Skip to content
Prabhu

पूर्वगोर्खा परिवारको अध्यागमन नियमबारे लन्डनमा अन्तरक्रिया

nabil

लन्डन । लन्डनका वरिष्ठ ब्यारिष्टरहरुसंग भूतपूर्व गोर्खा परिवारको अध्यागमन सम्बन्धि नयां नियमबारे अन्तरक्रिया आयोजना गरेको छ ।  लन्डनस्थित ‘एभरेष्ट ल सोलिसिटर्स’ को आयोजनामा १ डिसेम्बर आइतबार भर्चुअल अन्तरक्रिया भएको हो ।

अन्तरक्रियामा लन्डनस्थित ल फर्म वान पम्प कोर्टसँग आबद्ध ब्यारिष्टरहरु जस्टिन फिसर, किलिन म्याककार्थी र डेबोरा रिभिलले गोर्खा सन्तान तथा परिवारको नयां परिवर्तित नियम सम्बन्धमा स्पष्ट पारेका थिए । एभरेष्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर राजु थापाले स्वागत गर्दै ब्यारिष्टरहरुको परिचय दिएका थिए ।

गत १३ वर्षदेखि सञ्चालनमा रहेको उक्त फर्ममार्फत अहिलेसम्म गोर्खा सन्तानका मुद्दाहरु झन्डै ९० प्रतिशत सफल गरि करिब ७ हजार गोर्खालीका सन्तान यूके आइसकेको उनले जनाए । ब्यारिष्टर किलिन म्याककार्थीले भूतपूर्व गोर्खाहरुले कसरी बेलायतमा आवासीय अधिकार प्राप्त गरे र अभियान कसरी सफल भयो भन्ने चर्चा गर्दै वर्तमान परिवर्तित नीतिबारे अवगत गराएकी थिइन् ।

सन् २०२३ अक्टोबर ५ मा होम अफिसले गोर्खा र हङकङ सैनिकहरुका लागि नयाँ नियम परिवर्तन गरे पनि पछि उक्त नियमविरुद्ध मुद्दा परेपछि अदालतले गोर्खाहरुकै पक्षमा फैसला गरेको उनले जनाइन्। फर्स्ट टिएर ट्राइबुनलले नेशनालिटी, इमिग्रेसन एन्ड असाइलम एक्ट र युरोपियन महासन्धिको धारा ८ बमोजिम आवेदकलाई पारिवारिक जीवनबाट विमुख गर्न नमिल्ने भन्दै अपिल राइट्स दिन आदेश गरेको उनको भनाइ थियो ।

‘अति विपन्न’ अवस्थाका भूतपूर्व गोर्खाका बिधवा र तिनका सन्तान सबैलाई बेलायतले भिसा शुल्क नलिने भएपनि त्यसका लागि यथेष्ठ प्रमाण जुटाउनु पर्ने, समय धेरै लाग्ने र यसमा धेरै कानूनी झन्झट हुने उनले बताइन् । अर्की ब्यारिष्टर जस्टिन फिसरले आवेदन गर्ने तरिका र दस्तुरबारे स्पष्ट पारिन् ।

ब्यारिष्टर डेबोराले नेपालबाट आवेदन हाल्ने तरिका, आवेदनमा साक्षी बयान लेख्दा ध्यान दिनुपर्ने सन्दर्भ आदि बारे प्रस्ट्याएकी थिइन् । ‘कभरिङ लेटर’ मा गल्ती हुन नहुने र आफ्नो बयान झुटो हुन नहुनेमा उनको जोड थियो । ठेगाना पनि सही आफू बसिरहेकै ठाउंको हुनुपर्ने, स्पोन्सर गर्नेले आफ्ना सन्तानलाई पैसा नियमित पठाइरहेको अर्थात आर्थिक निर्भरताबारे बुझाउन जरुरी हुने उनको धारणा छ ।

बैंक स्टेटमेन्ट वा अन्य कागजात नक्कली नबनाउन  पनि उनले सुझाइन् । उनले लामो समय अगाडि बाबु आमा बितिसकेको भए उनीहरुको हकमा भिसा हुने सम्भावना निकै कम रहेको पनि प्रष्ट्याइन् । कार्यक्रममा एभरेष्ट ल सोलिसिटर्ससंग आबद्ध सोलिसिटर सैयद इमरान अलीले पनि विभिन्न जिज्ञासा मेटाएका थिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal