काठमाडौं । निजी क्षेत्रका उद्योगी व्यवसायीहरुले अर्थतन्त्र चलायमान बनाउनका लागि स्थिर नीति आवश्यक रहेको बताएका छन् । शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औं वार्षिक साधारणसभा एंवम् सातौं महासभालाई सम्बोधन गर्दै व्यवसायीहरुले देशको अर्थतन्त्रलाई चलाएमान बनाउनका लागि स्थिर नीतिको आवश्यकता रहेको बताएका हुन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको वर्तमान आर्थिक अवस्था खुम्चिएकाले आम नागरिकमा मनोबल बढाउनुपर्ने बताए । अध्यक्ष ढकालले वर्तमान अवस्थामा अर्थतन्त्र खुम्चिएको र यसबाट पार पाउनका लागि स्थिर नीति आवश्यक रहेको बताएका हुन् । ‘आयातमा प्रतिबन्ध लगाउनुका कारण अहिले समस्या आएको छ । वैदेशिक मुद्राको सञ्चिति मात्र बढाउने कामले अर्थतन्त्र बलियो हुँदैन,’ उलने भने ।
उनले अर्थतन्त्र चलायमान नहुँदा यो समस्याको मूल कारण सबै निकायको हात रहेको र सरकारले लिएका नीतिहरूले यस अवस्थाको निर्माण गरेको बताए । ‘हामीले एक अर्कोलाई दोष लगाएर अघि बढ्न सक्दैनौं । यस समस्याको समाधान गर्न सबै निकायको सहकार्य आवश्यक छ,’ अध्यक्ष ढकालले भने ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अहिले निजी क्षेत्रका लागि स्थिर नीति र स्थिर सरकारको आवश्यक रहेको बताए । ‘अहिले हामीलाई स्थिर सरकार र स्थिर नीतिको आवश्यकता रहेको छ । यस विषयमा ध्यान दिन आवश्यक रहेको छ,’ उनले भने ।
उनले निजी क्षेत्रमध्य कुनै एउटा क्षेत्रमा मात्र समस्या परे त्यसको असर अन्य क्षेत्रहरुमा समेत पर्ने बताए । उनले अर्थतन्त्रमा संकूचन आउँदा निजी क्षेत्रको मनबोल खस्किनेदेखि यस क्षेत्रबाट पलायन हुनुपर्ने अवस्था सिर्जना भएको बताए । उनले यो अवस्थालाई रोक्न सबै निकायले सहयोग गर्न पनि अपिल गरे ।
नेपालले दक्षिण एसियामा भारतपछि उच्च रेटिङ पाएको खुसीको कुरा भएपनि नीतिगत, प्रशासनिक सुधारमा काम गरेनौं भने रेटिङको प्रतिफल सोचेजस्तो आउन नसक्ने बताए । यसका लागि सरकारले नीतिगत र प्रशासनिक सुधारका पहल गर्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरुको भुक्तानी गर्न सरकारले ध्यान नदिएको बताएका छन् । अर्थमन्त्रीले निर्माण व्यवसायीहरुको बक्यौता भुक्तानीको लागि कुनै समस्या नहुने बताएपनि कार्यान्वयन हुन नसकेको बताए ।
उनले नेपाली नागरिकले विदेशी मुलुकमा गएर रेमिटेन्स मार्फत अर्थतन्त्र चलायमान गराउने प्रयास गर्दा पनि आन्तिरक अर्थतन्त्र अझैपनि चलायमान हुन नसकेको भन्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने उनको भनाइ थियो । ‘हामीले हाम्रो समस्याको बारेमा मन्त्रालयलदेखि अन्य सरकारी निकायहरुमा भेटघाट गर्दा समस्याहरुको समाधान गर्ने आश्वसन दिए पनि हाम्रो भुक्तानी भएको छैन् यसमा सरकारले तत्काल ध्यान दिन आवश्यक छ,’ उनले भने ।






प्रतिक्रिया दिनुहोस्