Skip to content
Prabhu

सरकारले सोधेको स्पष्टीकरणमा निगम अध्यक्ष अधिकारीको २९ पृष्ठ लामो जवाफ

काठमाडौं । सरकारले सोधेको स्पष्टीकरणमा नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले २९ पृष्ठ लामो जवाफ पठाएका छन् । यही भदौ १३ गते सरकारले सोधेको स्पष्टीकरणमा अधिकारीले २९ पृष्ठ लामो जबाफ दिएका हुन्।

अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमक्ष आफ्नो जवाफ पेस गरेका हुन् । उनले पेस गरेको जवाफमाथि मन्त्रालयले अध्ययन गरिरहेको छ । चाडपर्वको मुखमा निगमका सबै विमान ‘ग्राउन्डेड’ भएपछि सरकारले उनलाई स्पष्टीकरण सोधेको थियो । निगमका पूर्वकर्मचारीसमेत रहेका अधिकारी अध्यक्ष भएपछि संस्था झन् धराशायी भएको, उडानमा रहेका अन्तर्राष्ट्रिय विमानमध्ये तीन ग्राउन्डेड र आन्तरिक उडानमा रहेका दुईमध्ये एक समेत थन्किएपछि सरकाले कारबाही किन नगर्ने भनेर स्पष्टीकरण सोधेको थियो ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा समेत अधिकारीका विषयमा छलफल गर्दै सांसदहरूले अधिकारीलाई पदबाट हटाउन सरकारलाई दबाब दिएका थिए । उनले आफ्नो बचाउ गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र मन्त्रालयलाई दोष दिएका छन् ।

वैकल्पिक व्यवस्था नगरी एकैपटक ‘सी–चेक’का निम्ति पठाएको, सेवा अवरुद्ध पारेको, भवन मर्मत, पार्टपुर्जा खरिदमा गुणस्तरीयता नअपनाएको र निगमलाई क्षति पु¥याएको, भिसा सकिन लागेको प्राविधिक टोली पठाएर लापरबाही गरेको, सी–चेक नगरी थप उडान गरेको, चाडपर्वको मुखमा जहाज ग्राउन्डेड गरेको, नियमित उडान नगरी जरिवाना गराएको, ह्याकरबाट इमेल आउँदा कर्मचारीको बैंक खाता नहेरी दुई करोड रुपैयाँ पठाएको लगायत ११ बुँदामा सरकारले स्पष्टीकरण सोधेको थियो ।

अधिकारीले पठाएको २९ पृष्ठ लामो जवाफका विषयमा अध्ययन गरिरहेको मन्त्रालयले जनाएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal