले बताए ।   

पछिल्लो समय भारतमा कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्दै गएकाले होल्डिङ सेन्टरको प्रयोग गर्नुपर्ने अवस्था आएको वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिलकुमार यादवले बताए । ‘होल्डिङ सेन्टर सञ्चालन नहुँदा समस्या भएको छ”, उनले भने। 

भारतीय सीमा क्षेत्रमा वीरगञ्ज महानगरपालिकाले स्थापना गरेको हेल्थ डेस्कमा खटिएकी ल्याब टेक्निसियन निशा साहले भारतबाट आवतजावत गर्ने करिब दुुई सयदेखि तीन सय जनाको दैनिक रुपमा कोरोना सङ्क्रमण भएनभएको जाँच गरिरहेको बताए । कोरोना सङ्क्रमण पोजेटिभ देखिएकालाई होम क्वारेन्टिनमा बस्न सुझाव दिने गरेको  उनको भनाइ छ । 

डेढ महिनामा १० सङ्क्रमित थपिए

कोरोनाका नयाँ सङ्क्रमित भेटिएपछि भारतसँग जोडिएको पर्साको वीरगञ्जस्थित सिमानाकामा स्वास्थ्य सतर्कता बढाइएको छ । भारतको विभिन्न स्थानमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र केही दिनअघि मात्र वीरगञ्जस्थित सीमानाकामा नयाँ सङ्क्रमित भेटिएपछि स्वास्थ्य सतर्कता र निगरानी बढाइएको हो । 

सीमानाकामा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) स्थापना गरी भारतबाट आउने नागरिकको स्वास्थ्य जाँच गर्न थालिएको छ । उनीहरुको एन्टिजेन विधिबाट स्वास्थ्य परीक्षण गरेर मात्र घर पठाउने गरिएको छ । भारतबाट आउनेलाई सुरुमा स्क्रिनिङ गरी ज्वरो वा खोकीको लक्षण देखिएकाको एन्टिजेन विधिबाट परीक्षण गर्ने गरिएको महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिल यादवले जानकारी दिए । 

गत पुस १ गतेदेखि सञ्चालित उक्त हेल्थ डेस्कमा हालसम्म सात हजार पाँच सय जनाको स्क्रिनिङ गरिएको छ । तीमध्ये हालसम्म १० जनामा कोरोना पोजेटिभ देखिएको संयोजक यादवले बताए । कोरोना पोजेटिभ देखिएकालाई होम आइसोलेसनमा पठाउने गरिएको छ । हेल्थ डेस्कमा आठ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । 

होल्डिङ सेन्टरलाई सरुवा रोग व्यवस्थापन केन्द्र बनाउन सुझाव

अलपत्र रहेको होल्डिङ सेन्टरलाई सरुवा रोग व्यवस्थापन केन्द्रको रुपमा विकास गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिलकुमार यादव नेपालमा समय समयमा सरुवा रोगको प्रभाव बढ्ने भएकाले त्यसको व्यवस्थापन गर्न पूर्वाधार आवश्यक भएको बताए । होल्डिङ सेन्टरलाई सरुवा रोग व्यवस्थापन केन्द्रको रुपमा प्रयोग गर्न सकिने उनको सुझाव छ । 

काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालजस्तै सङ्घीय सरकारले यहाँको होल्डिङ सेन्टरलाई पनि आवश्यक बजेट र जनशक्ति व्यवस्थापन गरी सरुवा रोग व्यवस्थापन केन्द्र बनाउन जरुरी छ । छिमेकी देश भारतसँग टाँसिएको सिमानाकामा विभिन्न सरुवा रोगको जोखिम रहेकोले होल्डिङ सेन्टरलाई त्यसका लागि सदुपयोग गर्ने गरी नीति बनाउनुपर्ने संयोजक यादव बताए । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal