Skip to content
Prabhu

राष्ट्र बैंकले कार्यान्वयनमा ल्यायो ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’

nabil

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘नेपाल ग्रिन फाइनान्स ट्याक्सोनोमी २०२४’ जारी गरेको छ । ट्याक्सोनोमीले दीगो आर्थिक विकास सुनिश्चित गर्ने र जलवायु परिवर्तनका असर कम गर्ने, वातावरण संरक्षण गर्ने गरी बैंक वित्तीय क्षेत्रले लगानी बढाउनुपर्नेमा जोड दिएको छ ।

ट्याक्सोनोमीको प्रभावकारी कार्यान्वयन भएकामा हरित गतिविधिमा जाने कर्जा बढ्ने राष्ट्र बैंकको विश्वास छ । राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमा ग्रिन फाइनान्स ट्याक्सोनोमीसम्बन्धी नीति बनाउने घोषणा गरेको थियो । त्यसपछि, राष्ट्र बैंकले गत पुस २७ गते ग्रिन फाइनान्स ट्याक्सोनोमी सम्बन्धी मस्यौदा तयार गर्दै सरोकारवालासँग सुझाव मागेको थियो ।

राष्ट्र बैंकले आफूले तयार गरेको ट्याक्सोनोमीका विषयमा सुझाव दिन वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, माइक्रोफाइनान्स, बीमा कम्पनी, पुँजीबजारमा सूचीकृत कम्पनी र अन्य सरोकारवालालाई आग्रह गरेको थियो । राष्ट्र बैंकले सोमबार जारी गरेको ट्याक्सोनोमीले ग्रिन क्षेत्रमा हुने लगानीलाई प्रोत्साहन गर्दै वातावरणीय जोखिम भएका क्षेत्रमा हुने लगानी निरुत्साहित गर्न खोजेको छ ।

विश्व बैंकले दिएको सुझाव र अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको प्रतिवद्धताअनुसार वातावरणीय जोखिम भएको क्षेत्रमा लगानी निरुत्साहित गर्ने गरी राष्ट्र बैंकले ट्याक्सोनोमी बनाएको हो । ट्याक्सोनोमीले सम्पत्ति, परियोजना र विभिन्न क्षेत्रलाई ग्रिन वा वातावरणीय रुपमा दिगो भए नभएको एकिन गर्दै कर्जा लगानी गर्नु पर्ने अवधारणा विकास गरेको छ । बैंक तथा वित्तीय संस्थाका गतिविधि ग्रिन भए नभएको यकिन गर्दं वातावरण संरक्षणका क्षेत्रमा लगानी बढाउन ट्याक्सोनोमी जारी गरेको राष्ट्र बैंकले जनाएको छ ।

ग्रिन ट्याक्सोनोमिले नयाँ घर निर्माणमा कर्जा लगानी गर्नुभन्दा पुरानो घर रेट्रोफिटिङमा कर्जा दिन जोड दिएको छ । जौविक इन्धनबाट चल्ने गाडी खरिदमा कर्जा दिनुभन्दा बैंक वित्तीय संस्थाले विद्युतिय गाडी खरिदमा कर्जा दिनु पर्ने नीति ट्याक्सोनोमीले लिएको छ ।

राष्ट्र बैंकले विभिन्न १७ वटा क्षेत्रमा जाने कर्जा वातावरणमैत्री हुनुपर्ने गरी ट्याक्सोनोमी तयार गरेको हो । कृषि तथा वन सम्बन्धित कर्जा, माछापालनसम्बन्धी, खानीसम्बन्धी, कृषि, वन र बेभरेज उत्पादन सम्बन्धी, गैरखाद्यपदार्थ उत्पादन, निर्माण, पावर, ग्याँस र पानी, धातुजन्य उत्पादन र मेसिनरी र इलेक्ट्रोनिक उपकरण, यातायात, थोक तथा खुद्रा व्यवसायी, वित्त तथा बीमा, घरजग्गा, पर्यटन, अटोमोबाइल, स्वास्थ्य र फोहरमैला व्यवस्थापन, शिक्षा र उपभोगमा आधारित कर्जा गरी लगानीका १७ क्षेत्र पहिचान भएका छन् ।

बैंकले ग्रिन गतिविधिमा लगानी गर्नु पर्ने, एम्बर (पहेलो) गतिविधिमा सचेत भएर लगानी गर्नु पर्ने र रेड गतिविधिमा लगानी गर्न नहुने ट्याक्सोनोमीमा उल्लेख छ । मिथेन र कार्वन उत्सर्जन गर्ने उद्योगमा बैंक वित्तीय संस्थाले लगानी घटाउँदै वातावरण संरक्षण गर्ने माटो संरक्षण गर्ने, दीगो कृषि गतिविधिमा लगानी बढाउनुपर्ने ट्याक्सोनोमीमा उल्लेख छ ।

उत्पादन बढाउनेभन्दा पनि वातावरणीय पक्षलाई ध्यान दिनुपर्ने नीति ट्याक्सोनोमीले लिएको छ । वित्तिय क्षेत्रले आर्थिक जोखिम घटाउन र ग्रिन लगानी आकर्षित गर्दै ग्रिन रोजगारी सिर्जनामा महत्वपूर्ण भुमिका खेल्ने राष्ट्र बैंकको विश्वास छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal