काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारको सार्वजनिक ऋणको भार बढ्दै गएकाले पूर्वाधार विकासका लागि स्रोत जोहो गर्नु सरकारलाई निकै चुनौतिीपूर्ण हुँदै गएको बताएका छन् । बिहीबार काठमाडौंमा सुरु भएको नेपाल पूर्वाधार सम्मेलन २०२४ मा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
सीमित स्रोत साधान र पूर्वाधार विकासको आकांक्षाबीचको सन्तुलन कायम गर्नका लागि आन्तरिक स्रोतबाट मात्रै सम्भव नरहेको अर्थमन्त्री पौडलको भनाइ छ । पछिल्लो समय आन्तरिक राजस्व परिचालन दबामा रहेको भन्दै अर्थमन्त्री पौडेलले यसका लागि निजी क्षेत्र तथा दातृ निकायको सहयोग आवश्यक हुने बताएका हुन् ।
त्यस्तै उनले सरकार समृद्धि नेपाल खुसी नेपालीको लक्ष्यलाई पुरा गर्नका लागि कटिबद्ध रहेको समेत बताए । उनले २१ औँ सताब्दि सुहाँदो आर्थिक वृद्धि गर्नका लागि सरकार लागिरहेको उनको भनाइ थियो । पूर्वाधार विकासको लक्ष्य पुरा गर्नका लागि सरकारले मात्रै नसक्ने उनले बताए । यसमा निजी क्षेत्र र अन्तर्राष्ट्रिय पक्षको सहयोग लिने उनको भनाइ छ । आर्थिक विकासका लागि गर्नु पर्ने काममा सरकार सधै लागिरहेको उनले बताए ।
उत्पादन र उत्पादकत्व बढाएर रोजगारी सिर्जना गर्नका लागि दिगो विकासको आवश्यकता रहेको अर्थमन्त्री पौडेलको भनाइ छ । दिगो विकासका लागि सबै तहका सरकार बीच समन्वय आवश्यक रहेको उनले बताए । यसका लागि विकासका काममा समन्वय गरेर सामनजस्य कायम गर्न सरकार प्रतिबद्ध रहेको उनको दाबी थियो ।
प्रतिक्रिया दिनुहोस्