Skip to content
Prabhu

इजरायलले लेबनानमाथि यसअघि कुन कुन समयमा गरेको थियो आक्रमण ?

nabil
एजेन्सी । इजरायलले लेबनानमा हिजबुल्लाहको केही स्थानमा आक्रमण गरेपछि अहिले त्यसविरुद्ध स्थलगत हमला सुरू गरेको छ । इजरायलले उसले गरेको यो अपरेशन एक सीमित दायरामा मात्रै हुने बताएको छ ।
तर इजरायलले गरेको यो आक्रमण भने पहिलो होइन । यसअघि पनि यस प्रकारका अभियानहरू चलेका छन् । यसपटकको इजरायली हमला अघिल्लाको तुलनामा कसरी फरक छ ?
१९७८ः पहिलो हमला
पहिलो पटक १९७८ मा इजरायली सैनिकहरूले दक्षिणी लेबनानमा हमला गरेका थिए । यसलाई ‘लितानी अपरेशन’ भनिएको थियो । वास्तवमा १९४८ मा इजरायलको स्थापनापछि लेबनान प्यालेस्टिनी शरणार्थीहरूको लागि प्रमुख निशाना बनेको थियो । यी शरणार्थीहरूमा पीएलओ जस्ता संगठनका सदस्यहरूसँगै अन्य प्यालेस्टिनी मिलिसिया पनि सामेल थिए ।
यी लडाकुहरूले लेबनानबाट इजरायलमा हमला गरेपछि दुबै देशबीच संघर्षको स्थिति उत्पन्न भएको थियो । इजरायलले १९७८ मा पहिलो पटक लेबनानमा आक्रमण गरेको थियो जब प्यालेस्टिनी मुक्ति संगठन (पीएलओ) का अर्धसैनिक दस्ताले उसमाथि हमला गरेका थिए ।
पीएलएका यस दस्ताले समुद्र तटमा उत्रेपछि एउटा बस कब्जा गरेको थियो । यस क्रममा भएको संघर्षमा ३८ इजरायली नागरिकको मृत्यु भएको थियो । इजरायलमा यसलाई समुद्र तटमा भएको नरसंहारको रूपमा चिनिन्छ । यसपछि इजरायली सेना दक्षिणी लेबनान पुग्यो। तर दुई महिनापछि नै फिर्ता आयो । फेरि उसले लेबनानसँग एउटा बफर जोन बनाएको थियो । इजरायलको सेना त्यहाँ सन् २००० सम्म उपस्थित रह्यो ।
इजरायलले पहिलो पटक लेबनानमा हमला गर्दा त्यहाँ २००० लडाकु र सर्वसाधारणको मृत्यु भएको थियो । जबकि इजरायलका केवल १८ सैनिकको मृत्यु भएको थियो ।
१९८२ः सबैभन्दा ठूलो हमला
लेबनानमा इजरायलको सबैभन्दा ठूलो अपरेशन १९८२ मा भएको थियो। यो लेबनानको गृहयुद्धको समय थियो । त्यस समयमा हजारौँ इजरायली सैनिकहरूले सयौँ ट्याङ्क र हतियारबन्द गाडीहरूका साथ सिमाना पार गरेका थिए ।
यस अपरेशनको मुख्य उद्देश्य पीएलओलाई पछाडि धकेल्नु थियो जो लेबनानबाट इजरायलमाथि निरन्तर हमला गरिरहेको थियो । त्यस समयमा इजरायलले लेबनानको बन्दरगाह सहर सिदोनलाई कब्जा गरेको थियो । इजरायलको उद्देश्य थियो पीएलओका ठिकानामा हमला गर्नु ताकि उसले फेरि हमला गर्न नसकोस् ।
इजरायली सेना पीएलओका धेरै चौकीहरू आक्रमण गरी ध्वस्त पार्नसफल भयो र एक हप्ताभित्रै लेबनानको राजधानी बेरूतमा पुग्यो । यस अपरेशनको क्रममा इजरायली सैनिकहरूलाई फलस्तीनी शरणार्थीहरूको नरसंहारको जिम्मेवार ठहराइएको थियो ।
यस हमलाको तीन महिनापछि इजरायली सेना फिर्ता भयो तर जानु अघि उसले लेबनानमै एउटा बफर जोन बनाएको थियो । अर्कोतर्फ लेबनानका २० हजार मानिसहरूको मृत्यु भयो । यीमध्ये अधिकांश सर्वसाधारण थिए । इजरायलका ६५४ सैनिकको मृत्यु भयो ।
१९९६ः नयाँ दुश्मन, नयाँ हमला
सन् १९८२ मा लेबनानमाथि इजरायलको हमला पीएलओलाई त्यहाँबाट हटाउन सफल भयो । यस हमलापछि नै पीएलओले आफ्नो मुख्यालय लेबनानबाट ट्युनिसिया सार्यो । यसपछि आक्रमक अर्धसैनिक संगठन हिजबुल्लाहको गठन भयो । यो पनि इजरायललाई आफ्नो दुश्मन ठान्छ र उसमाथि हमलाको हिमायत गर्छ ।
अप्रिल १९९६ मा इजरायलले पहिलो पटक हिजबुल्लाहविरुद्ध मोर्चा खोलेको थियो । त्यस समयमा हिजबुल्लाहले इजरायलमा रकेट आक्रमण गरेको थियो । यसविरुद्ध इजरायलको अपरेशन सीमित थियो र यो केवल दुई हप्तासम्म चलेको थियो ।
यस संघर्षमा पनि सबैभन्दा बढी क्षति सर्वसाधारणलाई भयो । लेबनानमा हिजबुल्लाहका १३ लडाकु मरे। त्यहाँ कम्तिमा २५० सर्वसाधारणको मृत्यु भयो । जबकि इजरायललाई कुनै क्षति भएन । यसपछि इजरायल र हिजबुल्लाह एक अर्काविरुद्ध नै रहेका छन् । दुवैबीच धेरै पटक तनाव भएको छ ।
हिजबुल्लाह चरमपन्थीहरूले उसमाथि रकेट आक्रमण गरेका छन् र इजरायली वायुसेनाले उनीहरूमाथि बमबारी गरेका छन्।
२००६ः ३४ दिनको युद्ध
२००६ को जुलाई महिनाको कुरा हो । सिमानाबाट इजरायली सहरहरूमा बमबारी गर्नाका साथै हिजबुल्लाहका लडाकुहरू अघि बढ्दै गए र उनले इजरायली सेनाका दुई गाडीमाथि आक्रमण गरे । जसमा आठ सैनिक मरे भने दुईलाई बन्धक बनाइयो । यसको जवाफमा इजरायलले लेबनानमा हिजबुल्लाहका धेरै ठिकानामा आक्रमण गर्यो ।
यी स्थानमा हवाई हमला गरिएको थियो र तोपका गोला हानेका थिए। इजरायली सेनाले वायुमार्ग र समुद्र मार्गको नाकाबन्दी गर्यो। साथै दक्षिणी लेबनानमा स्थलगत हमला पनि गर्यो ।
यो लडाइँ ३४ दिनमा समाप्त भयो । त्यसपछि युद्धविराम भयो ।
यस संघर्षमा लेबनानमा ११९१ मानिसको मृत्यु भयो। यीमध्ये अधिकांश सर्वसाधारण थिए । जबकि इजरायलका १२१ सैनिक र ४४ सर्वसाधारण मरेका थिए ।
सैन्य विज्ञहरूको के भनाइ छ
लेबनानमा इजरायलको हालको कारबाहीले फिलहाल दुबै देशबीच शक्ति सन्तुलन परिवर्तन गरेको छ । बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरेमी बोवेन भन्छन्, “अमेरिकी र इजरायली अधिकारीहरूका अनुसार पछिल्लो केही हप्तामा इजरायलले हिजबुल्लाहको नेतृत्वलाई लगभग समाप्त गरेको छ । उसका आधा हतियार नष्ट गरेको छ र लेबनानमा हमला गरेको छ ।”
सैन्य विश्लेषक योआव स्टर्नले बीबीसीलाई भने कि उनको विश्वास छ कि इजरायलको यसपटकको रणनीति पनि सन् २००६ को जस्तै छ । यसपटकको हमला पनि पहिलेको जस्तै सीमित हमला हो । यसपटक पनि यसले यस संघर्षको दिशा निर्धारण गर्नेछ । जबकि १९८२ मा इजरायलले ठूलो संख्यामा आफ्ना सैनिकहरू उतारेको थियो ।
स्टर्नले भने, “इजरायलको यसपटकको हमला सुस्त,  सावधानीपूर्वक र सोचविचार गरेर उठाइएको कदम हुनेछ । यसअन्तर्गत इजरायल दक्षिणी लेबनानमा एकपछि अर्को सहर कब्जा गर्दै जानेछ । इजरायलले लेबनानमा हिजबुल्लाहका प्रमुख ठिकानाहरूमा व्यापक हमलाको सट्टा सुस्त र सावधानीपूर्वक हमला गर्दै अघि बढ्न चाहन्छ ।”
उनले हिजबुल्लाह दक्षिणी लेबनानका सहरहरूमा लामो समयदेखि बसेको छ । त्यसैले लाग्दैन कि इजरायल यहाँ कब्जा गरेर यसलाई छिटै छोडेर जानेछ । यद्यपि हमासका ७ अक्टोबरका आक्रमणपछि लेबनानको अवस्था र गाजामा इजरायलको कारबाहीमा फरक छ । त्यस्तो देखिन्छ कि इजरायलको शक्ति हमासको प्रतिरोधलाई निरन्तर कमजोर पार्दै गएको छ ।
तर लेबनानमा यो समयको स्थिति इजरायलका लागि बढी चुनौतीपूर्ण साबित हुनसक्छ । चाहे इजरायलले हिजबुल्लाहको इन्फ्रास्ट्रक्चर र यसको नेतृत्वमा सफल हमला गरेको छ ।
अस्ट्रेलियन नेशनल युनिभर्सिटीमा मध्यपूर्व मामिलाका विशेषज्ञ अमीन सइकलले भने, “हिजबुल्लाह हमास होइन । उसलाई क्षति पुगेको छ तर अहिले पनि उसँग पर्याप्त हतियार छ र उसको रणनीतिक उपस्थिति पनि राम्रो छ ।”
उनी भन्छन्, “हिजबुल्लाह इजरायली कब्जाविरुद्ध निरन्तर प्रतिरोध जारी राख्ने क्षमता राख राख्छ । यसले इजरायललाई जनधनको धेरै क्षति पुर्याउन सक्छ ।”
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal