Skip to content

२ महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

nabil
global ime

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु. ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष सुरु हुँदा रु. २४ खर्ब ३४ अर्ब नौ करोड रहेको सार्वजनिक ऋण भदौ मसान्तसम्म बढेर रु. २५ खर्ब २८ अर्ब ६२ करोड बराबर पुगेको छ । हालसम्मको कूल सार्वजनिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४ दशमलव ३२ प्रतिशत बराबर हो ।

चालु आर्थिक वर्ष सुरु हुँदा आन्तरिक ऋण रु. ११ खर्ब ८० अर्ब ९० करोड बराबर रहेकामा भदौ मसान्तसम्ममा बढेर रु. १२ खर्ब ३५ अर्ब ९० करोड पुगेको छ । जीडीपीका आधारमा आन्तरिक ऋणको अनुपात २१ दशमलव ६६ प्रतिशत बराबर हो । यो दुई महिनामा सरकारले रु. ९० अर्ब आन्तरिक ऋण उठाउँदा रु. ३५ अर्ब बराबर ऋण तिरेको छ ।

त्यस्तै, भदौ मसान्तसम्म तिर्न बाँकी बाह्य ऋण रु. १२ खर्ब ९२ अर्ब ७१ करोड छ । चालु आवको सुरुआतमा बाह्य ऋण रु १२ खर्ब ५३ अर्ब १९ करोड बराबर थियो । पछिल्लो दुई महिनामा सरकारले बाह्य ऋणको साँवा र ब्याज भुक्तानीमा रु. १४ अर्ब ५ करोड खर्च गरेको छ भने यही अवधिमा रु. चार अर्ब ६७ करोड बराबर बाह्य ऋण थपेको छ । जिडिपीको तुलनामा बाह्य ऋण २२ दशमलव ६६ प्रतिशत बराबर हो ।

चालु आर्थिक वर्षका लागि सरकारले रु. पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण उठाउने लक्ष्य लिएकामा भदौ मसान्तसम्ममा रु. एक खर्ब चार अर्ब पाँच करोड ऋण उठाइसकेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव प्रकाश पुडासैनीले जानकारी दिए। वार्षिक लक्ष्यको तुलनामा यो अवधिको सार्वजनिक ऋण प्राप्ति १८ दशमलव ६६ प्रतिशत बराबर हो ।

चालु आर्थिक वर्षका लागि सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी गर्ने प्रयोजनका लागि कुल रु चार खर्ब दुई अर्ब बजेट छुट्याएको छ । भदौ मसान्तसम्ममा रु. ४७ अर्ब ७१ करोड ५१ लाख बराबर साँवा ब्याज भुक्तानी भइसकेको छ । यो अवधिको साँवा ब्याज भुक्तानी वार्षिक बजेट विनियोजनका आधारमा ११ दशमलव ८४ प्रतिशत बराबर हो । जिडिपीको आधारमा भदौ मसान्तसम्मको कुल ऋण सेवा खर्च शून्य दशमलव ८४ प्रतिशत बराबर हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T