Skip to content
Prabhu

गणतन्त्रपछि पढ्नका मात्रै बाहिरियो ४ खर्ब रुपैयाँ

काठमाडौँ । ‘शिक्षामा लगानी बालुवामा पानी’, नेपालको शिक्षा क्षेत्रमा यो उखान निकै प्रचलित छ । अर्थात् शिक्षामा गरिएको लगानीले प्रतिफल दिएन् । सरकारले वर्षेनी शिक्षा क्षेत्रमा गर्ने लगानी बढाइरहने तर सोअनुरुपको प्रतिफल भने देखिएको पाइँदैन ।

त्यसो त सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्दै जानुपर्छ भन्दै राजनीतिक दलहरुले पटक–पटक प्रतिबद्धता जनाए पनि सो अनुसारको दलको प्राथमिकतामा भने यो पर्न सकेको छैन । त्यसैले त प्लस टुपछि अधिकांशको रोजाइ विदेश हुने गरेको छ । 

तथ्यांकअनुसार नेपाली बजारमा प्रत्येक वर्ष औसतमा ५ लाख जनशक्ति तयार हुन्छन् । अर्थात् सो संख्यामा रोजगारीका लागि ह्युमन रिसोर्स तयार हुन्छ । तर उनीहरुका लागि दिने जागिर र अवसरको कमी छ । त्यसैले विद्यार्थीहरु सुरक्षित भविष्यको खोजीमा विभिन्न मुलुकमा विद्यार्थीका रुपमा जान बाध्य हुन्छन् । 

शिक्षा मन्त्रालयका अनुसार २०७२ सालमा गणतन्त्र स्थापनाभएयता करिब पाँच लाख व्यक्तिले अध्ययनका लागि विदेश जान भन्दै नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)लिएका छन् । एनओसी लिने सबै विदेश जान्छन् भन्ने हुँदैन । किनभने एनओसी विदेशी कलेज वा विश्वविद्यालयमा पैसा पठाउनका लागि लिइन्छ । तर सबैको भिसा नलाग्ने वा अन्य कारणले जान नपाउने हुनाले सबै जान्छन् भन्ने हुँदैन । तर त्यसमध्ये ६० प्रतिशत मात्रै विदेश गए भन्ने मान्ने हो भने तीन लाख विद्यार्थीले विद्यार्थी भिसामा विदेश गएको अनुमान गर्न सकिन्छ । 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार सोही अवधिमा अध्ययनका नाममा ४ खर्ब रुपैयाँभन्दा बढी विदेश गएको छ । आर्थिक वर्ष २०७२/७३ देखि चालु आवको मंसिरसम्म ४ खर्ब ५ अर्ब ८१ करोड ७० लाख रुपैयाँ विदेशका विभिन्न कलेज वा विश्वविद्यालयमा गएको देखिन्छ । उक्त रकमलाई नेपालको चालु आर्थिक वर्षको वार्षिक बजेटसँग तुलना गर्ने हो भने करिब २३ प्रतिशत हुन आउँछ । 

जसमध्ये सबैभन्दा बढी गत आवमा १ खर्ब ४२ करोड रुपैयाँ अध्ययनका नाममा विदेशिएको छ भने आव २०७८/७९ मा ६७ अर्ब ७० करोड, आव २०७७/७८ मा २४ अर्ब ८१ करोड बाहिरिएको थियो । साथै चालु आवको पाँच महिनामा मात्रै ४७ अर्ब ३५ करोड रुपैयाँ अध्ययनका नाममा बाहिरिसकेको छ ।

नेपाली विद्यार्थीहरु विशेष गरी अष्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरिका र जापानलगायतका मुलुकमा अध्ययनका लागि जाने गरेका छन् । यी देशहरुमा गुणस्तरीय शिक्षासँगै सुरक्षित करिअरका दृष्टिले पनि उपयुक्त हुने सोचमा विद्यार्थीहरुको रोजाइमा पर्ने गरेको पाइन्छ ।

त्यसो त सूचना प्रविधि र मेडिकल शिक्षाका लागि नेपालमा पर्याप्त अवसर नहुँदा विदेश जानुपर्ने बाध्यता छ भने अर्कोतर्फ नेपाली विश्वविद्यालयको खस्कँदो गुणस्तरका कारण पनि विद्यार्थीहरु ऋण काँडेरै भए पनि विदेश जाने खोजेको पाइन्छ । विदेशमा जाने वित्तिकै पार्टटाइम काम गर्न पाइने र पढ्दै कमाउँदै गर्न पाइने भएको पनि विद्यार्थीमा सकेसम्म विदेशी भूमिमै करिअर बनाऔँ भन्ने चाहना भएको पाइन्छ ।  

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal