Skip to content
Prabhu

गुल्मीका किसानको खसीबोका बिक्रीबाट मात्र वार्षिक २ अर्ब ५५ करोड आम्दानी

 

गुल्मी । गुल्मीमा यतिबेला बाख्रापालन व्यवसाय गर्ने किसान धेरै छन् । अन्य व्यवसायको तुलनामा बाख्राबाट छोटो समयमै प्रशस्त आम्दानी लिन पाइने र भनेको बेलामा सजिलैसँग बिक्री गर्न सकिने भएका कारण किसानको रुचि बाख्रापालनमा बढेको हो । 

यस जिल्लाका किसान खसी, बोका बिक्रीबाट वार्षिक २ अर्ब ५५ करोडभन्दा बढी आम्दानी गर्ने गर्छन् । यहाँको खसी, बोका बाहिरी जिल्लामा समेत निर्यात हुँदै आएको छ । जिल्लाका प्रत्येक पालिकाहरुबाट वार्षिकरुपमा ४६ हजार खसी, बोका जिल्लाबाहिर निर्यात हुँदै आएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र गुल्मीका पशु विकास अधिकृत हुमाकान्त पाण्डेयले जानकारी दिए । उनका अनुसार जिल्लाबाहिर निर्यात भएका खसी, बोकाबाट वार्षिक ९८ करोड रुपैयाँ जिल्ला भित्रने गरेको बताइएको छ । 

जिल्लाको रुरुक्षेत्र, सत्यवती, मदाने र धुर्कोट गाउँपालिकामा सबैभन्दा बढी बाख्रापालन गरिँदै आएको छ । यस क्षेत्रमा उत्पादन भएका पाँच हजार जति बोका बीउका लागि बाहिर निर्यात हुँदै आएको छ । जिल्लामा वार्षिकरुपमा एक लाख २० हजार खसी, बोका बिक्री हुँदै आएको कार्यालयले जनाएको छ । उक्त खसी, बोकाबाट जिल्लामा वार्षिक १ हजार १ सय ६३ मेट्रिकटन मासु उत्पादन हुने गर्दछ । 

जिल्लामा जमुनापारि क्रस र बोयर क्रस जातका बाख्राहरु उत्पादन गरिँदै आएको छ । गत आर्थिक वर्षमा कार्यालयमा दर्ता भएका चार सय १६ बाख्रा फार्मबाट  दुई लाख पाँच हजार सात सय ७७ बाख्रा उत्पादन भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र गुल्मीले बाख्रापालनका लागि किसान र तिनका समूहलाई खोर निर्माण, बीउ, औषधि उपचार, खोप, मेसेनरी सामग्री खरिदलगायत क्षेत्रमा अनुदान उपलब्ध गराउँदै आएकोे पशु सेवाविज्ञ केन्द्र प्रमुख पाण्डेयले बताए । 

जिल्लामा किसानले बाख्रापालनबाट राम्रो आम्दानी गर्दै आए पनि पछिल्लो समयमा भने व्यावसायिक किसानको सङ्ख्या भने घट्दै जान थालेको छ । युवा जनशक्ति बाहिर पलायन हुँदै जाने, अनुदान पाउने आशमा मात्र व्यवसाय सञ्चालन गर्ने, घाँसको अभाव हुने र काम गर्ने जनशक्ति पर्याप्त नभेटिने समस्याका कारण किसानले सोचेजस्तो प्रतिफल पाउन नसकेको बताइएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal