काठमाडौं । मारूती सिमेन्ट्स लिमिटेडले यस वर्षको ३०औं वार्षिक साधारण सभा कात्तिक २३ गते आयोजना गर्ने निर्णय गरेको छ । यसअघि कात्तिक ११ गतेका लागि तय गरिएको सभा सेयरधनीहरूको कम उपस्थिति रहने प्रक्षेपणका कारण सारिएको हो ।
कम्पनीको सञ्चालक समितिको कात्तिक ९ गते बसेको बैठकले सो सभा अब कात्तिक २३ गते बिहान ११ः३० बजे विराटनगरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा आयोजना गर्ने निर्णय गरेको हो । सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने विषयलाई टुङ्ग्याइनेछ ।
कम्पनीले शेयरधनीहरूलाई गत आर्थिक वर्षको मुनाफाबाट करसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ । साथै, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक लाख रुपैयाँभन्दा माथिका अनुदानको अनुमोदन गर्ने, विभिन्न बैंकहरूबाट लिएका ऋणलाई स्वीकृत गर्ने लगायतका एजेण्डाहरूलाई पनि सभामा प्रस्तुत गरिनेछ ।
मारूती सिमेन्ट्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको तयारी गरिरहेको छ । यस प्रस्तावलाई गत वर्ष कात्तिक २१ गते सम्पन्न २९औं वार्षिक साधारण सभाले पारित गरिसकेको थियो ।
प्रतिक्रिया दिनुहोस्