Skip to content
Prabhu

सगरमाथा राष्ट्रिय निकुञ्जको राजस्व १०.५४ प्रतिशतले वृद्धि

सोलुखुम्बु  । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको राजस्व संकलनमा १० प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा निकुञ्जको राजस्व १० दशमलव ५४ प्रतिशतले वृद्धि भएको हो । 

निकुञ्जको तथ्याङ्कअनुसार गत आवको साउनदेखि पुस मसान्तसम्ममा ६ करोड २३ लाख २८ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । चालु आवको सोही अवधिमा ६ करोड ९६ लाख ७८ हजार रुपैयाँ संकलन भएको निकुञ्जका सूचना अधिकारी मनोजकुमार मण्डलले जानकारी दिए । उनका अनुसार सङ्ख्यात्मक हिसाबले चालु वर्ष ७३ लाख ५० हजार रुपैयाँले बढी राजस्व संकलन भएको हो । 

चालु आवको साउनमा ६ लाख ५६ हजार, भदौमा ३३ लाख ९५ हजार, असोजमा २ करोड १० लाख  ५४ हजार रुपैयाँ, कात्तिकमा ३ करोड १२ लाख २७ हजार रुपैयाँ, मङ्सिरमा १ करोड एक लाख ४३ हजार र पुसमा ३२ लाख एक हजार रुपैयाँ, राजस्व उठेको सूचना अधिकारी मण्डलले जानकारी दिए । 

निकुञ्जका संरक्षण अधिकृतसमेत रहेका मण्डलका अनुसार सबैभन्दा बढी पर्यापर्यटन शीर्षकबाट ६ करोड ६६ लाख ७० हजार रुपैयाँ, वन पैदावर बिक्री वितरण शीर्षकबाट  ४० लाख ८३ हजार रुपैयाँ, दण्ड सजायबाट  २५ लाख रुपैयाँ संकलन भएको छ । निकुञ्जको प्रमुख राजस्व संकलनको स्रोत नै पर्यापर्यटन रहेको उनको भनाइ थियो ।

चालु आवमा २८ हजार तीन सय ९० जना पर्यटकले सगरमाथा क्षेत्र भ्रमण गरेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जले प्रतिव्यक्ति नेपालीबाट प्रवेश शुल्कबापत रू एक सय, सार्क राष्ट्रका पर्यटकबाट  एक हजार पाँच सय र अन्य विदेशी पर्यटकबाट तीन हजार रुपैयाँ राजस्व लिने गरेको छ । एक पटक हेलिकप्टर अवतरण गरेबापत तीन हजार  रुपैयाँ अवतरण शुल्क लिने गरिएको छ ।

निकुञ्जको कार्यालयले पर्यटक प्रवेश शुल्कसँगै भरिया प्रवेश शुल्क, साहसिक पर्यटन शुल्क (प्याराग्लाइडिङ, म्याराथन, माउन्टेन फ्लाइट) लगायत शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको संरक्षण अधिकृत मण्डलले बताए । ‘निकुञ्जको मुख्य आम्दानीको स्रोत भनेकै पर्यटक शुल्क हो’, उनले भने, ‘विश्वको सर्वोच्च शिखर सगरमाथासहितका दर्जनौँ हिमाल यही निकुञ्जमा पर्ने भएकाले विश्वका धेरै मुलुकका पर्यटक भ्रमणका लागि आउँछन्, त्यही भएर सिजनमा हामीलाई भ्याइनभ्याइ नै हुन्छ । अहिले ‘अफसिजन’मा केही भए पनि फुर्सद हुन्छ । यो मौसममा पर्यटक कम आउँछन् ।’ 

सगरमाथा क्षेत्र विशेष गरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनको लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जको कार्यालयले जनाएको छ । विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । पू्र्वी नेपालको  सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरासमेत छन् । 

यस निकुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु रोकायले जानकारी दिए । उनका अनुसार सन् १९७९ देखि यस निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । यो निकुञ्ज एक हजार आठ सय मिटरदेखि आठ हजार आठ सय ४८ मिटरसम्मको उचाइमा रहेको छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन् । 

निकुञ्ज क्षेत्रभित्र बसोबास गर्ने मानिसको सङ्ख्या तीन हजारभन्दा बढी रहेको संरक्षण अधिकृत मण्डलको भनाइ थियो । जसमा मुख्य गरी शेर्पा जातिको मानिसको बसोबास रहेको छ । यहाँको मुख्य बसोबास क्षेत्र नाम्चे बजार, खुम्जुङ, थामे, थेङ्बोचे, स्याङ्बोचे हुन् । 

निकुञ्ज भ्रमण गर्नेको सङ्यामा वृद्धि

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । गत आव २०७९÷८० को पहिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा एक हजार चार सय ४१ ले वृद्धि भएको निकुञ्ज कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार गत आवको साउनदेखि पुस मसान्तसम्ममा २६ हजार ९ सय ४९ जना पर्यटकले भ्रमण गरेका थिए भने चालु आवको सोही अवधिमा २८ हजार तीन सय ९० ले निकुञ्ज भ्रमण गरेका छन् ।

‘नेपाली पर्यटक अलिक कम आउँछन् । यहाँ घुम्न आउने अधिकांश पर्यटक विदेशी नै हुन्छन्, कुनै हिमाल चड्ने हुन्छन्, भने कुनै घुम्न मात्रै पनि आउने हुन्छन् । त्यसैले सिजनमा निकुञ्जको डिउटी गर्न छुट्टै आनन्द हुन्छ, पर्यटकसँग रमाउँदै काम गर्दाको मज्जा बेग्लै हुन्छ’, सूचना अधिकारी मण्डलले भने । उनका अनुसार यस क्षेत्रमा वर्षको छ महिना पर्यटकीय सिजन हुने र छ महिना अफसिजन हुने गर्दछ । 

फागुन १५ गतेदेखि जेठ १५ सम्म र असोज, कात्तिक, मङ्सिर महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ । सिजनमा दैनिक नौ सय जनासम्म पर्यटक प्रवेश हुने गरेकामा अहिले मुस्किलले पाँच÷सात जना हुने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal