Skip to content
Prabhu

डिजिटल अरेस्टमा २२ दिन, गुम्यो ५१ लाख भारु

nabil
एजेन्सी । “उनीहरू २२ दिनसम्म हरेक समय मेरो साथ भिडियो कलमा थिए । यहाँसम्म कि बाथरूम जानुअघि पनि मैले उनीहरूलाई म्यासेज गर्नुपथ्र्यो कि म बाथरूम जाँदैछु ।”
यो कथा चण्डीगढका हरिनाथको हो, जसलाई हालै अनलाइन ठगहरूले डिजिटल अरेस्ट गरेका थिए।
हरिनाथ बताउँछन्, “म दुई÷तीन दिनपछि बैंक जान्थें र उनीहरूलाई लाखौं रुपैयाँ पठाउँथे। अहिलेसम्म उनीहरूले मबाट ५१ लाख २ हजार भारु ठगिसकेका छन् ।”
उनको दाबी छ कि २ अक्टोबरदेखि २४ अक्टोबरसम्म उनले साइबर ठगहरूको निर्देशनअनुसार चले र कुल २२ दिनसम्म उनीहरूलाई पैसा पठाइरहे । हरिनाथको भनाइ छ कि उनी घरबाहिर निस्कँदा पनि उनलाई म्यासेज पठाउँथे ।
भारतमा डिजिटल अरेस्टको विषय यति गम्भीर छ कि २७ अक्टोबरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन की बात कार्यक्रममा समेत यसबारे उल्लेख गरेका थिए । प्रधानमन्त्री मोदीले यस विषयमा जनतालाई सचेत रहन आग्रह गरेका थिए ।
उनले भनेका थिए, “डिजिटल अरेस्टको पीडित हरेक वर्ग र उमेरका व्यक्ति छन् । डरका कारण उनीहरूले आफ्नो मेहनतले कमाएको लाखौं रुपैयाँ गुमाउँछन् ।”
हरिनाथ भोपालका बासिन्दा हुन् तर विगत सात वर्षदेखि चण्डीगढमा बसिरहेका छन् ।
डिजिटल अरेस्ट कसरी भयो ?
यस घटनाबारे कुरा गर्दै हरिनाथले बीबीसीलाई भने, “म एक पत्रिकामा फोटो एडिटरको रूपमा काम गर्थें। २०१७ मा यो कामका लागि म चण्डीगढ आएको थिएँ ।”
कोरोनाको क्रममा हरिनाथको जागिर गुम्यो । उनकी श्रीमती एक निजी स्कुलमा शिक्षक हुनुहुन्छ । स्कुल बाहेक उहाँले घरमै पनि बालबालिकालाई पढाउनुहुन्छ । जागिर गुमेपछि उनले आफ्नी श्रीमतीसँग मिलेर घरमै बालबालिकालाई पढाउने काम सुरु गरे ।
डिजिटल अरेस्टको विषयमा हरिनाथ भन्छन्, “२ अक्टोबरको रात १२ बजे मेरोमा एक युवतीको फोन आयो र उसले भन्यो कि म एक टेलिकम कम्पनीबाट कुरा गर्दैछु । दुई घण्टापछि तपाईँको फोन बन्द हुनेछ ।”
उनी भन्छन्, “युवतीले भनिन् कि ३० अगस्टमा तपाईँको आधार कार्डमा मुम्बईमा मोबाइल सिम जारी भएको थियो र यस सिमकार्डको विरुद्ध सातवटा उजुरी र एक एफआईआर दर्ता भएको छ ।”
“मैले उसलाई भनें कि म मुम्बईमा कसैलाई चिन्दिनँ, म चण्डीगढमा बस्छु ।” त्यसपछि उनले मलाई एक (नक्कली) प्रहरी अधिकृतसँग कुरा गराइन् ।
हरिनाथको भनाइ छ कि त्यस प्रहरीले उनलाई धम्क्यायो ।
उनका अनुसार प्रहरी अधिकृतले भन्यो, “के के गरिसकेछौ, तपाईँ ठूलो ठगी गर्दै हुनुहुन्छ । नरेश गोयल नामका व्यक्तिसँग ठूलो ठगी भएको छ । तपाईँको नाममा बैंकमा खाता खोलिएको छ ।”
नक्कली प्रहरी अधिकृतले हरिनाथलाई भन्यो, “यस खाताबाट ६ करोड ८० लाखको कारोबार भएको छ । यस रकमको १० प्रतिशत तपाईँको नाममा आएको छ । तपाईँविरुद्ध गिरफ्तारी वारन्ट जारी भएको छ। दुई घण्टाभित्र तपाईँलाई पक्राउ गर्न पुलिस आउनेछ ।”
हरिनाथ भन्छन्, “म डराएको थिएँ । मैले केही पनि जाँच गर्ने प्रयास गरिनँ । त्यसपछि उक्त नक्कली प्रहरीले मलाई भन्यो कि यो विषय धेरै गम्भीर छ । यस मुद्दाको जाँच आरबीआई, सीबीआई र सर्वोच्च अदालतले गरिरहेको छ । म तपाईँलाई सीबीआई अधिकृतसँग कुरा गराउँदै छु ।”
त्यसपछि उनको कुराकानी नक्कली सीबीआई अधिकृतसँग भयो ।
हरिनाथ भन्छन्, “उसले मलाई चाँडो मुम्बई आउन भन्यो । मैले उसलाई भने कि म यति चाँडै मुम्बई कसरी जान सक्छु। मसँग मेरी श्रीमती र बालबालिकाको जिम्मेवारी छ ।”
“त्यसपछि उसले मलाई भन्यो, ठिक छ, यदि तपाईँ मुम्बई आउन सक्नुहुन्न भने हामीसँग अर्को तरिका छ, तपाईँ घरमै बस्नुहोस् र जाँचमा सहयोग गर्नुहोस् ।”
हरिनाथका अनुसार, उनले भने, “तपाईँ मोबाइलको माध्यमबाट हरेक समय हामीसँग जोडिरहनुहुनेछ। भोलिपल्ट बिहान १० बजे हामी तपाईँसँग भेट्नेछौं ।”
“तपाईँ आफ्नो सम्पत्तिसम्बन्धि सबै जानकारी हामीसँग बाँड्नुहुनेछ । आरबीआईले तपाईँको खाताहरू, जम्मा–पूँजीको जाँच गर्नेछ, यदि तपाईँ निर्दोष पाइए तपाईँलाई छोडिनेछ ।”
हरिनाथले बताए कि भोलिपल्ट ३ अक्टोबरमा बिहान १० बजे भिडियो कलको माध्यमबाट ठगहरूसँग उनको भेट भयो । यस भेटमा साइबर ठगहरूले हरिनाथलाई सोधे कि तपाईँसँग कति पैसा र सम्पत्ति छ । हरिनाथले भने, “मैले सबै कुरा खुला गरिदिएँ कि मेरो फिक्स्ड डिपोजिटमा ९ लाख रुपैयाँ छ ।”
हरिनाथले बताए, “उनीहरूले मलाई तुरुन्तै बैंक गएर उनीहरूलाई पैसा पठाउन भने । ३  अक्टोबरको साँझमै मैले अनलाइन आफ्नो एफडी तोडिदिएँ । भोलिपल्ट ४ गते फेरि हाम्रो भेट भयो ।”
“भेटमा उनीहरूले मलाई निर्देशन दिए कि यदि तपाईँ बैंक जानुहुन्छ भने तपाईँको फोनमा भिडियो कल चलिरहनेछ र तपाईँले कसैलाई पनि भनिरहनुहुनेछैन कि तपाईँ पैसा किन र कसलाई पठाइरहनुभएको छ। बैंकमा पनि कसैसँग कुरा गर्नुहुनेछैन ।”
हरिनाथ भन्छन्, “यो मेरो ठूलो गल्ती भयो कि मैले जाँच गर्ने प्रयास गरिनँ कि उनीहरू को हुन् र आरबीआई, सीबीआईले किन ह्वाट्सएपमार्फत मसँग सम्पर्क गरिरहेछन् । म डराएको थिएँ। उनीहरूले जे जे गर्न भने, मैले त्यही गरिरहेँ ।”
दिनमा बालबालिकालाई पढाउनदेखि तरकारी बनाउने र मन्दिरमा दीप जलाउनसम्मको हरेक कामअघि हरिनाथले उनीहरूलाई खबर गरिरहे ।
‘परिवारसँग कुरा नगर्नू’ 
हरिनाथ भन्छन्, “पहिले मलाई लाग्यो कि यो साँच्चै आरबीआई वा सीबीआई हो। मलाई उनीहरूमाथि कुनै शंका भएन ।”
“भिडियो कलमा उनीहरू मलाई हरेक समय हेरिरहे। मलाई थाहा भएन कि म के गरूँ। उनीहरूले मलाई कसैलाई केही पनि भन्नबाट रोक्न भनेका थिए ।” “मेरो श्रीमतीले बारम्बार सोध्दा पनि मैले उनलाई केही पनि भनेन कि म कुन जालमा फसेको छु ।”
ठगहरूलाई पैसा पठाउने सिलसिला जारी रह्यो।
हरिनाथ भन्छन्, “उनीहरूले मलाई बैंकमार्फत पैसा पठाउन भनेका थिए। मैले पहिलो पटक ४ अक्टोबरमा आरटीजीएसमार्फत ९ लाख ८० हजार रुपैयाँ पठाएँ ।”
हरिनाथको दाबी छ, “दोस्रो पटक मैले ५ अक्टोबरमा २० लाख भारतीय रुपैयाँ पठाएँ । त्यसपछि ७ अक्टोबरमा पहिला ९ लाख ८० हजार रुपैयाँ पठाएँ र पछि ५० हजार रुपैयाँ पनि थप पठाएँ। यसरी ९ अक्टोबरमा फेरि ५ लाख रुपैयाँ पठाएँ ।”
पैसा पठाउने यो सिलसिला जारी रह्यो ।
हरिनाथ भन्छन्, “३ अक्टोबरमा ९९ हजार ९९९ रुपैयाँ पठाएँ। भोलिपल्ट १४ अक्टोबरमा २ लाख ८० हजार रुपैयाँ पठाएँ ।”
त्यसपछि साइबर ठगहरूले हरिनाथलाई भने कि यदि उनीहरू आफ्नोविरुद्ध दर्ता भएको एफआईआर खारेज गराउन चाहन्छन् भने थप २ लाख रुपैयाँ दिनुपर्नेछ।
हरिनाथ भन्छन्, “मैले १६ अक्टोबरमा ८८ हजार रुपैयाँ पठाएँ ।”
त्यसपछि उनीहरूले भने कि आरबीआईले जाँच गरेको छ । उक्त जाँचको शुल्क १.५ लाख रुपैयाँ हो । त्यसपछि मलाई लाग्यो कि यदि मैले आफ्नो पैसा फिर्ता गर्न चाहन्छु भने मलाई शुल्कको भुक्तानी गर्नुपर्छ। त्यसैले २२ अक्टोबरमा उनले उनीहरूको खातामा १ लाख ५० हजार रुपैयाँ थप पठाएँ।’’
त्यसपछि हरिनाथलाई महसुस भयो कि उनी ठगिएका छन्।
त्यसपछि उनले प्रहरीमा उजुरी दर्ता गराएँ । “मलाई थाहा छैन कि म मेरो पैसा फिर्ता पाउँछु कि पाउँदिनँ। मैले पुलिसमा निवेदन दिएर उजुरी दर्ता गराइसकेको छु”, उनले भने ।
हरिनाथको यो कथा भारतमा साइबर ठगीका बढ्दो घटनामा एक उदाहरणमात्र हो ।
हरिनाथले आफ्नो ५१ लाख रुपैयाँ कहाँबाट जुटाए भन्ने विवरण उनीसँग भएका विभिन्न स्रोतहरूलाई नगदमा बदल्ने प्रक्रियासँग सम्बन्धित छ । जागिर गुमेपछि, उनीसँग करिब ४–५ लाख रुपैयाँ बचत थियो । त्यसपछि, उनले आफ्नो कार १ लाख ७१ हजार रुपैयाँमा बेचे र पहिले नै उनीसँग रहेको १२–१३ लाख रुपैयाँको प्रयोग गरे।
त्यसबाहेक, पानीपथमा उनका दुईवटा फ्ल्याटहरू थिए, जसलाई उनले बेचे र ती फ्ल्याटहरूबाट प्राप्त रकम शेयर बजारमा लगानी गरेका थिए। उनले अर्को फ्ल्याट पनि बेचेर नगद जुटाएका थिए। यसरी विभिन्न सम्पत्तिहरू बेचेर र आफ्नो बचतको उपयोग गर्दै, उनले जम्मा ५१ लाख रुपैयाँको रकम जुटाए।
डिजिटल अरेस्ट भनेको एक प्रकारको अनलाइन ठगी हो जसमा ठगहरूले आफूलाई प्रहरी वा सरकारी अधिकारी भनेर प्रस्तुत गरेर पीडितलाई पक्राउको डर देखाउँछन् । भिडियो कलमार्फत् उनीहरू व्यक्तिमाथि नजर राख्छन् र उनलाई सधैं निर्देशन दिन्छन्। यी ठगहरूले अनुसन्धानको बहानामा बिस्तारै पैसा ट्रान्सफर गर्न दबाब दिन्छन्।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal