एजेन्सी । कतारको दोहामा इजरायल र हमासका प्रतिनिधिहरूबीच भइरहेको युद्धविरामका लागि मध्यस्थताबाट कतार पछाडि हटेको भन्ने दाबी कतिपय रिपोर्टहरूले गरेका छन् । युद्धको सुरुआत भएदेखि नै दुवै पक्षका प्रतिनिधिहरू अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा समझदारीका लागि वार्ता गरिरहेका थिए । तर, अहिलेसम्म दुवै पक्ष कुनै नतिजामा पुग्न सकेका छैनन् ।
कतारले आरोप लगाएको छ कि दुवै पक्ष विश्वासका साथ वार्ता गर्न र सम्झौतासम्म पुग्न तयार छैनन् । उसले अब थप मध्यस्थताको प्रयास गर्न नसक्ने बताएको छ । जानकारी अनुसार कतारले हमासलाई भनेको छ कि दोहामा रहेको उनीहरूको राजनीतिक कार्यालयको अब कुनै उद्देश्य बाँकी छैन ।
यसअघि, अमेरिकी अधिकारीहरूले कतारमा हमासका प्रतिनिधिहरूको उपस्थिति स्वीकार नगर्ने बताएको समाचार आएको थियो । अमेरिकी अधिकारीहरूले प्यालेस्टिनी समूहलाई गाजामा युद्ध अन्त्य गर्न ल्याइएका प्रस्तावहरू अस्वीकार गरेको आरोप समेत लगाएका थिए । रोयटर्स समाचार एजेन्सीका अनुसार कतार सरकारले दस दिनअघि यस विषयमा सहमति जनाइसकेको थियो कि उसले हमासलाई आफ्नो राजनीतिक कार्यालय बन्द गर्न भनिदिनेछ ।
सन् २०१२ मा पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामा प्रशासनको अनुरोधमा कतारको दोहामा हमासको राजनीतिक कार्यालय स्थापना गरिएको थियो, जसको उद्देश्य हमाससँग संवाद कायम राख्नु हो । यद्यपि, हमासका अधिकारीहरूले बीबीसीसँग यस खबरको खण्डन गरेका छन् । यसैबीच कतारले यो विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
कतारको महत्व
कतार एउटा सानो तर प्रभावशाली मध्यपूर्वी मुलुक हो जुन अमेरिकाको प्रमुख सहयोगी हो । यहाँ अमेरिकाको ठूलो सैन्य अड्डा पनि छ र कतारले ईरान, तालिबान, रुस लगायतका संवेदनशील वार्ताहरूमा मध्यस्थताको भूमिका खेलेको छ ।
इजरायल र हमासबीच एक वर्षभन्दा लामो समयदेखि चलिरहेको युद्धमा युद्धविराम र बन्दीहरूलाई रिहा गर्नका लागि अमेरिका र इजिप्टसँग मिलेर कतारले महत्त्वपूर्ण भूमिका निभाएको छ । यद्यपि, दुवै पक्षबीचको वार्ता अहिलेसम्म निष्कर्षविहीन नै रहेको छ ।
अक्टोबरमा आयोजित ताजा वार्तामा पनि दुवै पक्ष कुनै सम्झौतासम्म पुग्न नसकेका थिए । हमासले छोटो समयको युद्धविराम प्रस्ताव अस्वीकार गरेको थियो । हमासको भनाइ थियो कि युद्ध पूर्णरूपमा बन्द हुनुपर्छ र इजरायली सुरक्षाबलहरू गाजाबाट पूर्णरूपमा बाहिर निस्कनुपर्छ ।
हमासलाई दबाबमा पार्ने प्रयास
सम्झौतासम्म पुग्नबाट हमास मात्र अस्वीकार गर्दैछ भन्ने होइन । इजरायलमाथि पनि सम्झौतासम्म पुग्न ढिलाइ गरेको आरोप लाग्दै आएको छ । केही दिनअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले रक्षा मन्त्री योआभ ग्यालेन्टलाई बर्खास्त गरेका थिए । ग्यालेन्टले नेतन्याहूमाथि सुरक्षा प्रमुखहरूको सल्लाहको विपरीत शान्ति सम्झौतामा सहमत नहुन आरोप लगाए ।
रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युटका सिनियर एसोसिएट फेलो डा. एचए हेलयरले यी खबरहरूलाई विश्वास गर्न योग्य मानेका छन् । उनी भन्छन्, “मलाई लाग्छ, हामी अन्तिम चरणमा छौं, जहाँ हमासलाई आफ्नो स्थान परिवर्तन गर्न बाध्य पारिन सक्छ । केही महिना यता यो अनुमान गरिएको थियो ।” यस्तो देखिन्छ कि हमासलाई कतारबाट बाहिर निकाल्ने यो प्रयास बाइडन प्रशासनको हो, जसले जनवरीमा आफ्नो कार्यकाल समाप्त हुनु अघि कुनै न कुनै सम्झौतासम्म पुग्न चाहन्छ ।
कतारको विकल्प
कतारले हमासलाई बाहिर पठाउने अवस्थामा, भविष्यमा उसको राजनीतिक कार्यालय कहाँ हुने स्पष्ट छैन । हमासको कार्यालय ईरानमा स्थानान्तरण हुनसक्ने अनुमान गरिएको छ । तर यो वर्ष जुलाईमा तेहरानमा हमासको राजनीतिक शाखाका प्रमुख इस्माइल हनियाको हत्या भएपछि त्यहाँ हमासमाथि इस्राइलको खतरा रहेको आशंका पनि गरिएको छ । त्यस्तो अवस्थामा पश्चिमी मुलुकहरूसँगको कूटनीतिक संवाद बन्द हुने सम्भावना पनि बढ्न सक्छ ।
हमासका लागि टर्की एक उत्तम विकल्प हुनसक्छ । टर्की नेटोको सदस्य र एक सुन्नी बहुल मुलुक हो । टर्कीले अपेक्षाकृत सुरक्षा दिने स्थान दिन सक्छ । गत वर्ष टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले इस्तानबुलमा हमास नेता इस्माइल हनिया र उनको प्रतिनिधिमण्डललाई स्वागत गरेका थिए । त्यहाँ दुवै पक्षबीच गाजामा बिना रोकटोक मानवीय सहायता पुर्याउने र क्षेत्रका लागि स्थायी शान्ति प्रक्रिया बनाउन छलफल भएको थियो।
हालको समयका लागि हमासका नेताहरूको प्रमुख चिन्ता व्यक्तिगत सुरक्षा हो, किनकि विगत चार महिनामा उनका दुई शीर्ष नेताहरूको मृत्यु भइसकेको छ । जुलाईमा तेहरानमा इस्माइल हनियाको हत्या भयो र अक्टोबरमा गाजामा इजरायली सेनाको हमलामा याह्या सिनवारको मृत्यु भयो। इस्राइलले यसलाई गत वर्षको अक्टोबर ७ को हमलाका मास्टरमाइन्ड मानेको थियो ।
अमेरिका किन बेचैन ?
यो कदम त्यस्तो समयमा उठाइएको छ, जब अमेरिकी अधिकारीहरू इजरायल सरकारको युद्ध समाप्त गर्न लिएको रवैया प्रति असन्तुष्ट देखिएका छन् । अक्टोबरमा अमेरिकी विदेश मन्त्री र रक्षा मन्त्रीले चेतावनी दिएका थिए कि यदि इस्राइलले ३० दिनभित्र ठूलो मात्रामा मानवीय राहत गाजा पुर्याउँदैन भने यसको अनिश्चित नतिजा भोग्नुपर्नेछ । संयुक्त राष्ट्रसंघका अधिकारीहरूले उत्तर गाजाको अवस्था अत्यन्त भयावह रहेको चेतावनी दिएका थिए ।
गाजामा युद्ध सुरु भएदेखि अमेरिकी राष्ट्रपति जो बाइडन र इजरायल प्रधानमन्त्री नेतन्याहूबीचको सम्बन्ध बिग्रँदै गएको छ । अमेरिका प्यालेस्टिनीहरूका लागि थप राहत सामग्री गाजा पुर्याउन र सम्झौतासम्म पुग्न जोड दिइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्