Skip to content
Prabhu

धमिनी सहकारीका ७ हजार बचतकर्ताको करोडौं रकम जोखिममा

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ का ७५ वर्षीय असर्फी महतोले आफ्नो ‘पेन्सन’ वापतको रकम एक दशकदेखि धमिनी बचत तथा ऋण सहकारी संस्था गोलबजारमा जम्मा गर्दै आएका छन् । हालसम्म करिब २५ लाख रुपैयाँ हाराहरी सहकारीमा जम्मा भइसकेको छ तर आफ्नो गर्जोटार्न उनले सो रकम प्रयोग गर्न पाएका छैनन् । पछिल्लो एक वर्षदेखि पटकपटक सहकारीमा धाउँदा पनि मौज्दात रकम नभएको भन्दै कर्मचारीहरूले चेक फिर्ता पठाउने गरेको महतोको गुनासो छ ।

यस्तै, ५० लाख रुपैयाँ बचत जम्मा गर्ने रामबाबु ठाकुरको पनि यस्तै पीडा छ । ‘बचत माग्न जाँदा खुट्टा दुखिसक्यो तर धमिनी सहकारीले बचत फिर्ता दिनसकेको छैन’, ठाकुरले भने, ‘हामीले पैसा धेरै भएर त्यहाँ जम्मा गरेका होइनौँ, गाँस कटाएर बचत गरेका हौँ । आफ्नै रकमका लागि पनि पाउनुसम्म दुःख पाइयो, अझै बचत फिर्ता हुन सकेको छैन ।’

सहकारीबाट रकम फिर्ता नपाउनेमा महतो र ठाकुर जस्तै यहाँ हजारौं बचतकर्ता छन् । यहाँस्थित गोलबजारमा १८ वर्षअघि स्थापना भएको धमिनी बचत तथा ऋण सहकारी संस्था सङ्कटग्रस्त अवस्थामा पुगेपछि बचतकर्ता आक्रोसित छन् । दैनिक पाँच लाख रुपैयाँ सम्म निक्षेप सङ्कलन हुने सहकारी हाल बन्दजस्तै छ ।

७ हजार दुई सय बचतकर्ताको १८ करोड रुपैयाँभन्दा बढी बचत रकम जोखिममा परेको स्थानीयले जनाएका छन् । गोलबजारका ३१ जना प्रतिष्ठित व्यापारीले २५ हजार रुपैयाँ सेयर पुँजी राखेर सहकारी खोलिएको थियो । त्यसैले पनि स्थानीयले निकै विश्वास गरेर रकम जम्मा गरेका थिए । यही विश्वासले सहकारीले छोटो समयमै धेरै ग्राहक बनायो तर हाल त्यही विश्वासमाथि कुठाराघात भएको बचतकर्ताहरूको भनाइ छ ।

बचतकर्ता ठाकुरले भने, ‘यस क्षेत्रमा प्रतिष्ठित व्यापारी नै मिलेर बनाएकाले हामी सबैले विश्वास गर्यौँ । पहिले यस्तो समस्या थिएन केही वर्षअघि मात्रै यस्तो भयो, हाम्रो विश्वासमाथि नै कुठाराघात भएको छ।’

गोलबजार नगरपालिकाका उद्यमी, व्यापारी, किसान, मजदुर र पेसागत व्यक्तित्वले यस सहकारीमा खाता खोलेका थिए । सहकारीले शेयर धनीलाई एक पटक ९५ हजार रुपैयाँ र अर्को पटक २ लाख रुपैयाँ बोनस पनि उपलब्ध गराएको थियो । २५ हजार रुपैयाँको सेयर पुँजी वृद्धि भई १४ लाख पुरयाइएको थियो । सहकारीले ३७ करोड रुपैयाँभन्दा बढी रकम ऋण लगानी पनि गरेएको छ ।

विकास बैंक बन्ने तयारीमा रहेको रहेको भनिएको उक्त सहकारीले लगानी उठाउन नसक्दा विसं २०८० को सुरुआतबाटै सङ्कट व्यहोर्न थालेको जनाइएको छ । सुरुमा आर्थिक मन्दीका कारण नगद अभाव छ भनेर निक्षेपकर्तालाई फकाउने गरिन्थ्यो तर सहकारी डुब्न लागेको हल्ला फैलाइएपछि एकैपटक धेरै बचतकर्ता रकम फिर्ता लिन आउँदा समस्या भएको धमिनी बचत तथा ऋण सहकारीका अध्यक्ष देवनाथ साह स्वीकार गर्छन् ।

उनका अनुसार सहकारी घाटामा नभएको तर ऋणको सावाँ ब्याज समयमा नउठ्दा समस्यामा परेको हो । अध्यक्ष साहले सावाँ व्याज गरेर २७ करोड रुपैयाँ उठाउन बाँकी रहेको र बचत फिर्ता गर्नुपर्ने रकम करिब आठ करोड रुपैयाँ मात्र रहेकाले बचत निक्षेपकर्ताको रकम डुब्ने अवस्था नरहेको बताए।

सञ्चालक समितिबाट राजीनामा दिएका सेयर सदस्य राजेस्वर साह भने करिब रु १८ करोड बचत फिर्ता गर्न बाँकी रहेको बताए । उनले भने, ‘अध्यक्ष साह, सहकारी प्रबन्धक रामबहादुर कार्की र सेयर सदस्य माथवर यादवले तिरेको केही सावाँ र ब्याजबाट तत्काललाई केही साना बचतकर्ताको रकम फिर्ता गरिएको छ । जसका कारण तनाव केही मत्थर भएको मात्र हो । तर ठूल्ठूला बचतकर्ताको समस्या ज्यूँका त्यु छ’, उहाँले भने ।

स्थापना कालदेखि एउटै नेतृत्व भएको र समयसमयमा सहकारीको साधारणसभासमेत नभएको गुनासो पीडितको छ । चार वर्षदेखि संस्थाको लेखापरीक्षण नै भएको र सञ्चालक समितिको बैठक पनि बस्न नसकेको जानकारहरू बताउँछन् । तत्कालीन समयमा सञ्चालक समितिमा रहेका राधेश्याम अग्रवाल, कमल जैन, मागिराम अग्रवाल, राजकुमार साह सुडी, गुरुदयाल साह र राजेन्द्र यादवको मृत्यु भइसकेको पूर्वसेयर सदस्य साहले बताए।

आफ्नै निजी जग्गा बिक्री गरेर भए पनि दुई महिनाभित्र बचतकर्ताको बचत फिर्ता गर्ने सहकारी अध्यक्ष साहको प्रतिबद्धता छ । उनले भने, ‘अहिले नै सहकारीलाई सङ्कटग्रस्त घोषणा गर्नुपर्ने अवस्था छैन । धेरै दायित्व बोझ कम गरिसकिएको छ । समयमा जग्गा बिक्री हुन नसकेर बचत फिर्ता गर्न ढिला भएको हो । अब साधारणसभा गरेर सहकारीलाई सही मार्गमा ल्याइने छ ।’

सहकारीका सेयर सदस्य रामबहादुर राय भने अध्यक्ष साहको भनाइमा विश्वास गर्न नसकिने बताए। ‘बचतकर्ताको विश्वास गुमिसक्यो । सहकारीको साख पहिलेको जस्तो छैन । निक्षेप सङ्कलनमा ९० प्रतिशत कमी आएको छ । हामीले शेयर वापतको रकम त परै जाओस् जम्मा गरेको बचत पनि पाइरहेका छैनौँ’, उनले भने।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal