Skip to content
Prabhu

एनआरएनए प्रवक्तामा सुवेदी, अरु टुंगो लगाउन कार्यदल गठन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को  राजेन्द्रकुमार शर्मा(आरके) शर्मा समूहको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को बैठक सोमबार जुम प्रविधिमार्फत सम्पन्न भएको छ । 

अध्यक्ष आरके शर्माको अध्यक्षतामा बसेको बैठकमा पूर्वअध्यक्षद्वय कुल आचार्य र रविना थापाका साथै अध्यक्षका प्रत्याशी महेश श्रेष्ठ, पदाधिकारीहरू, आईसीसी सदस्यहरू, एनसीसीका प्रतितिधिहरुलगायतको उल्लेख्य सहभागिता रहेको थियो । आचार्य र शर्माले बैठकलाई सम्बोधन गर्दै संस्थालाई एकताबद्ध बनाउँदै अघि बढ्नुको विकल्प नभएको भन्दै यही कार्यसमितिले सबैलाई एक ठाउँमा ल्याउने उद्घोष गरे ।

यस्तै परराष्ट्र मन्त्रालयसँग सहकार्य गर्दै संस्थाको गतिविधिलाई तीव्रता दिने विषयमा पछि छलफल भएको थियो । 

यसबाहेक बैठकमा हालसम्म भएका कामहरूको समीक्षा गरिएको थियो भने सहभागीहरूले विभिन्न कठिनाइका बीच उल्लेख्य काम भएको भन्दै नेतृत्व र पदाधिकारीलाई धन्यवाद दिएका थिए । 

अध्यक्षको सक्रियतामा १० करोडको राहत तथा उद्धार कोष निर्माणका साथै जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण गरेर प्रशंसनीय काम भएको सहभागीको धारणा थियो । 

यस्तै  आईसीसी सदस्य, सल्लाहकार लगायतको मनोनयनको विषयमा भने बैठकले थप छलफल र परामर्शको आधारमा टुंगो लगाउने निर्णय गरेको छ । 

अध्यक्ष आरके शर्माले धेरै अग्रज र एनआरएनए अभियन्ताहरू आकांक्षी देखिएकाले थप अध्ययन गर्नका लागि एक साता समय लिइएको बताए । उनका अनुसार मनोनयनका लागि विश्वभरबाट अभियन्ताहरूको आकांक्षा तीव्र छ । 

सबैलाई समेटेर जानका लागि एउटा कार्यदल बनाइएको र कार्यदलले एक साताभित्रमा सबै टुंगो लगाएर मनोनीतको सूची सार्वजनिक गर्ने उनको भनाइ छ ।

‘संस्थालाई अझ चलायमान बनाउन थप छलफल र तयारी गर्नुपर्ने देखिएकाले अध्यक्ष, उपाध्यक्ष र महासचिवसहितको एउटा कार्यदल बनाइएको छ । कार्यदलले कार्यविधि सहित तयार गरेर एक साताभित्र मनोनीत हुनेहरुको सूची टुंगो लगाउने बैठकबाट निर्णय भएको छ । 

एनआरएनएको विधानअनुसार २१ जना आईसीसी सदस्य र २१ जना सल्लाहकार मनोनीत हुन्छन् ।

यस्तै मानार्थ सदस्य ५१ जना मनोनीत हुने व्यवस्था भएपनि अत्यधिक धेरै आकांक्षीहरु रहेकाले सबैलाई समेट्न चुनौती रहेको उपाध्यक्ष गंगाधर गौतमले बताए । 

यस्तै बैठकले विभिन्न टास्कफोर्स गठन गर्ने निर्णय पनि गरेको छ । 

विज्ञहरुको सहभागितामा हुने उक्त टास्कफोर्समा अर्थविद्, निर्माणविद, श्रमविद्लगायतको सहभागिता रहने र देश विकासका लागि उक्त

 टाक्सफोर्समार्फत सबै पक्षसँग सहकार्य गर्ने निर्णय भएको अध्यक्ष शर्माले बताए । 

साथसाथै गैरआवासीय नागरिकताका सम्बन्धमा कतिपय व्यवहारिक असहज देखिएकाले यस विषयमा सहजीकरणका लागि अध्यक्षको नेतृत्वमा गृहमन्त्री र परराष्ट्रमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय भएको छ ।

त्यसका लागि यसैसाता पूर्वअध्यक्ष कुल आचार्य, अध्यक्ष शर्मालगायतका शीर्ष अभियन्ताहरू काठमाडौँ आउने बताइएको छ । यस्तै सामाजिक सुरक्षा कोषलाई सशक्त बनाउनका लागि श्रम मन्त्रीलाई थप पहल गर्नेबारेमा पनि बैठकले निर्णय गरेको छ ।  

बैठकले विदेशमा कार्यरत नेपालीका कैयन समस्याहरु रहेकाले  ती समस्याको समाधानका लागि सम्पूर्ण विदेशमा रहेका दूतावास, एनसीसी, वैचारिक र राजनीतिक संघसंस्था परिचालन गरेर सचेतनता कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । त्यसका लागि नेपालमा श्रम र परराष्ट्र मन्त्रालयसँग पनि सहकार्य गर्नका लागि ध्यानाकर्षण गराउने निर्णय भएको छ । 

यस्तै ग्वार्कोमा वैदेशिक रोजगारीका लागि कोरिया जाने फर्म भर्ने विषयमा विवाद हुँदा दुई युवाको मृत्यु भएको सम्बन्धमा पनि बैठकले दुःख व्यक्त गरेको छ । बैठकले घटनाको सत्यतथ्य पत्ता लगाउँदै पीडितलाई दोषीमाथि कारबाहीको माग गरिएको छ । यस्तै पीडितका परिवारलाई थप सहयोगका लागि सरकारसँग आग्रह गर्दै वैदेशिक रोजगारीमा रहेका नेपालीको समस्या समाधानमा गम्भीर भएर लाग्न बैठकले ध्यानाकर्षण गराएको छ । 

एनआरएनएको प्रवक्तामा सुवेदी


गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रवक्तामा नारायण सुवेदी मनोनीत भएका छन् । संघको सोमबार बसेको आईसीसी बैठकले पूर्व सहकोषाध्यक्ष सुवेदीलाई प्रवक्तामा मनोनीत गर्ने निर्णय गरेको हो ।

 बैठकले संस्थाका आधिकारिक सूचना तथा जानकारीलाई व्यवस्थित ढंगले सम्प्रेषणका लागि प्रवक्ता तत्काल नियुक्त गरेको हो ।  बैठकले सल्लाहकार, संरक्षक, मानार्थ सदस्य र आईसीसी सदस्यहरू भने अर्को साता मनोनीत गर्नेछ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal