Skip to content
Prabhu

नेपाली उद्यमी मास्केको ‘फ्युजमेसिन्स’ नास्डाकमा सूचीकृत हुँदै, सीएसएलएमसँग सहकार्य

एजेन्सी । आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा काम गरिरहेको फ्युजमेसिन्स कम्पनीको इक्विटी मूल्यांकन दुई सय मिलियन डलर हुने गरी सीएसएलएम एक्विजिसन कर्पोरेशनसँग व्यवसायिक सहकार्यका लागि एक सम्झौता भएको छ । यी दुवै कम्पनीबीचको सहकार्य एआईसम्बन्धी प्रडक्ट उत्पादन र यससँग सम्बन्धित समाधानका लागि हुनेछ ।


यो सम्झौता दुवै कम्पनीको सञ्चालक समितिले सर्वसम्मतीले स्वीकृत गरिसकेको छ भने यसलाई मूर्तरुप दिनका लागि दुवै कम्पनीका शेयरधनीले सो निर्णलाई अनुमोदन गर्नुपर्नेछ । साथै नियामकीय प्रक्रिया पूरा गरेपछि यसले सम्झौताले पूर्णता पाउनेछ । 

यदी यो सम्झौता स्वीकृत भए कम्पनी ‘फ्युज’ नामबाट अमेरिकी स्टक एक्सचेञ्ज नेस्डेकमा सूचीकृत हुनेछ । नेस्डेकमा सूचना प्रविधिसम्बन्धी सूचीकृत हुन्छन् । र, यो व्यवसायिक सहकार्य सन् २०२४ को दोस्रो क्वार्टरसम्म सम्पन्न हुने अपेक्षा गरिएको छ । 

फ्युजमेसिन्स कम्पनी सन् २०१३ मा नेपाली उद्यमी  समीर मास्केले सुरुवात गरेका हुन् । यो कम्पनी पछिल्लो एक दशकयता एआई क्षेत्रमा काम गरिरहेको छ । मास्के अमेरिकास्थित कोलम्बिया विश्वविद्यालयमा सहप्राध्यापक हुन् । उनी आईबीएम वाट्सन रिसर्च सेन्टरमा काम गर्दादेखि नै एआईको अनुसन्धानमा काम गर्दै आएका छन् । 

मास्केको कम्पनी फ्युजमेसिन्स उद्यम क्षेत्रमा एआईसम्बन्धी विभिन्न सफ्टवेयरमार्फत समस्या समाधानका लागि काम गर्दै आएको छ । मास्केले सामाजिक सञ्जाल एक्समा आफू बायोमा एआईएजुकेशन, एआई ट्यालेन्ट र डेमोक्रेटाइजएआई उल्लेख गरेका छन् । उनको कम्पनी फ्युजमेसिन्सले नेपालका केही विद्यालयमा शिक्षासम्बन्धी एआई सफ्टवेयर प्रयोग गराएको देखिन्छ ।

मास्केले फ्युजमेसिन्स कम्पनी नेस्डेकमा सूचीकृत हुनु कोसेढुंगा भएको भन्दै खुसीयाली व्यक्त गरेका छन् । उनले सीएसएलएम एक्विजिसन कर्पोरलसँगको सहकार्यमा नेस्डेकमा आफ्नो कम्पनी सूचीकृत हुन लागेको बताएका छन् । “डेस्डेकमा सूचीकृत हुनु हाम्रो कम्पनीका लागि कोसेढुंगा जस्तै हो र नेपाली मूलको कम्पनीका  लागि यो एतिहासिक पनि हो”, कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मास्केले भने, “सीएसएलएम एक्विजिसन कर्पोरेशनसागको हाम्रो व्यापार साझेदारीले रणनीतिकरुपमा भविष्यमा एआईको विकासका लागि निकै ठूलो सहयोग हुनेछ । साथै उद्यम क्षेत्रका लागि दीगो प्रभाव पार्नेछ । थप पुँजी र वित्तीय लगानीले एआई प्रडक्टको विकास र विस्तारमा ठूलो सहयोग पुग्नेछ”, मास्केले भनेका छन् । 

सीएलएलएमका प्रमुख कार्यकारी अधिकृत र प्रमुख वित्तीय अधिकारी चाल्र्स कासेलले फ्युजमेसिन्ससँग सहकार्य गर्न पाउँदा आफूलाई निकै खुसी लागेको बताएका छन् । “हामी जहिले पनि विधिपूर्वक दीर्घकालीनरुपमा सहलगानीकर्ताका रुपमा अवसर खोजिरहेका थियौँ, फ्युजमेसिन्ससँग सहकार्य गर्न पाउँदा निकै खुसी  लागेको छ । नेपालका सञ्चालन भइरहेको यस कम्पनीले अमेरिकामा उपलब्ध विभिन्न अवसरहरुको लाभ लिन सक्नेछ ।”

यस सम्झौताअनुसार सीएसएलएममा संलग्नहरुले पाइप फाइनान्सिङ (प्राइभेट इन्भेष्टमेन्ट इन पब्लिक इक्विटी)मार्फत १९.४४ मिलियन डलर अर्थात साढे दुई अर्ब रुपैयाँभन्दा बढी लगानीको प्रतिबद्धता जनाएका छन् । यो रकम फ्युजमेसिन्सको चालु पुँजीको आवश्यकता पूरा गर्न सहयोगी हुने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमार्फत दुई कम्पनीको सहकार्यमा थप पाइप फाइनान्सिङ पनि स्वीकार गरिने जनाइएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal