Skip to content
Prabhu

लेबनानमा हिजबुल्लाह कति शक्तिशाली छ ?

nabil
एजेन्सी । लेबनान पछिल्ला दुई हप्तादेखि इजरायलको निशानामा  छ । इजरायलले लगातार लेबनानभित्र आक्रमण गर्दै आएको छ । यी आक्रमणहरूमा एक हजारभन्दा बढी व्यक्तिहरूको मृत्यु भइसकेको छ ।
इजरायल सेनाले हवाई आक्रमणका साथै लेबनानमा स्थलगत आक्रमण पनि गरिरहेको छ । ताजा परिस्थितिको पछाडि मुख्य कारण इजरायल र हिजबुल्लाहबीचको संघर्ष हो ।
हिजबुल्लाहलाई इरानको समर्थन प्राप्त छ । यो लेबनानको एक शिया इस्लामी राजनीतिक र शक्तिशाली सैन्य संगठन हो । हिजबुल्लाह लेबनानको सेनाभन्दा बढी शक्तिशाली छ र उसलाई पनि समर्थन प्राप्त छ । साथै हिजबुल्लाहसँग शिया मुस्लिम देशहरूको पनि समर्थन छ ।
लेबनानमा शक्ति कसको छ?
लेबनानको सत्ता त्यहाँका विभिन्न धार्मिक समुदायबीच बाँडिएको छ । सन् १९४३ मा फ्रान्सबाट स्वतन्त्रता प्राप्त गरेपछि एउटा सन्धिलाई अनुमोदन गरियो । यसको परिणामस्वरूप लेबनानमा सबै धर्महरूको समावेशी सरकार बनाइयो । यस सन्धिअनुसार देशको राष्ट्रपति केवल एक इसाई व्यक्ति हुनेछ, प्रधानमन्त्रीको पद सुन्नी मुस्लिमलाई दिइनेछ । र, संसदको सभामुख एक शिया मुस्लिम हुनेछ ।
त्यतिबेला लेबनानको आधाभन्दा बढी जनसंख्या इसाईहरू थिए । अर्थात् सुन्नी र शिया मुस्लिमहरूभन्दा बढी । यद्यपि, धेरै व्यक्तिहरूले अहिले यो सन्धि पुरानो भइसकेको भन्छन् । किनभने अहिले देशमा इसाई, सुन्नी मुस्लिम र शिया मुस्लिम सबैको संख्या करिब ३०–३० प्रतिशत छ ।
सन्धिको समयमा इसाई र मुस्लिम जनसंख्यालाई संसदमा समान सिट प्रदान गरिएको थियो । अहिलेको अवस्था भने मुस्लिमहरूको कुल जनसंख्या इसाईहरू भन्दा बढी छ ।
लेबनानमा कुनै एक पार्टी वा धर्मलाई मान्नेहरूको सरकार बन्न सकेको छैन । यहाँ सरकारहरू गठबन्धनबाट बन्छन्। सबै ठूला निर्णय सर्वसम्मतिले गरिन्छ । यही कारणले गर्दा सत्तामा उथलपुथल पनि देखिन्छ।
लेबनानमा हिजबुल्लाहको स्थिति कस्तो छ?
हिजबुल्लाहको स्थापना सन् १९८२ मा इसराइलविरुद्ध एक शिया मुस्लिम संगठनको रूपमा भएको थियो । हिजबुल्लाहको अर्थ अरबीमा खुदाको पार्टी हो ।
त्यतिबेला लेबनानमा गृहयुद्ध चलिरहेको थियो । त्यतिबेला इसरायली सेनाले दक्षिणी लेबनान कब्जा गरेको थियो । हिजबुल्लाहलाई इरानले हतियार र धनस्रोतको सहयोग प्रदान गरिरहेको थियो ।
सन् १९८५ मा हिजबुल्लाहले आफ्नो औपचारिक स्थापना घोषणा ग¥यो । हिजबुल्लाहले लेबनानलाई इरानको जस्तै एक इस्लामी देश बनाउने चाहना व्यक्त गरेको थियो । उसले दक्षिणी लेबनान र फिलिस्तीनी इलाकाबाट इसरायली कब्जा हटाउने प्रतिज्ञा गरेको थियो ।
सन् २००९ मा हिजबुल्लाहले एउटा घोषणापत्र जारी गरेको थियो । जसमा लेबनानलाई मुस्लिम देश बनाउने कुरा उल्लेख गरिएको थिएन । यद्यपि, इसराइलबारे उसको दृष्टिकोण पहिलाको जस्तै थियो ।
सन् १९९० मा लेबनानको गृहयुद्ध समाप्त भएपछि अन्य सबै समूहहरूले आफ्ना सेनाहरू विघटन गरे। तर हिजबुल्लाह भने यथावत् रह्यो ।
सन् २००० मा इसराइलले दक्षिणी लेबनानबाट आफ्नो सेना फिर्ता बोलायो, र हिजबुल्लाहले यसलाई आफ्नो जीत ठानेको थियो । हिजबुल्लाहले सन् १९९२ देखि लेबनानको संसदमा आफ्ना उम्मेदवार पठाउन थालेको थियो । अहिले उसको संसदमा केही सांसद छन्, र सरकारमा पनि केही मन्त्री छन् ।
हिजबुल्लाहले शिया जनसंख्या भएको लेबनानका क्षेत्रहरूमा विद्यालय, स्वास्थ्य सेवा लगायतका सामाजिक सेवाहरू प्रदान गर्दछ ।
लेबनानमा हिजबुल्लाह कसरी शक्तिशाली बन्यो?
हिजबुल्लाहको सबैभन्दा ठूलो शक्ति उसको सेना हो । उनीहरू आफ्नो सेनामा एक लाख लडाकू रहेको दाबी गर्छन् । स्वतन्त्र रूपमा गरिएका अनुमानहरूमा भने यी लडाकूहरूको संख्या २० हजारदेखि ५० हजारको बीचमा छ ।
अमेरिकी थिंक ट्यांक सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडीजका अनुसार, हिजबुल्लाहसँग एक लाख २० हजारदेखि दुई लाखका बीच रकेट र मिसाइल छन् । यो संसारकै सबैभन्दा शक्तिशाली गैरसरकारी सेनाहरूमा गनिन्छ ।
लेबनानको सरकारको कमजोरीको फाइदा हिजबुल्लाहलाई मिलिरहेको छ । उदाहरणका लागि, यो देशमा सन् २०२२ देखि अहिलेसम्म कुनै राष्ट्रपति छैन । राजनीतिक दलहरू बीच कसलाई राष्ट्रपति बनाउने भन्ने सहमति नभएकै कारण यस्तो स्थिति आएको हो ।
केन्द्र सरकार यति बलियो छैन कि हिजबुल्लाहलाई उसको एजेन्डा अघि बढाउनबाट रोक्न सक्छ । लेबनानमा बढ्दो इसराइली आक्रमणहरूको बीचमा, ६ अक्टोबरमा प्रधानमन्त्री नाजिब मिकातिले युद्धविरामको लागि अन्य देशहरूबाट समर्थन जुटाउने प्रयास गर्ने कुरा गरेका छन् ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal