Skip to content
Prabhu

दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्य बढ्नुका कारणहरु के हुन् ?

nabil

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले लगातार तीन दिन नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य पछिल्लो ३ दिनको अवधिमा नेपाली बजारमा सुनको मूल्य ३ हजार ९स रुपैयाँले महँगो भएको हो ।

मंगलबार १ हजार ६० हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य आज (शुक्रबार) १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको छ । यो दिन दिनको अवधिमा नेपाली बजारमा सुनको मूल्यले लगातार रुपमा नयाँ कीर्तिमान कायम गरिरहेको छ । आज मात्रै पनि सुनको मूल्य अघिल्लो दिनको भन्दा २ हजार रुपैयाँले महंगो भएको हो । बिहीबार सुनको मूल्य तोलामा १ लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिन पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो ।

अन्तर्राष्ट्रिय कमोडिटी मार्केटमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । सुनको माग र आपूर्तिलाई भने धेरै विषयले असर पार्छ । केही मुख्य विषय ः अमेरिकासहित शक्तिशाली मुलुकहरुको ब्याजदर घटबढ, ती मुलुकको स्टक मार्केट घटबट, बिजनेस विस्तार तथा रोजगारी घटबढ, ती मुलुकको अर्थतन्त्र चलायमान र अन्तर्राष्ट्रिय द्वन्द्व हुन् ।

यतिबेला यिनै अधिकांश विषयका कारण सुनको मूल्य बढेको व्यवसायीहरु बताउँछन् । उनीहरुका अनुसार अहिले यी सबै अवस्थाले प्रभाव पारेको छ, जसले गर्दा मूल्यले नयाँ रेकर्ड बनाउँदै अघि बढीरहेको छ ।

अन्तर्राष्ट्रिय स्तरमा भएका विभिन्न घटनाक्रमले गर्दा नेपाली बजारमा सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले बताए । ‘सुनको मूल्य बढ्ने घट्ने कुरा हाम्रो कारणले भन्दा पनि बाहिरको कारणले हो । सुनको मूल्य निर्धारण पनि अन्तर्राष्ट्रिय रुपमा नै हुन्छ,’ उनले भने ।

विदेशमा भन्दा नेपाली बजारमा सुनको मूल्य २१ प्रतिशत महंगो हुने उनको भनाइ छ । सुनमा नेपाल सुरकारले २० प्रतिशत भन्सार लगाएको छ । त्यस्तै व्यवसायीको ०.५ प्रतिशत र बैंकको मार्जिन पनि ०.५ प्रतिशत नै रहन्छ ।

अहिले विदेशमा बैंकको ब्याजदर कम भएको कारण लगानीकर्ताहरु सुनमा आकर्षित भएकाले पनि सुनको मूल्यमा वृद्धि भएको अध्यक्ष रसाइलीको भनाइ छ । ‘अहिले युरोपका बैंकहरूले ब्याजदर घटाएका छन् । त्यस्तै अमेरिकामा पनि बैंकहरूले ब्याजदर घटाएर ५ प्रतिशत बनाएको अवस्था छ । जसले गर्दा लगानीकर्ताहरू सुनमा आकर्षित भएको अवस्था छ’, उनले भने । युरोपमा बैंकको ब्याजदर ३.५ प्रतिशत कायम भएको छ ।

अर्कोतर्फ अहिले इजरायल–प्यालेस्टिन युद्धका कारणले पनि सुनको मूल्यमा असर गरिरहेको छ । अर्कोतर्फ रुस र युक्रेनको युद्ध पनि कायमै रहेको अवस्था छ ।

सुनको मूल्य कतिसम्म पुग्ला भन्नेमा कसैले अनुमान गर्न सक्दैन । तर, मूल्य बढ्न सक्ने आधार र घट्न सक्ने आधारलाई केलाउन भने सक्ने अवस्था छ । अहिलेको अवस्थामा सुनको मूल्य घट्नेभन्दा पनि बढ्ने आधारहरु बलिया रहेको व्यवसायीहरुको भनाइ छ ।

इजरायलले गाजामा हमास र हालै दक्षिणी लेबनानमा हिजबुल्लाहसँग लडिरहेको बेला मध्यपूर्वको सङ्कटलाई लिएर सुन बजार प्रभावित भएको हो ।

केन्द्रीय बैंकहरूले ब्याजदर घटाउने उपाय अपनाउँदा यस वर्षको सुरुदेखि नै सुनको मूल्यमा ३० प्रतिशतको हाराहारीमा वृद्धि हुन पुगेको थियो । मूल्यमा देखिएको निरन्तरको वृद्धिले गर्दा सुन लगानीकर्ताका लागि थप आकर्षक सम्पत्ति बनेको छ ।

युक्रेनमा लामो समयदेखि चलिरहेको युद्धका बारेमा चिन्ताले व्यापारीहरूमा सुरक्षित लगानीको चाहना बढ्नुलाई स्वभाविक मानिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal