Skip to content
Prabhu

हेटौंडा आन्तरिक राजस्व कार्यालयबाट २ अर्ब ९३ करोड राजस्व संकलन

 

बागमती ।   हेटौंडास्थित आन्तरिक राजस्व कार्यालयले विगत ६ महिनामा लक्ष्यभन्दा  कम राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ४ अर्ब १४ करोड  ३० लाख ९५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा २ अर्ब ९३ करोड ११ लाख ७६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको  जनाइएको छ । 

उक्त कार्यालयले चालु आर्थिक वर्षमा ८ अर्ब ८० करोड ४५ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयबाट प्राप्त विवरणअनुसार विगत छ महिनामा आयकरतर्फ  ४८ करोड ८६ लाख ६७ हजार, घरभाडा करतर्फ ७८ लाख ९२ हजार,  ब्याज करतर्फ ४ करोड ५ लाख ८१ हजार रुपैयाँ, आन्तरिक करतर्फ ४९ करोड ९० लाख ६८ हजार, अन्तःशुल्क करतर्फ १ अर्ब ६१ करोड ४८ लाख २७ हजार  तथा स्वास्थ्यसेवा करतर्फ २८ करोड एक लाख ४१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जनाएको छ ।

 

विगत ६ महिनामा ३२ हजार एक सय ८६ करदातामध्ये १२ हजार सात सय २१ करदाताले  आयकर तिरेका थिए भने १९ हजार चार सय ६५ जनाले तिर्न बाँकी रहेको छ । आयकर नतिर्नेमा ठूला करदाता नै दुई हजार सात सय पाँचजना रहेका बताइएको छ । 

 

बागमती प्रदेशको राजधानी हेटौंडा भए पनि ठूला उद्योग तथा व्यापार÷व्यवसाय बन्द भएको र सञ्चालनमा रहेका उद्योग तथा व्यवसायको अवस्था नाजुक भएकाले राजस्व सङ्कलनमा समस्या भएको सो कार्यालयका कर्मचारीले जनाएका छन् ।

 

प्रमुख करअधिकृत तुलसीप्रसाद भट्टराई बढी कर आउने उद्योग केही समयदेखि बन्द रहेका कारण राजस्व सङ्कलन लक्ष्यको तुलनामा कम भएको बताए ।  कार्यालयले आर्थिक वर्ष २०७९/८० मा  ७ अर्ब  ५० करोड ३९ लाख ४२ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ६ अर्ब ६० करोड ८८ लाख २२ हजार रुपैयाँ सङ्कलन गरेको थियो । गत आर्थिक वर्ष पनि लक्ष्यको तुलनामा कम राजस्व सङ्कलन भएको थियो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal