काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा गत आर्थिक वर्षको सोही अवधिमा भन्दा साढे ७ प्रतिशतभन्दा बढीले नाफा बढाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरुले साउन महिनामा ७.६४ प्रतिशतल नाफा बढाएका हुन् ।
चालु आर्थिक वर्षको साउन महिनामा २० वटा वाणिज्य बैंकहरुले ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । जबकी गत आर्थिक वर्षको सोही अवधिमा भने बैंकहरुको यस्तो नाफा ८ अर्ब ५२ करोड ५० लाख रुपैयाँ रहेको थियो ।
साउन महिनामा सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंकमा ग्लोबल आइएमई बैंक रहेको छ । यो बैंकले चालु आवको पहिलो महिनामा ८९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा १०.०७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको साउन महिनामा यो बैंकले ९९ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
त्यस्तै धेरै नाफा कमाउने बैंकको दोस्रो नम्बरमा नविल बैंक रहेको छ । यो बैंकले ८० करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.३३ प्रतिशतले धेरै हो । गत आवको साउन महिनामा यो बैंकको नाफा ७५ करोड ५५ लाख रुपैयाँ रहेको थियो ।
साउन महिनामा कृषि विकास बैंकले ७१ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आवको सोही अवधिको भन्दा ११४.७३ प्रतिशतले धेरै हो । नाफा वृद्धि गर्नेमा यो बैंक सबैभन्दा अग्रस्थानमा रहेको छ । त्यस्तै नेपाल एसबिआई बैंकले पनि यो अवधिमा १०७.६२ प्रतिशतले नाफा बढाएको छ ।
चालु आवको साउन महिनामा हिमालयन बैैंकको नाफा ५८ करोड बढी रहेको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको नाफा ५७ करोड, प्रभु बैंकको ५३ करोड, प्राइम बैंकको ५० करोड र कुमारी बैंकको ५० करोड बढीको नाफा आर्जन गरेका छन् ।
त्यस्तै साउन महिनामा लक्ष्मी सनराइज बैंकको नाफा ४३ करोड, एनएमबी बैंकको ४२ करोड, एभरेष्ट बैंकको ४२ करोड, सानिमा बैंकको ३८ करोड, राष्ट्रिय वाणिज्य बैंकको ३६ करोड र सिद्धार्थ बैंकले ३४ करोडभन्दा बढी नाफा कमाएको छ ।
त्यस्तै साउन महिनामा सिटिजन्स बैंकको नाफा ३४ करोड, नेपाल एसबिआई बैंकको नाफा ३३ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३१ करोड, एनआईसी एशियाको २६ करोड, नेपाल बैंकको २२ करोड र माछापुच्छ्रे बैंकको २० करोड नाफा आर्जन गरेको छ ।
चालु आवको साउन महिनामा गत साउनको तुलनामा प्रभु बैंकको नाफा ७९.४३ प्रतिशत बढेको छ । त्यस्तै प्राइम कर्मसियल बैंकको १९.०१ प्रतिशतले लक्ष्मी सनराइज बैंकको ४.३० प्रतिशतले, एनएमबि बैंकको ११.५० प्रतिशतले, एभरेष्ट बैंकको १५.०३ प्रतिशतले बढेको छ । त्यस्तै सानिमा बैंकको ५१.८८ प्रतिशतले, सिद्धार्थ बैंकको १६.४५ प्रतिशत, सिटिजन्स बैंकको ३८.२२ प्रतिशत, स्टान्र्डड चार्टड बैंकको २०.८२ प्रतिशतले र माच्छोपुच्छ्रे बैंकको ७.३३ प्रतिशतले बढेर बढेको छ ।
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा हिमालयन बैंकको नाफा ६.८४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको २२.७८, कुमारीको १२.७५ र राष्ट्रिय वाणिज्य बैंकको १९.१२ प्रतिशतले नाफा घटेको छ । साउन महिनामा नाफ घट्ने अर्को बैंकको एनआईसी एशिया । यो बैंकको नाफा ३०.७५ प्रतिशतले घटेको छ । त्यस्तै नेपाल बैंकको नाफा पनि ३७.८५ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्