Skip to content
Prabhu

गाडी र मोटरसाइकलको बिक्रेता बन्न कर्पोरेट हाउसबिच प्रतिस्पर्धा, ‘बिवाईडी’मा सबैको आँखा

काठमाडौं । ३५ वर्षको लामो साझेदारी ज्योति ग्रुपसँग अन्त्य गर्दै भारतीय हिरोमोटर कर्पले चौधरी ग्रुपको सिजी मोटरकर्पलाई बिक्रेता नियुक्त गर्र्यो । 
दुई वर्ष अगाडि देखि नै ज्योति समूहबाट हिरो मोटरसाइकलको डिलरसीप खोसिने भएपछि ज्योति ग्रुप अदालतमा गएको थियो । अदालतले ज्योति समूहको पक्षमा फैसला नगरेपछि हिरोले चौधरी ग्रुपलाई बिक्रेतामा नियुक्त गरेको हो । 
चौधरी ग्रुपले नेपालमा नै हिरोको मोटरसाइकल एसेम्बल गर्ने तयारी गरेको छ । 
यसरी डिलर सीप खोसिनेमा ज्योति ग्रुप एक्लो होइन । गतवर्षमात्र मोतिलाल दुगडको एमभी दुगड ग्रुपबाट रोयल इन्फिल्ड त्रिवेणी ग्रुपले लिएको थियो । दुगड ग्रुपबाट भेस्पा र अप्रिलियाको स्कुटरको आधिकारिक बिक्रेता भीमसरिया ग्रुपले लिएको थियो । 
दुगड ग्रुपले बेच्ने निशान गाडीको बिक्रेता पनि शारडा ग्रुपले लिएको थियो । 
एमजी गाडी कुनै बेला शिव घिमिरेको कम्पनीले बेच्ने गरेको थियो । शिव घिमिरेबाट एमजीको डिलर विशाल ग्रुप र मुरारका समूहको कम्पनीमा पुग्यो । 
माज्दा गाडीको बिक्रेता कुनैबेला रोहणी थपलिया थिए । व्यवसायमा समस्या परेपछि अहिले माज्दा गाडीको बिक्रेता बिशाल ग्रुप अन्तर्गतको कम्पनी रहेको छ । 
नेपालको व्यावसायिक घरानामा अरुको डिलर खोस्नेमा सबैभन्दा विशाल ग्रुप अगाडि छ । विशाल ग्रुप अहिले सबैभन्दा बढी गाडीको बिक्रेता हो । यद्यपी ग्रुपका सदस्यहरु पारिवारिक रुपमा अशंबण्डा भइसकेको हुनाले व्यवसाय फरक तरिकाले चलेको दाबी गर्छन् । 
अहिले मात्र हिरो कम्पनीको नेपालको लागि आधिकारिक बिक्रेता बनेको चौधरी ग्रुपको टिभिएस मोटरसाइकल डिलर शंकर ग्रुपले लिएको हो । 
कुनै समय गाडी मोटरसाइकलमा धेरैवटा ब्राण्डको डिलर रहेका मोतिलाल दुगडले आफ्नो पुस्तकमा व्यावसायिक घरानाबिच देखिएको अस्वस्थ प्रतिस्पर्धाले गर्दा डिलर सीप खोसिएको उल्लेख गरेका छन् । 
उनले पुस्तकमा लेखेका छन्,‘आफूले दुःख गरेर नेपाली बजारमा स्थापित गरेका ब्राण्डहरु उत्पादक कम्पनीको र नेपालका व्यावसायिक घरानाबीचको प्रतिस्पर्धाले टिकाउन सम्भव नहुने रहेछ।’
यसो त हालैमात्र डिलर खोसिएका ज्योति ग्रुपका अभिक ज्योति विश्वमा ठूला भनिएका ब्राण्डलाई आफ्नोमा टिकाउन अहिले मुस्किल पर्ने बताउँछन् । 
‘उत्पादक कम्पनीले बिक्रेताले बनाएको लिगेसी र लगानीलाई ख्याल नगर्ने परिपाटी देखियो,यस्तोमा सेल्सको मात्र प्रेसरले गर्दा ब्राण्ड टिकाउन नै मुस्किल हुन्छ।’
नेपालमा औद्योगिक उत्पादनभन्दा व्यापारमा बढी मुनाफा छ । यस्तो अवस्थामा व्यावसायिक घरानाबिच ब्राण्ड लिनको लागि प्रतिस्पर्धा नै चल्ने गर्छ । व्यावसायिक घरानबीच ब्राण्ड लिनको लागि उत्पादक कम्पनीसँग लबिङ गर्न छुट्टै युनिट नै सञ्चालन भएको छ । 
पछिल्लो समय नेपाली बजारमा राम्रोसँग व्यवसाय गरिरहेको चिनियाँ गाडी कम्पनी बिवाइडीको बिक्रेता बन्न व्यावसायिक घरानाबिच निकै प्रतिस्पर्धा छ । बिवाइडीको बिक्रेता अहिले साइमेक्स कम्पनीको यमुना श्रेष्ठ रहेकी छन् । यमुनाबाट बिवाइडी गाडीको बिक्रेता लिनको लागि नेपालका धेरै जसो व्यावसायिक घरानाले लबिङ गर्दै आएका छन् । 
यसो गाडी मात्र नभएर विश्वमा चर्चित मदिरा,टेलिभिजन तथा मोबाइलको बिक्रेता लिन समेत व्यावसायिक घरानबीच प्रतिस्पर्धा चल्ने गरेको छ । 
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal