काठमाडौं । नेपालीमा पछिल्लो समयमा उपहार दिने संस्कारमा विस्तारै परिवर्तन देखिन थालेको छ । उपहार लिने व्यक्तिलाई आवश्यक पर्ने र भविष्यमा सहयोग हुने किसिमका उपहारहरू दिने चलन विस्तारै बढ्न थालेको हो । नेपालीहरूमा कुनै विशेष सभा समारोह वा विवाह उत्सव, जन्मदिन लगायतका कार्यक्रमहरू आयोजना गर्दा उपहारका रूपमा खानेकुरा, सजाउने चिजहरू दिने चलन छ । तर, पछिल्लो समय यसमा विस्तारै परिवर्तन आउन थालेको छ ।
अहिले आफ्नो परिवारका सदस्यको जन्म दिन वा विवाहको उत्सवहरूमा महंँगा सामान तथा खानेकुराभन्दा पनि बीमा पोलिसी उपहार दिने चलन पनि विस्तारै बढ्न थालेको छ । जन्म दिन वा विवाह उत्सवको अवसरमा परिवारका सदस्य, सन्तान वा अविभावकलाई बीमा पोलिसी दिने क्रम नेपालमा पनि विस्तार हुँदै गएको छ ।
असोज ८ गते विवाहको दिन पारेर मनुमाया तामाङले आफ्ना श्रीमान अनिल तामाङलाई बीमा पोलिसी उपहार दिइन् । सूर्यज्योति लाइफ इन्स्योरेन्समा कार्यरत सिनियर एजेन्सी म्यानेजर तामाङले श्रीमानलाई २१ लाख रुपैयाँको सावधिक जीवन बीमा योजना अन्तर्गतको पोलिसी उहारा प्रदान गरिन् ।
मनु माया तामाङले उक्त अवसरमा खर्चमा नियन्त्रण र अनिवार्य बचत र सुरक्षालाई मध्यनजर गर्दै बिमा पोलिसी उपहार प्रदान गरेको बताइन् । बीमाले भविष्यको सुरक्षामा योगदान दिने कुरा निश्चित छ । कुनै पनि कार्यक्रममा गरिएको खर्चले केही व्यक्तिहरूले केही समयका लागि रमाइलो त गर्लान । तर, बीमा पोलिसी उपहार दिने लगायतका कारणले भने व्यक्तिको भविष्यको सुरक्षामा सहयोग पुग्ने छ ।
बीमा पोलिसि उपहार दिने यस्ता क्रमले आम नागरिकलाई पनि यस तर्फ लाग्न पेरित गर्ने देखिन्छ । विनु जस्तै अर्का व्यक्ति हुन कञ्चनपुको कृष्णपुर नगरपालिकाका दिनेश टेलर र लीला कुमारी दमाई । यो दम्पतीले आफ्नो छोराको जन्म दिन मनाउन होटलमा तडकभडक गरेन् । बरु छोरालाई बीमा पोलिसी उपहार प्रदान गरे । टेलर र दमाइ दम्पत्तीले आफ्नो छोरालाई जिल्लाको अत्तरियामा रहेको नेपाल लाइफ इन्स्योरेन्सको शाखाबाट शुलभ बाल जीवन बीमा प्लस नामक पोलिसी उपहार दिए ।
उनीहरूले होटल, रेष्टुरेन्टमा गएर खर्च गरेको भए त्यो एकै दिनमा सकिन्थ्यो होला । जुन अनुत्पादका हो । तर, उनीहरूले छोराको भविष्यलाई सोचेर बीमा पोलिसी खरिद गरेर उहार दिए । जसले भोलि परिवारको आर्थिक भारलाई थप सहयोग पुग्ने छ । कात्तिक ७ गते मात्रै विदेशमा रहेका छोराछोरीले गैडाकोटका बाबु आमालाई बीमा पोलिसी उपहार दिए । विदेशबाट महंगा उपहार पठाउनेभन्दा पनि नवलपरासीको गैडाकोट ९ थुम्सीका मानबहादुर दर्लामी मगर र दिल माया दर्लामी मगरलाई हंकङ बस्ने दुई छोरीहरू र जापानमा रहेका छोरा मिलेर बीमा पोलिसी उपहार दिए । उनीहरूले आफ्ना आमा बाबुलाई नेपाल रिलायबल नेपाल लाइफको रिलायबल सुलभ जीवन बीमा पोलिसी उपहार दिए ।
अहिले छोराछोरीहरू विदेशमा जाने र गाउँघरमा बुढा बाबुआमाहरू मात्रै रहेको अवस्थामा विदेशबाट महँगा सामानभन्दा पनि बीमा पोलिसी उपहार दिने यस्तो कार्यले बीमाप्रतिको आकर्षण थप बढ्छ ।
बच्चाको जन्म दिन वा आमा बुबाको जन्म दिनमा मात्रै होइन आफ्नै जन्म दिनमा पनि आफ्ना सन्तानलाई बीमा पोलिसी उपहार दिनेहरू पनि छ । यी मध्येकै एक हुन् काभ्रेको दोलालघाटकी हेमादेवी श्रेष्ठ । उनले आफ्नो जन्म दिनको अवसरमा छोरी एनिषा श्रेष्ठलाई बीमा पोलिसी उपहार दिइन् । उनले छोरी एनिषलाई हिमालयन लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार दिएकी हुन् ।
बीमा पोलिसी उपहारले अविभावकले छोरीलाई दिइएको माया मात्र नभएर एक जिम्मेवार अभिभावकको सोचको प्रतिबिम्बसमेत हो । यस्तो उपहारले आजको समयमा छोराछोरीको उज्वल भविष्यको सुरक्षा गर्दै जीवनमा आइपर्न सक्ने चुनौतीको सामना गर्न थप सशक्त बनाउन सहयोग गर्ने छ ।
उहार संस्कारमा परिवर्तन ल्याउनमा उदाहरणी पात्रका रूपमा देखा परेका अर्का व्यक्ति हुन् भिमसेन थापा गाउँपालिका–४ धावा, गोरखा स्थायी ठेगाना भएका नेत्रनाथ पोखरेल । उनले आफ्नो छोराको जन्मदिनमा नेसनल लाइफको अमृत श्री अग्रिम भुक्तानी योजनाको जीवन बीमा पोलिसी उपहार दिए । हाल काठमाडौंको सोह्रखुट्टेमा बस्दै आएका नेत्रलालले आफ्नो छोरा निशान पोखरेलको १८ औँं जन्मोत्सवको अवसरमा उक्त बीमा पोलिसी उहार दिए । उनले नेसनल लाइफ इन्स्योरेन्सको काठमाडौं घण्टाघर शाखामा गएर पोलिसी उपहार दिए ।
चितवनको कुरिन्टारकी सगुन गुरुङले पनि जन्म दिनको अवसरमा अनावश्यक खर्च गर्नुभन्दा छोरीलाई बीमा पोलिसी उपहार दिइन् । उनले आफ्नो जन्मदिनको अवसरमा छोरी कृष्मा गुरुङलाई बीमा पोलिसी उपहार दिइन् । उनले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको हाकिमचोक शाखाबाट रिलायबल सुलभ बाल जीवन बीमा प्लस पोलिसी खरिद गरेर उपहार दिएकी हुन् ।
विभिन्न उत्सवका नाममा महंगो सामग्री र क्षणिक रमाइलोका लागि लाखौं खर्च गर्नुको सट्टा भविष्यको सुरक्षा र बचतलाई मध्यनजर गर्दै बीमा पोलिसी उपहार दिने प्रवृत्तिको विकास हुनलाई सकारात्मक रुपमा लिन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्