Skip to content
Prabhu

मनकामना केबलकार अब डिजिटल डी–कनेक्ट प्रणालीमा, असोज १ देखि सञ्चालनमा आउने

काठमाडौं । देशकै पहिलो यात्रुबाहक केबलकार सेवा अत्याधुनिक डिजिटलडी–कनेक्ट प्रविधिमा स्तरोन्नति भएको छ। मनकामना दर्शन प्रालिले चितवनको चेरेसदेखि गोरखाको सुप्रसिद्ध तीर्थस्थल मनकामनामाईको मन्दिरसम्म सञ्चालन गरिरहेको मनकामना केबलकारको दुई महिना लगाएर स्तरोन्नति गरेको हो।

अस्ट्रियाको विश्वविख्यात केबलकार निर्माता कम्पनी डोपलमेयरका इन्जिनियर तथा प्राविधिकको प्रत्यक्ष सहभागिता र सुपरिवेक्षणमा मनकामना केबलकारको स्तरोन्नति सम्पन्न भएको हो।

गत असार ३१ गतेदेखि केबलकारको सेवा रोकेर डिजिटल स्तरोन्नति र मुख्य लठ्ठा फेर्ने काम सम्पन्न गरिएको मनकामना दर्शनले जनाएको छ। करिब ५० करोड रुपैयाँ लगानीमा स्तरोन्नति सकिएसँगै मनकामना केबलकार असोज १ गते मंगलबारदेखि पुनः सुचारु हुनेछ।

मनकामना केबलकार नेपालकै पहिलो यात्रुबाहक केबलकार सेवा हो। प्रतिष्ठित उद्यमी लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना र लगानीमा निर्माण सम्पन्न भएको मनकामना केबलकार २०५५ मंसिर ८ गते सञ्चालनमा आएको थियो।

मनकामना केबलकार सेवाको सफलताले स्वदेशी उद्यमी–व्यवसायीलाई केबलकार सेवामा लगानी गर्न प्रोत्साहित गर्दा अहिले देशका दर्जनौँ स्थानमा केबलकार सेवा सञ्चालनमा आइसकेका छन्। मनकामना दर्शन पर्यटन विधामा सबैभन्दा बढी कर तिर्ने करदाताका रुपमा नेपाल सरकारबाट पटक–पटक सम्मानित भएको छ।

मनकामनाले सेवा सुरु गरेको २६ वर्षपछि केबलकारको मुख्य लठ्ठा फेर्ने र डिजिटलडी–कनेक्ट प्रणालीमा स्तरोन्नति गर्ने काम सम्पन्न गरेको हो। हालसम्म मनकामना केबलकार एनालग अपरेटिङ सिस्टमबाट चलिरहेको थियो।

कम्पनीले आफ्नो सेवालाई समय र प्रविधिमा आएको परिवर्तनअनुरुप स्तरोन्नति गरेको हो। यो क्रम आगामी दिनमा पनि जारी राख्ने मनकामना दर्शनका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले बताए।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal