भू–मध्यसागर नजिक रहेको ग्रीकको भोलोस बन्दरगाह शहर मरेका माछाको बाढीले प्रभावित भएपछि आपतकालिन स्थिति घोषणा गरिएको छ । यसबाट स्थानीयको जीविकोपार्जनमा खतरा मानिएको छ ।
त्यहाँका जलवायु मन्त्रालयको नागरिक सुरक्षा महासचिव वासिलिस पापागेर्गिउले एक महिनाका लागि आपतकालिन घोषणा गरेका छन् । उनले सफाई प्रक्रिया छिटो गराउन रकम र स्रोत उपलब्ध गराउने बताएका छन् ।
भोलोस बन्दरगाह रहेको पागासेटिक खाडीमा हजारौं टन मरेका माछा समुद्र किनार र नदीहरूमा थुप्रिएका एथेन्स समाचार एजेन्सीले जनाएको छ ।
भोलोसमा यो दोस्रो वातावरणीय संकट हो । गत वर्ष विनाशकारी बाढी आएपछि यस क्षेत्रलाई ठूलो क्षति भएको थियो । ती बाढीहरूले सन् १९६२ मा मलेरिया नियन्त्रणको प्रयासस्वरूप सुकाइएको नजिकको ताललाई फेरि भरी भराउ पारेको थियो । जसले तालको आकार तीन गुणाले बढाएको थियो ।
थेस्साली विश्वविद्यालयका कृषि र वातावरण अध्ययनका प्राध्यापक डिमिट्रिस क्लाउडाटोसका अनुसार गत शरद ऋतुमा आएको ड्यानियल र एलियास आँधीपछिको बाढीले थेस्सालीको करिब २० हजार हेक्टर जमिन डुबेको थियो ।
मंगलबार मात्रै, अधिकारीहरूले भोलोस नजिकका समुद्र किनारमा फालिएका ५७ टन मृत माछाहरू हटाएका थिए । भोलोस बन्दरगाहमा पुगेका हजारौं मरेका माछामध्ये अधिकांश फालिसकिएको छ ।
ठूलो मात्रामा मृत माछा समात्नको लागि जालहरू क्षिरिया नदीको मुखमा राखिएको छ । बाढीपछि यहाँको पर्यटकीय गतिविधि करिब ८० प्रतिशतले घटेको स्थानीय रेस्टुरेन्ट र बार संघले जनाएको छ । यस वातावरणीय संकटलाई मध्यनजर गर्दै सार्वजनिक अभियोजनकर्ताले अनुसन्धानको प्रक्रिया अघि बढाएका छन् ।
प्रतिक्रिया दिनुहोस्