Skip to content

अन्नपूर्ण पदयात्रामा गएका विदेशी पर्यटक तीन सातादेखि बेपत्ता

nabil
global ime

कास्की । अन्नपूर्ण क्षेत्रको पदयात्राका क्रममा गत भदौ ९ गतेदेखि सम्पर्कविहीन भएका एक विदेशी पर्यटकको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–९, तिखेढुंगाबाट हराएका स्पेनिस पर्यटक ३२ वर्षीया मोलास जुन्का मेसीको अवस्था अझै पत्ता लाग्न नसकेको हो । उनीसँगै सम्पर्कविहीन भएका ३७ वर्षीय इरिकको शव दुई दिनपछि स्थानीय भुरुङदी खोलामा फेला परे पनि मोलासको अवस्था अझैसम्म यकिन हुन नसकेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) विरेठाँटी चेकपोष्टका इन्चार्ज यामबहादुर गुरुङले बताए ।

घटनापछि सशस्त्र प्रहरीको गोताखोरको टोलीले विरेठाँटीदेखि घटनास्थल मौजाखोलासम्मको पाँच किमी क्षेत्रमा खोजी गरेको थियो । “पर्यटक हराएको दिनदेखि नै हामीले नदी किनार तथा अन्य आशंका गरिएको स्थानमा खोजी जारी राखेका छौँ तर केही जानकारी हुन सकेको छैन,” गुरुङले भने ।

एक्यापको विरेठाँटी चेकपोष्टमा घोरेपानी जाने भनेर पर्यटकले विवरण दर्ता गरेकाले पर्यटक हराएको जानकारी त्यस क्षेत्रका होटेलव्यवसायी, स्थानीय पालिका, जनप्रतिनिधि, प्रहरी तथा स्थानीयवासीलाई जानकारी गराइए पनि फेला नपरेको गुरुङले बताए ।

बाटोमा बेवारिसे अवस्थामा दुई वटा झोला फेला परेपछि पर्यटक हराएको पुष्टि भएको थियो । पदयात्रा मार्गमा पर्ने भुरुङदी खोला नजिकको झरनामा तस्बिर लिने क्रममा पर्यटक चिप्लियर खोलामा खसेको अनुमानसहित खोजी गरिएकामा झरना नजिक आल्मुनियमका दुई वटा स्टिक (लौरी) भेटिएको थियो ।

पदयात्रामा जाँदा पथप्रदर्शक (गाइड) नलिइकन जाँदा पर्यटक हराउने गरेको पर्यटन व्यवसायीको भनाइ छ । ट्रेकिङ एजेन्ट्स एशोसिएशन नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्यले गाइडबिना गएका पर्यटक पदयात्रामा हराउने, दुर्घटनामा पर्ने तथा दुःख पाउने गरेको बताए ।

‘नेपाली सहयोगी वा गाइडबिना विदेशी पर्यटक पदयात्रामा जान नपाउने नियम छ । तर सो नियमको पालना नहुँदा समस्या पर्ने गरेको छ,’ आचार्यले भने । पदयात्रामा हराएका स्पेनिस पर्यटकले नेपाली सहयोगी लगेका थिएनन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima