बर्दिया । लुम्बिनी प्रदेशमा बर्दिया जिल्लामा धेरै उद्योग खासै छैनन्भन्दा हुन्छ । फरक जिल्ला भए पनि बाँके र बर्दियालाई बाहिरबाट हेर्दा एउटै रूपमा हेर्ने गरिन्छ । पछिल्लो समय भने बर्दिया जिल्लाले आफूलाई पर्यटकको लागि मात्र नभएर उद्योगमा समेत लगानी बढाउँदै गएको जिल्लामा चिनाउन थालेको छ ।
नेपालगञ्जदेखि गुलेरिया, धनगढी निस्कने हुलाकी राजमार्गको निर्माणले गति लिएको छ । नेपालगञ्जदेखि गुलेरिया जाने बाटो फराकिलो बनेको छ ४० प्रतिशत ठाउँमा कालोपत्रे हुन बाँकी छ । जसले गर्दा बर्दियाको दक्षिण भेगलाई नेपालगञ्जको ठूलो सहर भारतीय सिमाना रुपैडियामा जोड्नसमेत सजिलो भएको छ ।
यही सम्भावनामा लुम्बिनी सेरामिक्सले बर्दियाको गुलेरिया नगरपालिकामा ४ अर्ब लगानीमा १२ बिगाह क्षेत्रफलमा टायल उद्योग लगाएको छ ।लुम्बिनी सेरामिक्स लिमिटेडले बर्दियालाई उद्योगको जिल्लाको रुपमा चिनाउन मद्दत गर्न टायल सञ्चालन गरेर थप इटा थपेको छ ।
उद्योगको अध्यक्ष तथा सञ्चालक समितिमा युवाको बाहुल्यता छ । जसको अध्यक्षमा सुब्रत धिताल छन् भने सञ्चालकमा श्याम सुन्दर खेतान, आशुतोस खेतान, सिन्नी खेतान, शशी चौरिवाल, सिर्जन अर्याल छन् । ‘लेमिनार ब्रान्ड’बाट नेपाली बजारमा नेपालमा बनेको टायल ल्याएका उद्योग अध्यक्ष प्रारम्भिक चरणको बजारको प्रतिक्रियाले उत्साहित छन् ।
केही दिन अगाडि उद्योग परिसरमा काठमाडौंबाट पुगेका सञ्चारकर्मीसँग धितालले काठमाडौंबाट दूरीमा टाढा रहेको उद्योगबाट सहज रूपमा प्रतिस्पर्धा गर्न सकिने र नेपालीलाई नेपालमा उत्पादन भएको टायलको विश्वास जगाउन सकिने योजना सुनाउँदै थिए । ‘निर्माण क्षेत्रसँग सम्बन्धित सामग्रीको ५० प्रतिशत बजार काठमाडौं उपत्यका र आसपासको क्षेत्र हो,’ धितालले भने,‘ उद्योग निर्माणमा लागेको लागत र कच्चा पदार्थको सस्तोले गर्दा हामीहरुले अन्य उद्योगको भन्दा सस्तो मूल्यमा टायल दिन सकेका छौं ।’
टायल बन्नको लागि चाहिने मुख्य कच्चा पदार्थ भनेको विशेष प्रकारको माटो हो । जुन नेपालमा भने पाइदैन । यसको लागि उद्योगले भारतबाट माटो आयात गर्छ । यसबाहेकका केही कच्चा पदार्थ नेपालमा पाइन्छ । धितालले नेपालमा पाइने माटोबाट भन्ने टायलको विषयमा परिक्षण भइरहेको र डडेल्धुराको माटोमा भएको परीक्षणले केही मात्रामा स्वदेशी कच्चा पदार्थको प्रयोग बढ्ने देखाएको बताउँछन् ।
उद्योगको उत्पादन क्षमता दैनिक १ लाख ४० हजार वर्गफिट रहेको उद्योगका सञ्चालक अभिनव चुरिवाल बताउँछन् । दशैंदेखि परीक्षण उत्पादन गरेको उद्योगले अहिले दैनिक व्यवसायिक उत्पादन सुुरु गरेको छ । उद्योगमा प्राविधिक क्षेत्र तथा अति दक्ष बाहेक अन्य कामदार बर्दियाका स्थानीय छन् । ३ सय जना स्थानीयले उद्योगमा प्रत्यक्ष रोजगारी पाएका छन् । उद्योग चल्दै गएपछि अप्रत्यक्ष रोजगारी पाउनेको संख्या अझै बढ्ने छ ।
नेपालमा करिब १२ देखि १५ अर्बको हाराहारीमा टायलको बजारमा छ । पछिल्लो समय भारतीय लगानी तथा स्वदेशी लगानीमा टायल उद्योग खुल्ने क्रम बढेको छ । पछिल्लो ३ वर्षमा नेपालमा उद्योगहरुमा खुलेको नयाँ लगानी भनेको टायल नै हो । उद्योगका अध्यक्ष धिताल नेपालमा उत्पादन भएका टायलले नै नेपाली बजारको मागभन्दा बढी उत्पादन हुने अवस्थामा पुगेको बताउँछन् । तर,अझै पनि भारतबाट टायल आयात भने रोकिएको छैन ।
प्रतिक्रिया दिनुहोस्