Skip to content
Prabhu

शृङ्खलाबद्ध लुटपाटका घटनाले जानकीवासी त्रसित


बाँके । बाँकेको जानकी गाउँपालिकाका बस्तीमा शृङ्खलाबद्ध लुटपाट र डकैतीका घटना हुन थालेपछि स्थानीय त्रसित भएका छन् ।

जानकी–३ इन्द्रपुरमा गत फागुन २३ गते हतियारसहित आएका छजना लुटेराले कुटपिट गर्दा सन्तोष कठरिया थारूको मृत्यु भयो । लुटेराको प्रतिकार गर्न खोज्दा गम्भीर घाइते भएका सन्तोषको उपचारका क्रममा मृत्यु भयो भने उहाँकी श्रीमती सविता राजवंशी थारू घाइते भएकी छन् ।

जानकी–६ कपासीका लोकेन्द्रबहादुर बुढाक्षेत्रीको घरमा गत चैत २२ गते राति डाँकाहरूको समूहले लुटपाट गर्यो । करिब राति १ बजेतिर आएको डाँका समूहले आफूलाई कुटपिट गरी नगद र गरगहना लुटेर लगेका घरधनी बुढाक्षेत्रीले बताए । राति एक्कासि घरभित्र प्रवेश गरेको उक्त समूहसँग पेस्तोल, तरबार र खुकुरी भएकाले आफूहरू प्रतिकारमा उत्रिन नसकेको उनले बताए । डाँकाहरूको समूहले घरपरिवारलाई बाँधेर लुटपाट गरेको पीडितको भनाइ छ ।

शृङ्खलाबद्ध लुटपाट र डकैतीका घटना हुन थालेपछि त्रसित भएका जानकी गाउँपालिकावासीले स्थानीय सरकार तथा प्रहरी प्रशासनसँग सुरक्षाको माग गरेका छन् ।

गाउँपालिकाका विभिन्न बस्तीमा सर्वसाधारणको ज्यान जानेगरी भएका लुटपाटका घटनाले गाउँपालिकावासी डर, त्रासमा बाँच्न बाध्य भएका जानकी–४ खजुरखुर्द्धका अगुवा पदमबहादुर धितालले बताए ।

उनका अनुसार बितेको दुई महिनामा जानकी–३ मानपुर, वडा नं ४ को साहदतपुर र ढुडुवार, वडा नं ६ को कपासी र सल्यानीटोलमा गरी आधा दर्जनबढी लुटपाटका घटना भएका छन् । डकैती समूहको लुटपाट र कुटपिटका घटना बढीरहेकाले स्थानीयले कहिले आफ्नै घरमा त्रासदीपूर्ण वातावरण बन्ने हो भन्दै सुरक्षाको माग गरेका उनको भनाइ छ ।

सर्वसाधारणले असुरक्षित महसुस गरी आफ्नो घर छाड्न बाध्य भएकाले गाउँबस्तीमा शान्ति सुरक्षाको व्यवस्था कायम गरी लुटपाटका घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने जानकी–६ का अगुवा सुरेश यादवले बताए।

‘यहाँका विभिन्न बस्तीमा सर्वसाधारणको ज्यान जानेगरी भएका शृङ्खलाबद्ध घटनाले स्थानीयमा त्रासको वातावरण सिर्जना गरेको छ’, उनले भने, ‘बितेको दुई महिनामा पालिकामा एकजनाको ज्यान जानेगरी छवटा लुटपाटका घटना भएका छन् । हालसम्म एकजना पनि दोषी पक्राउ परेका छैनन् ।’

लुटपाटका घटनाले आफूहरू असुरक्षित भएको भन्दै पालिकावासीले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसमक्ष सुरक्षाको माग गरेका जानकी–५ का स्थानीय राजितराम यादवले बताए ।

गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय खजुरखुर्द्ध, जोगागाउँ प्रहरी चौकी, बेलभार र गनापुर प्रहरी चौकीमा थप जनशक्ति परिचालन गरेर भए पनि अविलम्ब शान्ति सुरक्षाको अनुभूति दिलाउन अनुरोध गरिएको उनले जानकारी गराए।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले लुटपाटका घटनाको अनुसन्धान भइरहेको बताउँदै थप जनशक्ति परिचालन गरेर स्थानीयलाई शान्ति सुरक्षा प्रदान गरिने जानकारी दिए।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal