Skip to content

‘सरकारले बजेट, नीति तथा कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्छ’

nabil bank

मोरङ । कोशी प्रदेशस्तरीय सत्तारुढ दुई दलीय संयन्त्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गराउन सरकार लाग्नुपर्ने सुझाव दिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कोशी प्रदेश इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राईले संयन्त्रको आज बसेको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै बजेट कार्यान्वयनमा रहेका बाधा अवरोध हटाउन सुझाव दिएको बताए। उनले सुशासन, पारदर्शितासहित प्रदेश सरकारले विकास र समृद्धिका कामलाई तीव्र गतिमा बढाउन संयन्त्रले आवश्यक सहयोग गर्ने निर्णय गरेको जानकारी दिए ।

यस्तै, प्रदेश सरकार मातहत सञ्चालनमा रहेका बहुर्षीय र क्रमागत आयोजनालाई वर्गीकरण गरी समयमै सम्पन्न गर्न संयन्त्रले सुझाव दिएको छ । प्रदेशमा सञ्चालित ठूला आयोजनाको भुक्तानी समस्या समाधान गर्न सङ्घीय सरकारसँग संयन्त्र र प्रदेश सरकारले पहल गर्ने निर्णय भएको पनि त्यस अवसरमा जानकारी दिइयो ।

संयन्त्रको बैठकले प्रदेश सरकारका प्राथमिकतामा रहेको लगानी सम्मेलन, अन्तर्राष्ट्रिय चिया सम्मेलन, पर्यटन वर्ष २०८२ कार्यक्रम ऐतिहासिक र पहिलो भएकाले यसलाई निजी क्षेत्र र प्रदेशवासीले आफ्नो कार्यक्रम भएको अनुभूति गराउने गरी भव्य रूपमा सम्पन्न गराउन ध्यानाकर्षण गराएको छ ।

यसैगरी ताप्लेजुङमा निर्माण हुने पाथिभरा केवलकार निर्माण पक्ष र आन्दोलन पक्षसँग त्रिपक्षीय वार्ता गरी समस्या समाधान गर्न र पहिचानवादी आन्दोलनकारीसँग वार्ता गरी सम्वादमार्फत परिस्थितिलाई सामान्यतर्फ लैजान संयन्त्रले सुझाव दिइएको छ ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्तकुमार कार्कीले प्रदेशमा हुने लगानी सम्मेलनमा निजी क्षेत्र सहआयोजक भएकाले यसमा कुनै विवाद नरहेको र केही विवाद भए चाँडै समाधान हुने विश्वास व्यक्त गरे । नेपाली कांग्रेसका प्रदेश सभापति एवं पूर्वमुख्यमन्त्री उद्धव थापाले पहिचानवादीको आन्दोलनलाई वार्ता एवं सम्वादबाट निकास दिइने धारणा राखे ।

कोशी प्रदेशस्तरीय दुई दलीय संयन्त्रमा एमालेबाट इन्चार्ज एवं पूर्वमुख्यमन्त्री राई, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र सो पार्टीका प्रदेश अध्यक्ष घनश्याम खतिवडा, नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभापति एवं पूर्वमुख्यमन्त्री थापा, सो पार्टीका महामन्त्रीद्वय भूपेन्द्र राई र उमेश थापा छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime