Skip to content
Prabhu

पत्रकारितालाई व्यावसायिक र समृद्ध बनाउन सरकार प्रतिबद्ध छः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

 नेपाल टेलिभिजनको ३९औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रसारणका रुपमा विकास गरिने बताए। 

‘विगतमा सरकारी स्वामित्वका सञ्चार माध्यमलाई एकोहोरो सरकारको प्रचारकका रुपमा मात्र बुझिन्थ्यो भने अब यसखालको कार्यशैलीमा परिवर्तन गर्न खोजिरहेका छौं’, उनले भने । उनले सरकारी सञ्चारमाध्यम सरकारी सूचना सन्देश प्रकाशन÷प्रसारण गर्ने एकोहोरो प्रचारक मात्र नभर्इ राज्यका सूचना, सन्देश र कार्य जनताको बीचमा लैजाने र जनताको आवाज र अपेक्षा राज्यसम्म पुर्याउने दोहोरो माध्यमका रुपमा रहेका बताउनुभयो । 

आमसञ्चार क्षेत्रको पुनःसरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानुनी व्यवस्थाबारे सुझाव दिन आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन गरिएको र सो समितिको प्रतिवेदनलाई मुख्य आधार बनाइ नेपाल मिडिया काउन्सिल विधेयक र आम सञ्चार विधेयक तयार पारिएको उनको भनाइ थियो । उनले आमसञ्चार नीति, २०७३ र संघीय संरचना तथा अभ्यासबाट विकसित परिवेशअनुसार प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउने गरी आमसञ्चारको क्षेत्रमा नीति र कानुन निर्माणमा जोड दिइएको बताए। 

मन्त्री शर्माले पत्रकारिता क्षेत्रले जनताको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्ने र हाल समाजमा देखापर्न खोजिरहेका उशृङ्खल र अराजक प्रवृत्तिलाई निरुत्साहित गर्ने खालका सामग्री उत्पादन तथा प्रसारण÷प्रकाशनमा जोड दिन आवश्यक रहेको बताए । 

नेपाल टेलिभिजनको समय सापेक्ष विकास, विस्तार एवं रुपान्तरणमा सरकार सदैव तत्पर रहेको जानकारी दिँदै उनले चार दशक लामो गौरवपूर्ण इतिहास बोकेको नेपाल टेलिभिजन आगामी दिनमा अझ सुदृढ र लोकप्रिय प्रसारण माध्यमका रुपमा स्थापित हुन सकोस् भनी कामना गरे । 

सूचना प्रविधिको विकास र आम दर्शकको बदलिँदो शैलीलाई ध्यान दिएर हातहातमै टेलिभिजन हेर्ने व्यवस्था नगरे टेलिभिजनको पहुँच विस्तार गर्न कठिन रहेको उल्लेख गर्दै मन्त्री शर्माले चुस्त र स्वच्छ व्यवस्थापनबाट सञ्चालन लागतलाई प्रभावकारी बनाई सेवा प्रवाहमा गुणस्तरीयता ल्याउन आग्रह गरे । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले गलत सूचनाबाट समुदायमा पर्नसक्ने नकारात्मक असर कम गर्न टेलिभिजनले भूमिका खेल्नुपर्ने बताए। जनमानसलाई सुसूचित गर्दै जिम्मेवार पत्रकारिता गर्नु नेपाल टेलिभिजनको जिम्मेवारी भएको उल्लखे गर्दै उनले संविधानले अङ्गीकार गरेको समावेशीतालाई साकार पार्न टेलिभिजन क्रियाशील हुनुपर्नेमा जोड दिए । कार्यक्रममा लामो समयसम्म अविछिन्न सेवा गर्ने कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal