Skip to content
Prabhu

पर्यटकलाई आकर्षित गर्दै आँबुखैरेनीको ऐनापहरा

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरा झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । पृथ्वीराजमार्गसँगै रहेको ऐनापहरा झरनासहितको उद्यानले आन्तरिक पर्यटकको ध्यान खिचेको छ ।

झरनामा रमाउँदै गर्मी छल्न आउने पर्यटकको घुइँचो लागेको स्थानीय पवन नेपालीले बताए । पछिल्लो समय यो ठाउँ पृथ्वीराजमार्ग भएर यात्रा गर्ने यात्रीको समेत गन्तव्यस्थल बनेको उनले बताए । नेपालीले भने, ‘गर्मी मौसममा यात्रा गर्नेलाई विश्रामस्थलका रूपमा यो ठाउँ विकास भइरहेको छ । अन्य दिनको तुलनामा बिदामा घुइँचो हुन्छ ।’

राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीयस्थलका रूपमा विकास भएपछि यस ठाउँलाई थप सुन्दर र आकर्षक बनाउन उद्यान निर्माण गरिएको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ऐनापहरालाई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यस्थल बनाउने अभियानमा लागिपरेको बताए । चुमानका अनुसार गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृति खोपेपछि यस ठाउँमा घुम्न आउनेको सङ्ख्या बढेको छ । यहाँ दैनिक तीन सयभन्दा बढी पर्यटकले भ्रमण गर्ने गरेको अध्यक्ष चुमान बताउँछन् ।

उनलृे भने, ‘यसै रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडि बढाइएको हो।’ झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छभने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ ।

पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यसहित ऐनापहरामा उद्यान निर्माणको कामलाई अगाडि बढाइएको अध्यक्ष चुमानले बताए । ऐनापहरामा उद्यान निर्माणका लागि गत आर्थिक वर्षमा १ करोड ४० लाख बजेट विनियोजन गरिएको थियो ।

गाउँपालिकाले यस ठाउँमा स्काइ साइक्लिकिङ, सिसाको पुल बनाउने योजना अगाडि सारेको छ । सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, टिकटक बनाउन सर्वसाधारणको भीड लाग्छ ।

तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढीखोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ । यस ठाउँलाई व्यवस्थित गर्न डिपिआरअनुसार रु. १० करोड बजेट आवश्यक पर्छ । डीपीआरअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायत संरचना निर्माण गर्ने उल्लेख छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal