काठमाडौं । पछिल्लो समययता सुनको भाउले दिनानुदिन नयाँ रेकर्ड बनाइरहेको छ । सोही क्रममा यो साता पनि सुन र चाँदी दुवैको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार सुनको मूल्यले नयाँ उचाइ छोएको हो ।
विश्व बजारको प्रभावसँगै नेपाली बजारमा यो साता सुनको मूल्यले रेकर्ड कायम गर्यो । साताको पहिलो दिन सुन तोलाको १ लाख ६० हजार ६०० रुपैयाँ तोकिएको थियो । त्यसपछि, सुनको मूल्य सस्तिएर साताको दोस्रो दिन १ लाख ६० हजार ५०० रुपैयाँ र तेस्रो दिन १ लाख ६० हजार रूपैयाँमा झर्याे । यद्यपि, बुधबारदेखि भने सुनको मूल्य बढ्न सुरु भयो । त्यस दिन सुन प्रतितोला १ लाख ६० हजार ८०० रुपैयाँ तोकिएको थियो । बढ्ने क्रम जारी रहँदै बिहीबार १ लाख ६० हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो । सुनको कारोबार हुने साताको अन्तिम दिन शुक्रबार भने सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम ग¥यो।
शुक्रबार सुन तोलाकै १ लाख ६१ हजार ३०० रुपैयाँको उचाइमा पुग्यो । यो मूल्य साताको पहिलो दिन आइतबारको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार तोलामा ७०० रुपैयाँले बढी हो ।
चाँदीमा पनि रेकर्ड
यो साता नेपाली बजारमा चाँदीको मुल्यले पनि रेकर्ड कायम गेर्यो । आइतबार, प्रतितोला १ हजार ९४५ रुपैयाँ रहेको चाँदीको मूल्यलगातार दुई दिन घटेर मंगलबार तोलाको १ हजार ९ सय २५ रुपैयाँमा झरेको थियो । तर पुनः तीन दिन निरन्तर रुपमा चाँदीको मूल्य वृद्धि भयो । बुधबार चाँदी तोलामा १० रूपैयाँले, बिहीबार तोलामा १५ रुपैयाँले र शुक्रबार तोलामा ३० रुपैयाँले महंगिएको हो । शुक्रबार चाँदीको मूल्यले प्रतितोला १ हजार ९८० रुपैयाँ कायम भई उच्च रेकर्ड बनायो । यसरी यो साताको पहिलो दिनको तुलनामा साताको पछिल्लो कारोबार भएको दिन चाँदी तोलामा ३५ रूपैयाँले बढेको हो ।
किन बढिरहेको छ सुनको मूल्य ?
अन्तर्राष्ट्रिय बजारमा देखिएको द्वन्द्वको प्रभावसँगै हालै सार्वजनिक भएको अमेरिकी अर्थतन्त्रको प्रभावले सुनचाँदी जस्ता बहुमुल्य वस्तुको मूल्य बृद्धिमा टेवा पुगेको विश्लेषकहरुको भनाइ छ । शुक्रबार बिहान सार्वजनिक तथ्यांकअनुसार अमेरिकी अर्थतन्त्र मजवुत हुनुका साथै त्यहाँ रोजगारीको अवस्थामा समेत सुधार देखिएको छ । विश्व बजारमा शुक्रबार सुनको भाउ ६ डलर भन्दा बढीले बढेर २ हजार ६ सय ६२ डलर बराबरसम्म पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्