काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ४ महिनाको अवधिमा विकास खर्च निकै न्यून देखिएको छ । चालु आवको चार महिनाको अवधिमा सरकारको विकास बजेट खर्च १० प्रतिशत भन्दा पनि कम मात्रै भएको हो ।
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा विकास खर्च ९.८ प्रतिशत मात्रै भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्ममा सरकारको पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बराबर विनियोजन भएकामा जम्मा ३४ अर्ब ५३ करोड १० लाखबराबर खर्च भएको छ । यो विनियोजन गरिएको बजेटको ९.८ प्रतिशत मात्रै हो ।
त्यस्तै यो अवधिमा सरकारको बजेट घाटा ८६ अर्ब नाघेको छ । महालेखाको तथ्यांकअनुसार राजस्व संकलन र बजेट खर्च विवरणअनुसार सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको हो । चालु आवको कात्तिक मसान्तसम्म सरकारले ४ खर्ब १५ अर्ब २ करोड १ लाख बजेट खर्च गर्दा कुल ३ खर्ब २९ अर्ब १ करोड ५५ लाख प्राप्ति गरेको छ । यस अवधिमा सरकारको बजेट घाटा ८६ अर्ब ४६ लाख रुपैयाँ पुगेको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार ४ महिनामा गत वर्षको यहि अवधिको तुलनामा सामान्य सुधार भए पनि सरकारको बजेट खर्च गर्ने प्रवृत्ति भने पुरानै देखिएको छ । सरकारले चालु आवका लागि कुल १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याएको थियो । सोमध्ये ४ महिनामा ४ खर्ब १५ अर्ब २ करोड १ लाख खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सरकारी राजस्व संकलन वार्षिक लक्ष्यको २२.७७ प्रतिशत छ भने बजेट खर्च २२.३१ प्रतिशत छ ।
वित्तीय व्यवस्था शीर्षकमा चालु आर्थिक वर्षका लागि ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख बराबर विनियोजन भएकामा पहिलो चौमासिकमा ८९ अर्ब ९६ करोड २४ लाख बराबर खर्च भएको छ । सरकारको चालुतर्फको बजेट खर्च वार्षिक लक्ष्यको २५.६५ प्रतिशत छ । चालुगत शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्ममा २ खर्ब ९२ अर्ब ५२ करोड ६७ लाख बराबर खर्च भएको छ ।
कात्तिक मसान्तसम्मको राजस्व संकलन वार्षिक लक्ष्यको २२.३६ प्रतिशतबराबर छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख राजस्व संकलन गर्ने लक्ष्य राखिएकामा ४ महिनाको अवधिसम्म ३ खर्ब २९ अर्ब १ करोड ५५ लाख कुल प्राप्ति गरेको देखिन्छ ।
चालु आर्थिक वर्षको ४ महिनामा सरकारले ३ खर्ब २३ अर्ब २४ करोड बराबर राजस्व संकलन गरेको छ । यस अवधिमा कर राजस्व वार्षिक लक्ष्यको २२.५७ प्रतिशत अर्थात २ खर्ब ८९ अर्ब ८९ करोड ९५ लाख र गैरकर राजस्व लक्ष्यको २४.६८ प्रतिशत अर्थात् ३३ अर्ब ३४ करोड ५ लाख बराबर उठेको छ । सरकारले चालु आर्थिक वर्षका लागि ५२ अर्ब ३२ करोड ६५ लाख बराबर वैदेशिक अनुदान उठाउने लक्ष्य राखेकोमा हालसम्मको प्रगति शून्य छ । अन्य शिर्षकमा ५ अर्ब ७७ करोड ५५ लाख प्राप्ति गरेको छ ।
प्रतिक्रिया दिनुहोस्