काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालमा लगानीका लागि अनुकूल वातावरण सिर्जना हुँदै गएको दाबी गरेका छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको अर्थ समिति बैठकमा बोल्दै उनले सार्वभौम क्रेडिट रेटिङमा नेपालमा लगानीका निम्ति अनुकूल वातावरण सिर्जना भएको सन्देश विश्वसमुदायमा गएको बताए ।
अर्थमन्त्री पौडेलले अहिले मुलुकको अर्थतन्त्र सुधारतर्फ अघि बढे पनि दबाबमुक्त भने भइनसकेको जिकिर गरे । राजस्व छुटका विषयमा मन्त्रालय होसियार रहेको र राजस्व चुहावट रोक्न समेत ध्यान केन्द्रित गरेको उनको भनाइ छ ।
अर्थमन्त्री पौडेलले अहिले बैंकहरूमा थुप्रिएको रकम उत्पादन र उत्पादकत्वको क्षेत्रमा लगानी गर्नका लागि आवश्यक पहल भइरहेको पनि बताए । सहकारी लघुवित्त समस्याका विषयमा धेरै छलफल भएको भन्दै मन्त्री पौडेलले छलफल निष्कर्षोन्मुख रहेको दाबी गरे ।
बैठकमा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा समस्या कायमै रहेकाले यसलाई समाधान गर्न निरन्तर क्रियाशीलता जरुरी रहेको औंल्याए । विदेशी सहयोगमा ऋणको अनुभव निकै तितो रहेकाले अब अनुदान सहयोगमा ध्यान दिनुपर्नेमा उनको जोड थियो ।
उनले परिणाम नदिने आयोजनामा ऋण लिने अवस्थाको अन्त्य गर्नुपर्ने उल्लेख गरे । त्यस्तै, पूर्वअर्थमन्त्री वर्षमान पुनले पुँजीगत खर्च बढाउनका लागि अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्नुपर्ने सुझाब दिए । नयाँ चरणको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्र र सरकार मिलेर अघि बढ्नुपर्ने उनले बताए ।
मुलुकको समग्र आर्थिक प्रणालीमा राजस्व संकलनको अवस्था र भन्सार कार्यालयहरूले व्यहोर्नुपरेका नीतिगत एवं व्यावहारिक समस्या र समाधानका उपाय सम्बन्धमा समितिले अर्थ मन्त्रालयसँग छलफल गरेको हो ।
प्रतिक्रिया दिनुहोस्