Skip to content

कैलालीमा स्याउ बेच्न व्यस्त कालिकोटकी हंशिला

कैलाली । कालिकोटकी हंशिला बम हिजोआज स्याउ बेच्न व्यस्त हुन्छिन् । माइतीघर जुम्ला भएकी हंशिला त्यहाँका स्याउ यहाँ बेच्छिन् । तेह्र वर्षदेखि यामअनुसार फलफूलको व्यापार गर्दै आएकी उनलाई व्यापार सुरु गरेपछि पछाडि फर्केर हेर्नुपरेको छैन । त्यही व्यापारबाट उनले कैलालीमा घर र जग्गा जोडीकिछिन् भने घरको सबै खर्च धान्ने माध्यम पनि फलफूल व्यापार नै बनेको छ ।

‘श्रीमान् गुमाएपछिको अभाव र समाजभित्रको असहज परिस्थितिको मैले बुझेकी छु । छोराछोरीको पढाइलेखाइका लागि मैले केही गर्नुपर्ने थियो’, उनी भन्छिन्, ‘मैले जुम्लाका उत्पादन लिएर व्यापार सुरु गरेँ । व्यापारले मेरा आवश्यकता पूरा गर्यो ।’ यो वर्ष उनले जुम्लाबाट पाँच ट्रक स्याउ कैलाली ल्याएको बताईन् । मागका आधारमा देशका अन्य जिल्लामा उनले स्याउलगायत जुम्लाका उत्पादन आपूर्ति गरिरहेकी छिन् ।

जुम्लामा उत्पादित स्याउ प्रतिकेजी ७० रुपैयाँमा खरिद गरेर तराई पुर्याएपछि प्रतिकेजी १०० सयदेखि १२० मा बिक्री गर्ने गरेको उनी बताउँछिन् । ‘एक ट्रक स्याउ ल्याउन १ लाखभन्दा बढी खर्च हुन्छ’, हंशिला भनिन्, ‘जुम्लाका किसानले स्याउको मूल्य पाएका छैनन् । ढुवानी खर्च अधिक छ ।’ उनले स्याउसँगै हिउँदयाममा सिमी, मकै, आलुलगायत उत्पादन पनि बेच्ने गरेकीछिन् । उनका भाइ र बहिनीले हंशिलालाई साथ दिएका छन् । हंशिला मात्र होइन कयौँले स्याउको व्यापारबाट मनग्ये आम्दानी गरेका छन् ।

कर्णाली प्रदेशका विभिन्न जिल्लामा उत्पादन भएका स्याउ कालिकोटका रामु न्यौपानेले पनि तराई ल्याउने गरेकाछन् । चार महिनादेखि स्याउको व्यापारमा लागेका उनी हरेक साता जुम्ला पुग्नेगरेको बताउँछन् । ‘चार महिनादेखि घर गएको छैन, स्याउ ढुवानी दैनिकी बनेको छ’, उनी भन्छन्, ‘मसँग आफ्नै गाडी छ । आफैँ गाडी चलाउँछु । जुम्ली उत्पादन खरिद गर्न त्यता गइरहन्छु ।’ उनले सडक सञ्जाल नभएका कारण वगैचामा नै स्याउ कुहिने गरेको गुनासो समेत गरे ।

कालिकोटको पलाता गाउँपालिकामा अझै सवारीसाधन पुगेको छैन । त्यहाँ रामुले दुई हजार भन्दा बढी स्याउका बोट रोपेकाछन् । ‘मेरो गाउँमा मात्र सयौँ क्विन्टल स्याउ उत्पादन भएको छ । बजार पु¥याउन यातायातको सुविधा छैन । भरियालाई बोकाउँदा बजारमा प्रतिस्पर्धा गर्न सकिँदैन’, उनी भन्छन्, ‘कर्णालीमा सुन भएर के गर्ने त्यसको महत्व राज्यले अझै बुझेको छैन ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima