Skip to content
Prabhu

हिमाल आरोहणको पर्खाइमा ५२ देशका आरोही

काठमाडौं । यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि ५२ देशका आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार मनासलु, पुथा हिउँचुली, अन्नपूर्ण चौथो, ठकर गो इस्ट, धौलागिरि पहिलो, फुङ्गी र कुम्भकर्ण हिमाल आरोहणका लागि ५२ देशका ३ सय २९ जनाले अनुमति लिएका हुन् ।

उनले भने, ‘शरद ऋतुमा विभिन्न हिमाल आरोहणका लागि विभागबाट हालसम्म ३२ समूहका २ सय ४६ जना पुरुष र ३२ जना महिलाले अनुमति लिएका छन् । अनुमति लिनेमध्ये मनासलु मात्रै २५ समूहका २ सय ९० जनाले अनुमति लिएका छन् ।’

उनका अनुसार पुथा हिउँचुली आरोहण गर्न सात जना, अन्नपूर्ण चौथोमा पाँच जना, ठकर गो इस्टमा चार जना, धौलागिरि पहिलोमा १४ जना, फुङ्गीमा पाँच जना र कुम्भकर्ण हिमाल आरोहण गर्न दुई जना आरोहीले अनुमति लिएका हुन् । आरोहण अनुमतिबापत विभागले तीन करोड ७४ लाख ४३ हजार ९ सय ५​ रुपैयाँ हिमाली दस्तुर संकलन भएको उनले बताए।

हालसम्म आरोहण अनुमति लिनेमा सबैभन्दा बढी चीनबाट ५७, अमेरिकाबाट ३५, रसियाबाट ३०, बेलायतबाट २३, जापानबाट २३, चेक रिपब्लिकबाट १४, जर्मनीबाट १२ र काजाकिस्तानबाट १० जना आरोही रहेका छन् ।

मनासलु आरोहणका लागि गत वर्षको शरद ऋतुमा ३०१ जनाले अनुमति लिएका थिए । मनासलुमा गत वर्ष भदौ ३१ गते पहिलो आरोहण भएको थियो । किलर माउन्टेनको उपमा पाएको मनासलु आरोहणलाई सगरमाथा आरोहण गर्न जानुअघिका रूपमा लिइन्छ । शरद ऋतुलाई मनासलु आरोहणका लागि उपयुक्त मानिन्छ ।

मनासलु आरोहणका लागि बाटो बनाउने काम (रोप फिक्सिङ) को जिम्मेवारी पाएको सेभेन समिट ट्रेक कम्पनीले तेस्रो आधार शिविरसम्म बाटो बनाइसकेको विभागले जनाएको छ । यसैबीच सरकारले दसैँअघि नै आरोहणयोग्य नयाँ ५७ वटा हिमाल खुला गर्ने तयारी गरेको छ ।

हाल नेपालमा ४०१ हिमाल आरोहणका लागि खुला रहेका छन् । तीमध्ये २७ वटा हिमालको आरोहण अनुमति नेपाल पर्वतारोहण सङ्घले दिँदै आएको छ भने बाँकी हिमालको आरोहण अनुमति विभागले दिँदै आएको छ । विभागले वर्षमा मार्च, अप्रिल, मेमा पर्ने वसन्त र सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पर्ने शरद ऋतुमा हिमाल आरोहण खुलाउने गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal