Skip to content
Prabhu

पर्यटन प्रबर्द्धनमा सहयोगी बन्दै बन्दीपुर केबलकार, चहलपहल बढ्यो

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि चहलपहल बढेको छ । गत जेठ ३१ गतेदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएपछि केबलकार चढ्न चहलपहल बढेको हो ।

बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बन्दीपुर र समग्र तनहुँ जिल्लाकै पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यसहित केबलकार सञ्चालनमा ल्याइएको बताए।

‘यहाँ पहिलो चरणमा केबलकार, जीपलाइन र साइक्लिङि सञ्चालनमा आएको छ । सबै सेवा प्रयोगमा हाल ६० प्रतिशत छुट दिइएको छ’, उनले भने, ‘करिब तीन महिनामा आन्तरिक पर्यटकको चहलपहलले उत्साहित बनाएको छ ।’

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा केबलकार बन्दीपुरको पर्यटन प्रबर्द्धनमा कोशेढुङ्गा हुने बताए। ‘देश तथा विदेशमा परिचित बन्दीपुरमा नयाँ–नयाँ पर्यटकीय पूर्वाधार थपिनु राम्रो हो । यसले पक्कै पनि यहाँका पर्यटकीय सम्भावनालाई आर्थिक गतिविधिसँग जोडेर लाभ लिन सघाउ पुग्ने छ’, उनले भने ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार पोखरेलले अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टियुभी सर्टिफिकेट) प्राप्त गरी केबलकार सञ्चालनमा ल्याइएको र अब यसको प्रचारप्रसारको काम भइरहेको सुनाए ।

केबलकारबाट यहाँको प्रसिद्ध खड्गदेवी मन्दिरको दर्शनसमेत गर्न सकिन्छ । यसअघि वर्षको नवरात्रको नौ दिन मात्र खुला हुने मन्दिर अब हरेक दिन दर्शन गर्न सकिने व्यवस्था मिलाइएकाले पनि धार्मिक पर्यटकलाई थप सहज भएको छ ।

प्रति घण्टा पाँच सय यात्री बोक्न सक्ने क्षमता रहेको केबलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म चल्ने, साँझ ५ बजेदेखि राति ११ बजेसम्म छ वटा रेष्ट्रो क्याबिन रेस्टुरेण्ट एवं आराम कक्ष सञ्चालन गर्ने योजनासमेत कम्पनीको छ ।

यहाँ जङ्गली म्युजियम, चिल्ड्रेन जोन, ३३ कोटी देवीदेवताका मूर्तिसहितको आकर्षक पार्क सञ्चालनमा आइसकेको छ । यहाँ कूल रु. छ सय २९ करोडमध्ये हालसम्म रु. चार सय ३३ करोडको काम सम्पन्न भइसकेको अध्यक्ष शर्माले जानकारी दिए ।

समग्र बन्दीपुरहिल गुरुयोजना अनुसारका संरचना आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । यस्तै निर्माणाधीन १७ तले कुइन टावर नामक पाँचतारे होटल आगामी पाँच महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाइएको छ ।

यस्तै, दुई वर्षभित्र स्काइ वाक, ८५ मिटर लामो क्यान्टी लिभर ग्लास वाक थ्रु, संसारकै अग्लो दावी गरिएको दुई सय ९३ मिटर अग्लो बन्जी जम्प, सेभेन आकारको २८ सय मिटर लामो जिपलाइन, बन्दीपुरदेखि सिद्ध गुफासम्मको चियर लिफ्ट केबलकारलगायत संरचनाको काम पनि हुने हुने कम्पनीले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal