काठमाडौं । उद्योग संगठन मोरङ र पूर्वाञ्चल विश्वविद्यालयबीच व्यवसाय सम्बर्धन केन्द्र तथा स्टार्टअप कार्यक्रम सञ्चालन गर्ने गरी सम्झौता भएको छ । सम्झौतामा संगठनका तर्फबाट स्टार्टअप एन्ड इनोभेसन कार्यक्रममा संयोजक सुरेन्द्र गोल्छा र विश्वविद्यालयका तर्फबाट फेकल्टी अफ म्यानेजमेन्टका डिन डा. सन्देशदाश श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
संगठनले विगत ३ वर्षदेखि सञ्चालन गर्दै आएको स्टार्टअप एन्ड इनोभेसन कार्यक्रमको माध्यबाट युवाहरुलाई उद्यमशीलता रूपान्तरण र ईको सिस्टम विकास गर्ने सन्दर्भमा संघीय सरकारले उक्त कार्यक्रमलाई पहिचान गरी कार्यक्रमलाई थप बढावा दिन सरकारले यस आर्थिक वर्षको बजेटमा ७ प्रदेशमा व्यवसाय सम्बर्धन केन्द्र तथा स्टार्टअप कार्यक्रम संचालन गर्न वजेट विनियोजन गरेको छ ।
हस्ताक्षर कार्यक्रममा कोशी प्रदेशको हकमा उद्योग संगठन मोरङसँग सहकार्य गरी व्यवसाय सम्बर्धन केन्द्र संचालन गर्नु निजी क्षेत्रका लागि गौरवको विषय भएको संगठनका कार्यक्रम संयोजक सुरेन्द्र गोल्छाले बताए । उनले उद्यमशिलता विकासका सन्दर्भमा नीजि क्षेत्रको प्रयासलाई संघीय सरकारले पहिचान गरी सहकार्य गर्नुले आफूहरुलाई उत्साहित बनाएको भन्दै सरकारलाई धन्यवाद दिए ।
संगठन र विश्वविद्यालयबीच भएको सम्झौताअनुरुप कार्यक्रमलाई ट्रिपल हेलेक्स पद्धतिअनुसार निजी क्षेत्र, शैक्षक क्षेत्र र स्थानीय सरकारको सहकार्यमा र संघीय सरकारको सहयोगमा विराटनगरमा स्थापना हुने व्यवसाय सम्बर्धन केन्द्रले स्टार्टअप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले बताए । उनले उद्योग संगठन, पूर्वाञ्चल विश्वविद्यालय र विराटनगर महानगरपालिका सहकार्यमा स्टार्टअप एन्ड इनोभेसन कार्यक्रमलाई थप संस्थागत गरिदै लगिने स्पष्ट पारे ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजु थपलियाले युवाहरुलाई उद्यमशिलतातर्फ आकर्षित गर्न सम्बर्धन केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै केन्द्रबाट प्रदान हुने सेवालाई आवश्यकता अनुसार आगामी दिनमा परिमार्जन र परिस्कृत गरी थप प्रभावकारी बनाउने धारणा राखे ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सहसचिव छविन्द्र पराजुलीले नेपाल सरकारले युवा उद्यमशीलता प्रबर्द्धन गर्न सातै प्रदेशमा व्यवसाय सम्बर्धन केन्द्र तथा स्टार्टअप कार्यक्रम सञ्चालनका लागि कार्यक्रम बनाएको, उक्त कार्यक्रम कार्यान्वयनका लागि उद्योग संगठन मोरङमा सञ्चालित स्टार्टअप तथा इनोभेशन कार्यक्रमलाई नै थप व्यवस्थित गरी अघि बढाउन लागेको वताए ।
विश्वविद्यालयका तर्फबाट फेकल्टी अफ म्यानेजमेन्टका डिन सन्देशदाश श्रेष्ठले कार्यक्रमअन्तर्गत पहिलो चरणमा विश्वविद्यालयका विभिन्न १० वटा सम्बन्धन प्राप्त कलेजबाट ३० वटा आईडिया एक आइडियामा ३ जना रहने गरी ९० जना विद्यार्थीहरुलाई छनौट गर्ने र दोस्रो चरणमा ९० जना वाट ३० जना छनौट गरी ७ महिनासम्म सम्बर्धन केन्द्रको माध्यमबाट स्टार्टअप इको सिस्टमका सेवाहरु उपलब्ध गराइने बताए । कार्यक्रममा संगठनका उपाध्यक्ष विपिन राठी, विश्वविद्यालयको डेपुटी डिन सोनिला शाक्यका साथै विभिन्न क्याम्पसका प्रमुखरुको उपस्थिति थियो ।













प्रतिक्रिया दिनुहोस्