काठमाडौं । बोटलर्स नेपालको कर विवादको विषय सर्वोच्च अदालतमा पुगेको छ । राजस्व न्यायाधिकरणले आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयले गरेको निर्णयलाई नै सदर गरेपछि बोटलर्स नेपाल सर्वोच्चको सरणमा पुगेको हो ।
कोकाकोला, स्प्राइट, फेन्टा जस्ता गैरअल्कोहल पेय पदार्थको उत्पादक बोटलर्सले आन्तरिक राजस्व विभाग र ठूला करतादा कार्यालयलाई विपक्षी बनाएर सर्वोच्चमा मुद्दा दायर गरेको हो । राजस्व न्यायाधिकरणबाट न्याय नपाएको भन्दै बहुराष्ट्रिय कम्पनी सर्वोच्च अदालतमा पुगेको छ ।
राजस्व अनुसन्धान विभागले २०७१ (सन् २०१४) मा स्वामित्व बिक्रीको विषयमा पुँजीगत लाभकर छलेको भन्दै ७ अर्ब ४० करोड दाबी गरेको थियो । यस्तै ठूला करदाता कार्यालयले पनि ५ अर्ब ४० करोड रुपैयाँ कर छली गरेको भन्दै २०७८ (सन् २०२२) मा अर्को दाबी गरेको छ ।
बोटलर्स नेपाल लिमिटेडको कर दायित्व १२ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । मूल्य अभिवृद्धि कर (भ्याट), आयकर पुँजीगत लाभ र अन्तःशुल्क गरेर १२ अर्ब ८० करोड पुगेको हो । जसमध्ये १ अर्ब ८० करोड रुपैयाँ भुक्तानी गरेको बोटलर्सले जनाएको छ ।
यो विषयमा ठूला करदाता कार्यालयले पनि उच्च अदालत पाटनमा मुद्धा दायर गरेको छ । राजस्व अनुसन्धान विभागले २०७८ फागुन २७ गते उच्च अदालत पाटनमा दायर गरेको मुद्धामा बोटलर्स नेपालको सेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार रुपैयाँ कर छली भएको दाबी गर्दै सोही रकमलाई बिगो कायम गरी मुद्दा दायर गरेको थियो । बिगो रकमको शतप्रतिशत जरिवाना गर्दा ७ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ असुल गर्न माग गरिएको थियो ।
विभागले एक वर्षभन्दा लामो अनुसन्धानबाट २०७१ मा बोटलर्स नेपालको सेयर खरिदबिक्री गर्दा भएको लाभमा कर नबुझाएको बताएको थियो । कर छलीको आशंकामा २०७७ मा मंसिर २३ विभागले बोटलर्स नेपालमा छापा मारेर कागजात कब्जा गरेको थियो ।
बोटलर्स नेपालमा अधिकांश सेयर स्वामित्व रहेको दुबईस्थित कम्पनी कोकाकोला साब्को एसियाको शतप्रतिशत सेयर २०७१ कात्तिक ७ मा आयरल्यान्डस्थित युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गर्दा राजस्व चुहावट भएको दाबी विभागको छ ।
त्यो समयमा कोकाकोला साब्को र यूरोपियन रिफ्रेसमेन्टबीच सेयर कारोबार हुँदाको समयमा बोटलर्स नेपालको प्रतिकित्ता सेयरको स्वतन्त्र बजार मूल्य ३ हजार ८ हजार ८३ हुने र सोमा कोकाकोला साब्कोको प्रतिकित्ता सेयर खरिद मूल्य ५ सय ३६ लाई लागतको रुपमा घटाउँदा हुन आउने रकम ३ हजार ३ सय ४७ प्रतिकित्ता पुँजीगत लाभ हुने दाबी विभागको छ । सोही लाभमा कम्पनीले पुँजीगत लाभकर नतिरेको जिकिर विभागको छ ।
बोटलर्स नेपालमा ७६ प्रतिशत सेयर स्वामित्व विदेशी लगानीकर्ताको छ । २२ प्रतिशत स्वामित्व गोरखा ब्रुअरी प्रालिको र २ प्रतिशत लगानी सर्वसाधारणको छ । गोरखा ब्रुअरीको सतप्रतिशत स्वामित्व डेनमार्कको काल्सवर्ग गु्रपले किनिसकेको छ ।
सन् १९७९ मा स्थापना भएको बोटलर्स नेपाल र यसको सहायक कम्पनी बोटलर्स नेपाल तराई लिमिटेड नेपालमा कोकाकोला कम्पनीको आधिकारिक संस्था हो । कम्पनीले कार्बोनेटेड गैरअल्कोहल पेय पदार्थ कोकाकोला, स्प्राइट, फेन्टा सहति किन्ले ब्राण्डको पानी उत्पादन तथा बिक्री वितरण गर्दै आएका छ ।
प्रतिक्रिया दिनुहोस्