काठमाडौं । नेपाल धितोपत्र बोर्डको पूर्णकालीन अध्यक्ष खाली रहेको करिब १ बर्ष पुग्नै लाग्यो । लामो सयमसम्म पूर्णकालीन अध्यक्ष नहुँदा आईपीओ जारी गर्ने लगायतका कार्यसम्पादनमा समस्या भइरहेको छ । तर, पछिल्लो समय अध्यक्ष नियुक्तिको प्रक्रिया विभिन्न बाहानामा गिजोलिँदा अहिले नै बोर्डले यति समयमा नै अध्यक्ष पाउछ भन्न सक्ने अवस्था छैन ।
बोर्डका तत्कालीन अध्यक्ष रमेश कुमार हमाल आफ्नो कार्यकाल सकेर २०८० सालको पुस २० गते बोर्डबाट बिदा भएका थिए । त्यस पछि बोर्डले पूर्णकालीन अध्यक्ष पाउन सकेको छैन । बोर्डको पूर्णकालीन अध्यक्षको नेतृत्व पाउन नसकेको १० महिना पुगिसकेको छ । यो बीचमा अर्थमन्त्रालयका प्रतिनिधित्व गर्ने सहसचिवहरुले बोर्डको कामकाजी अध्यक्षको जिम्मेवारीमा काम गरिरहेका छन् ।
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सरकारले तयारी पनि गरेको हो । तर कहिले उम्मेदवरा अन्तर्वार्तामा नआउने र कहिले अन्तर्वार्ता लिने व्यक्तिहरुको स्वास्थ्यमा समस्या आएको भन्दै रोकिदै आएको छ । दशैँ अघि नै अध्यक्ष नियुक्त गर्ने योजनाका साथ सरकारले पहिले अन्तर्वातामा सहभागि नभएका तीन जनालाई अन्तर्वाताका लागि बोलाएको थियो । तर राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बिरामी भएका कारण उक्त अन्तर्वार्ता हुन सकेनन् । जसले अध्यक्ष नियुक्तिको प्रक्रिया थप लम्बिएको छ ।
बोर्डमा अध्यक्ष नहुँदा ३७ कम्पनीका २७ अर्ब भन्दा बढीको आईपीओ मात्रै पाइपलाइनमा रहेको छ । बोर्डमा अहिले आईपीओ जारी गर्नका लागि निवेदन दिएका ३७ कम्पनीको २७ अर्ब ९३ करोड ४४ लाख ३७ हजार २३३ रुपैयाँको आईपीओ पाइपलाइनमा रहेको छ । त्यस्तै एफपीओ, हकप्रद जारी गर्नका लागि आवेदन दिएका कम्पनीको आवेदन पनि अहिले बोर्डमा अड्किएर बसेको छ । अहिले बोर्डले केही हकप्रद र एफपीओको जारी गर्नका लागि अनुमति दिए पनि आईपीओ जारी गर्नका लागि भने अझै समय लाग्ने देखिएको छ । यसका लागि बोर्डमा पूर्णकालीन अध्यक्ष नआएसम्ममा आईपीओ जारी हुने सम्भावना कम रहेको छ ।
अहिले बोर्डको अध्यक्षको जिम्मेवारीमा अर्थमन्त्रालयका सहसचिव महेश बराल छन् । उनले अहिले केही कम्पनीलाई एफपीओ र हकप्रद सेयर जारी गर्न अनुमति दिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्