काठमाडौं । भाटभटेनीले काठमाडौं दरबारमार्गस्थित बन्द अवस्थामा रहेको पाँचतारे होटल डेल अन्नपूर्णमा अर्बौं लगानी गरेर नयाँ होटल निर्माण गर्न लागेको हो ।
अन्नपूर्णमा रहेको पुराना भवन भत्काएर नयाँ २५ तल्ला अग्लो पाँचतारे होटल बन्न लागेको हो। बन्न लागेको अन्नपूर्ण मुलुकको संभवत सबैभन्दा ठूलो पाँचतारे होटल हुने भएको छ।
होटलको व्यवस्थापन भारतीय प्रिमियम ब्राण्ड आइटिसीले हेर्ने भएको छ। नेपालमा आइटिसीको यो दोस्रो व्यवस्थापन हो। यसअघि भक्तपुरमा रहेको फर्चुन रिसोर्ट एन्ड वेलनेस स्पाको व्यवस्थापन पनि आइटिसीले लिएको छ।
भाटभटेनी समूह र लिटिल एन्जल्स समूह मिलेर नयाँ होटल निर्माण सुरु गरेका हुन्। यी दुई व्यावसायिक समूहले पाँच महिनाअघि होटल डेल अन्नपूर्ण खरिद गरेका हुन्। अन्नपूर्णको अहिलेको पुराना भवन भत्काएर नयाँ संरचना बनाइने भएको छ। नयाँ होटलमा ८ अर्ब रुपैयाँ लगानी हुने भएको छ।
नयाँ बन्ने होटलको प्रबर्द्धक अन्नपूर्ण स्क्वायर र आइटिसीबीच होटल सञ्चालनसम्बन्धी बिहीबार सम्झौता भएको छ। अन्नपूर्ण स्क्वायरले होटल आफै निर्माण, सञ्चालन र हस्तान्तर (बुट) मोडलमा हुने भएको छ।
गुरुङले होटलले स्तरीय सेवा दिएर पर्यटक आकर्षित गर्नेमा आफू विश्वस्त रहेको बताए। उनले त्यसका लागि इमान्दार भएर काम गर्न आवश्यक रहेको भन्दै आफैंले सुरु गरेको भाटभटेनी सुपरस्टोरको
उदाहरण सुनाए।
सो अवसरमा अन्नपूर्ण स्क्वायरका अध्यक्ष मीनबहादुर गुरुङले आगामी २०८५ वैशाख १ गतेबाट होटल सञ्चालनमा ल्याउने जानकारी दिए। उनले अन्तर्राष्ट्रिय बजारमा होटलको प्रबर्द्धन गर्न आइटिसीसँग व्यवस्थापन सम्झौता गरेको बताए। अब होटल अन्नपूर्णको नयाँ अध्याय सुरु भएको र लक्जरी आतिथ्यतामा नयाँ मानक कायम गर्ने उनले बताए।
अन्नपूर्ण स्क्वायरका नाममा सञ्चालनमा आउने होटलको निर्माण ६ महिनापछि सुरु गरिने भएको छ। पुरानो संरचना भत्काएर निर्माण गरिने भएकाले डिजाइनको काम भारतकै आर्किटेक्चर कम्पनीले गरिरहेको छ।
होटलमा ३ सय ३० कोठा हुनेछन्। ४० कोठा अपार्टमेन्ट हुनेछ। होटल परिसरमा ४०० स्क्वायर फिट क्षेत्रफलमा बिजनेस कम्प्लेक्स बन्नेछ। जसमा भाटभटेनीदेखि विभिन्न ब्राण्डेड सपिङ मल र फुडकोर्ट रहने भएको छ।
अफिस कम्प्लेक्सका लागि ४०० स्क्वायर फिट क्षेत्रफल छुट्टाएर होटलमा १ हजार, २ हजार र ३ हजार मानिस अटाउने क्षमताका तीनवटा बैक्वेट हल निर्माण गरिनेछ। २५ तल्लाको संरचनासहितको होटलको अन्तिम डिजाइन केही समयमा तयार हुने सो अवसरमा जानकारी दिइएको छ। होटल कुल ९ लाख स्क्वायर फिट क्षेत्रफलमा तयार हुनेछ। होटलमा क्यासिनो पनि सञ्चालन हुने भएको छ।
गुरुङले ग्राहक खोज्न धेरै टाढा जान नपर्ने र स्तरीय सेवा दिन सके ग्राहकको कमी नहुने बताए। मैले भाटभटेनी स्टोर सञ्चालनबाट जानेको सत्य यही हो’ गुरुङले भने, ‘मैले ४० वर्षको खुद्रा व्यापारबाट केही सिकेको छु। १२० स्क्वायर फुटको सानो स्टोर सञ्चालन गर्दा नजिकै केही पसल पनि थिए। कतिपय पसल बन्द भए। इमान्दार भएर ग्राहकलाई दिएको सेवाले भाटभटेनी देशव्यापी रुपमा फैलियो। हामी खुद्रा व्यापारबाट होटल व्यवसायमा आएका छौं।’
आइटिसी होटल्स भारतको लक्जरी होटलको प्रिमियम ब्राण्ड हो। आइटीसीअन्तर्गत भारत र भारत बाहिरका विभिन्न ९० मुलुकमा १ सय ४० वटा होटल सञ्चालनमा छन्। ति होटलमा १३ हजार कोठा रहेको आइटिसीले जनाएको छ। नेपालको चुरोट बजारमा एकछत्र राज गरेको सूर्य नेपालमा आइटिसीको ५९ प्रतिशत स्वामित्व रहेको छ।
प्रतिक्रिया दिनुहोस्