काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा राजधानीमा सुरु भएको दुईदिने पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पूर्वाधार विकासलाई तीव्रता दिन सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय समुदायको सहकार्य आवश्यक रहेको बताएका छन् । उनले सहकार्यका लागि आवश्यक नीतिगत तथा अन्य सुधार गर्न सरकार तयार रहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले विगतमा पूर्वाधार विकास नेपालको मुख्य प्राथमिकताको विषय रहेको औंल्याउँदै पूर्वाधार विकासलाई उपयुक्त प्राथमिकता दिन नसक्दा अहिले जनताका आकांक्षा र आवश्यकतामा धक्का लागिरहेको छ भने ।
‘सडक, पुल, यातायात जस्ता क्षेत्र लामो समयसम्म प्राथमिकतामा नपर्दा अहिले समस्यामा परेको छ,’ उनले भने, ‘तर वर्तमान सरकार पूर्वाधार विकासलाई आर्थिक समृद्धिको लाइफ लाइन हो भन्ने बुझेर लागिपरेको छ ।’
उपयुक्त पूर्वाधारले समाजमा सबै नेपालीले रोजगारीमा अवसर पाउने उल्लेख गर्दै उनले यातायात प्रणालीको सुधार, विकासका लगात न्यूनीकरण, भरपर्दो विद्युत् उपलब्धता जस्ता कुराबाट सरकारले समृद्धिको सपना पूरा गर्न चाहेको उल्लेख गरे। नेपालका लागि आवश्यक पूर्वाधारमा लगानी गर्न राज्यसँग पर्याप्त स्रोत नरहेको उल्लेख गर्दै उनले निजी क्षेत्रसँग सहकार्य गरेर राम्रा सडक, प्रसारणलाइन र सहरी तथा यातायात पूर्वाधार निर्माण गर्न चाहेको धारणा राखे।
प्रधानमन्त्री ओलीले संघीयता कार्यान्वयनसँगै तीन तहका सरकारको सहकार्यले पनि समृद्धिको यात्रालाई बलियो बनाउँदै लगेको धारणा राखेका थिए। नेपालको समृद्धि यात्रामा पछिल्लो समय कारोना महामारी र विश्वव्यापी आर्थिक शिथिलताले केही प्रभाव पारेको भए पनि त्यसलाई सामना गरेर आर्थिक प्रगतिको पथमा मुलुक लम्किइरहेको औंल्याए ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उद्घाटन सत्रलाई सम्बोधन गर्दै देशको सडक, विद्युत् तथा सूचना प्रविधि तथा डिजिटल पूर्वाधारलाई क्षेत्रीयस्तरमा आबद्ध गराउँदै लैजाने सरकारको नीति रहेको बताए । चीन र भारत जोड्ने लिंकरोड एसियन हाइवे, मध्यपहाडी लोकमार्गलगायतका पूर्वाधारले चीन भारत मात्र होइन, युरोपसँग जोड्न सक्ने उनले बताए।
निजगढ विमानस्थल निर्माण मुख्य प्राथमिकतामा रहेको उनले बताए । नेपालको विकास प्रणाली अत्यन्तै पुरातन रहेको र त्यसलाई रूपान्तरण गर्न जरुरी रहेको उनको भनाइ थियो । ‘जता मन्त्री उतै विकास भन्ने भाष्य तोड्न जरुरी रहेको चर्चा गर्दै उनले हाम्रा सोच र तौरतरिका ५० वर्ष पुराना रहेका तर, आगामी १०० वर्ष हेरेर पूर्वाधार बनाउनुपर्ने आवश्यकता छ भने ।
एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष तथा ग्लोबल ग्रिन ग्रोथका प्रमुख सल्लाहकार विन्दु लोहनीले दक्षिण एसियाली पूर्वाधार विकासमा चुनौती र अवसर दुवै रहेको भन्दै अवसरलाई उपयुक्त स्रोत परिचालनमार्फत उपलब्धिमा रूपान्तरण गर्नुपर्ने सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस्