Skip to content
Prabhu

निर्यात व्यापारमा भारतबाट हुन थाल्यो अवरोध, सम्भावना बोकेको  सिमेन्टदेखि जुत्ता निर्यात रोकियो

nabil
काठमाडौं । गत आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले भारततर्फ १ लाख ५५ हजार २४८ टन सिमेन्टको क्लिङकर निर्यात गर्दा ४६ करोड ८९ लाख रुपैयाँ नेपालले कमायो । यस्तै ६ लाख ९ हजार ४४८ टन पोर्टल्याण्ड सिमेन्ट ३८ करोड ४० लाख ८० रुपैयाँको निर्यात भएको थियो ।
गत आर्थिक वर्षमा नेपालले भारततर्फ ३ अर्ब ८५ करोड रुपैयाँ बराबरको सिमेन्ट र क्लिङकर निर्यात गरेको थियो । नेपालबाट निर्यात बढी भएका वस्तुमा सिमेन्टसमेत परेको थियो ।
सरकारले नगद अनुदान दिने नीति लिएको तथा सिमेन्ट उद्योगहरु नेपाल भारतको सीमावर्ती क्षेत्रमा भएको हुँदा सिमेन्टको निर्यात भारतमा हुने राम्रो सम्भावना थियो । खासगरी उत्तरप्रदेश र बिहारमा सीमावर्ती क्षेत्रमा सिमेन्टको बजारको राम्रो सम्भावना थियो ।
तर, भारतीय पक्षले विगतमा जस्तै यो वर्षमा पनि सिमेन्ट निर्यातमा भने गैरभन्सार भनिने अवरोध निकालेको छ । चालु आर्थिक वर्षको तीन महिनामा ३९ करोड बराबरको पोर्टल्याण्ड सिमेन्ट २ लाख ३१ हजार टन निर्यात भएको छ ।
सिमेन्ट क्लिङकर १० करोड बराबरको १८ हजार टन निर्यात भएको छ । गत वर्षको ३ महिनाको तुलना गर्दा पोर्टल्याण्ड सिमेन्टको निर्यात बढेको देखिए पनि सिमेन्ट क्लिङकरको निर्यात भने ७८ प्रतिशतले बढेको छ । असोजदेखि सिमेन्टको निर्यातसमेत हुन छाडेको सिमेन्ट उद्योगीहरुले बताएका छन् ।
यस्तै, अवस्था नेपालले निर्यात गर्ने जुत्तामा समेत देखिएको छ । नेपाली जुत्तामा सबैभन्दा भारतको राम्रो बजारमा नेपाली ब्राण्ड गोल्डस्टारको थियो । गोल्डस्टारले भारतको वाणिज्य मन्त्रालयमा नै निर्यातमा भएको अवरोधको बारेमा जानकारी गराएको थियो ।
नेपाल र भारतबीच बेला–बेलामा हुने राजनीतिक तनावको प्रभाव व्यापारमा पर्ने गरेको छ । केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि भारतसँगको सम्बन्ध सहज नभएको अनुमान नेपाल–भारत सम्बन्धमा जानकारहरुको दाबी छ ।
नेपालमा प्रधानमन्त्री बनेपछि भारत जाने प्रचलन रहे पनि ओलीको पहिलो भ्रमण अमेरिका संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनका लागि भएको थियो । अमेरिकामा ओली र मोदीबीच साइडलाइनमा भेटघाट भए पनि भारतीय पक्षले अहिलेसम्म नेपालका प्रधानमन्त्रीलाई औपचारिक रुपमा नयाँ दिल्लीमा स्वागत गरेको छैन ।
यहीबीचमा प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा जुटेका छन् । भारतसँग निर्यात व्यापार गरिरहेका एक उद्योगी काठमाडौं र दिल्लीको सम्बन्धको प्रभाव व्यापारमा पर्ने गरेको बताउँछन् ।
‘निर्यातमा भारतले केही इस्यु बनाएर अवरोध निकाल्ने गरेको छ,’ ती व्यवसायीले भने, ‘नेपालबाट निर्यात सम्भव देखिएका सिमेन्ट लगायतका वस्तुहरु अहिले निर्यातमा भारतको कारण समस्या परे ।’ भारतमा निर्यात गर्नका लागि अर्घाखाँची, तानसेन सिमेन्ट लगायतका केही सिमेन्ट उत्पादकले सीमावर्ती क्षेत्रमा प्रचारको कामसमेत सुरु गरेका थिए ।
सरकारी निकायले भने भारतमा निर्यातमा भइरहेको अवरोधको विषयमा आवश्यक पहल भइरहेको जनाएको छ । सिमेन्ट लगायतका वस्तुको भारत निर्यातमा देखिएको समस्या समाधानका गर्नका लागि पहल भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालका प्रवक्ता बाबुराम अधिकारीलेको भनाइ छ ।
नेपालका निर्यातकर्ता र भारतका आयातकर्ताहरुबीच ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस) प्रमाणपत्रको सटिफिकेट आवश्यक पर्ने र त्यो नवीकरण तथा नयाँ वितरण नभएको अवस्थामा निर्यातमा केही समस्या देखिएको उनको भनाइ छ । अहिले भारतका सम्बन्धित निकायमा निर्यात सहज बनाउनका लागि पहल भइरहेको उनले बताए ।
‘हामीहरुले भारत सरकारको सम्बन्धित निकायहरुमा परराष्ट्रमार्फत समन्वयको पहल गरिरहेका छौँ,’ प्रवक्ता अधिकारीले भने ।  व्यवसायीहरुसँग र भारतीय पक्षसँग पनि मन्त्रालय निरन्तर सम्पर्कमा रहेको यो समस्या छिटोभन्दा छिटो समाधान गर्ने प्रयास भइरहेको उनले बताए । ‘नेपालबाट केही मात्रै वस्तु भारत निर्यात हुने गरेको छ । त्यसमा आएको समस्या समाधानमा  मन्त्रालय निरन्तर लागिरहेको छ,’ उनले भने ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal