Skip to content
Prabhu

जलजलाका किसानलाई सुन्तला ढुवानी गर्न कठिनाइ

 

पर्वत । गाउँसम्म पुग्ने सडकको अवस्था गतिलो नहुँदा पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानलाई सुन्तला ढुवानी गर्न कठिनाइ भएको छ । यहाँ एउटै गाउँमा लाखौँ रुपैँयाको सुन्तला उत्पादन भए पनि बजारमा पुर्याउन सकिएको छैन । 

बाँसखर्क जोड्ने वारीबेनी–बगर–बाँसखर्क सडक स्तरोन्नति हुन नसक्दा गाउँसम्म सवारीसाधन पुग्न समस्या भएको छ । ठूला सवारी साधन सुन्तला बगानसम्म पुग्न नसक्दा व्यवसायीलाई सुन्तला ढुवानी गर्न समस्या भएको स्थानीय जगतबहादुर खत्रीले जानकारी दिए । 

उनले भने, ‘जिपमा थोरै सुन्तला टिपेर बेनी–मालढुङ्गा सडकसम्म झार्ने र ठूलो ट्रकमा राखेर लैजानुपर्ने बाध्यता छ । यसले ढुवानी लागत र समय बढी लाग्ने गरेको छ ।’ 

अहिले बाँसखर्कसम्म पुग्न वारीबेनी र मिलनचोकबाट कच्ची सडकको सुविधा छ । तर जीर्ण सडकका कारण ठुला ट्रक र टिपर गाउँसम्म पुग्न सक्दैनन् । जीप मुस्किलले गाउँसम्म पुग्ने  कृषक खत्रीले गुनासो गरे । 

ठूला ट्रक तथा कन्टेनरबाट एकैपटक ढुवानी गर्न पाए सहज हुने सुन्तला खरिद गर्न बगानमा आएका कालीमाटीका एक व्यवसायीले भने । दश किलोमिटरको दूरी पार गर्न झण्डै डेढ घण्टा लाग्ने गरेको उनले बताए ।  

जलजला गाउँपालिका–२ वारीबेनीदेखि वडा नं १ बाँसखर्क जोड्ने सडक कालोपत्र गर्नका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) स्वीकृत भइसकेको छ । तर, बजेट विनियोजन नहुँदा स्तरोन्नति हुन सकेको छैन । १०  किलोमिटर लामो उक्त सडकमा २२ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 

बर्सेनि सुन्तला ढुवानी गर्न समस्या हुने गरेको स्थानीयको गुनासो छ । सडक निर्माण भएमा यहाँ उत्पादन हुने सुन्तला बजार पठाउन तथा बाँसखर्कमा सञ्चालित होमस्टे प्रवर्द्धन गर्न सकिने छ । पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले चालु आवमा बाँसखर्क जोड्ने कुनै पनि सडकका लागि बजेट विनियोजन नभएको बताए । मिलनचोक–माझफाँट–बाँसखर्क सडकका लागि १ करोड विनियोजन भए पनि त्यसले जम्मा एक किलोमिटर मात्र कालोपत्र गर्न सकिने उनले बताए । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal