काठमाडौ । १४० वर्षे पारिवारिक व्यावसायिक घराना ज्योति ग्रुप विधिवत् रुपमा टुक्रिएको छ। दाजुभाइबीच लामो समयदेखि अंश विवाद बढेसँगै औपचारिक रुपमा ज्योति ग्रुप टुक्रिएको हो।
सम्पत्ति बाँडफाँडको विषयमा सुरु भएको विवाद अड्डा अदालत हुँदै अन्ततः व्यावसायिक समूह नै विभाजन हुने अवस्था सिर्जना भएको हो। दाजुभाइ पद्म ज्योति र रुप ज्योतिले अब आआफ्नै व्यवसाय सञ्चालन गर्ने छन् । दाजु पद्म ज्योतिले आइतबारबाट पद्म ज्योति ग्रुप स्थापना भएको घोषणा गरेका छन् । आज राजधानीमा आयोजित एक कार्यक्रममा उनले धेरै बाधा र चुनौतीहरू पार गरेर पद्म ज्योति समूह स्थापना भएको बताए ।
पद्मज्योति ग्रुपले गुणस्तरका लागि परिचित आफ्ना विश्वसनीय ब्रान्डहरूसँगै भविष्यलाई आकार दिन नयाँ योजना र रणनीतिहरू पनि ल्याइरहेको बताइएको छ । नयाँ व्यावसायिक समूह पद्म ज्योतिले लोगो पनि सार्जननिक गरेको छ । कलश र अष्टमंगल समावेश लोगोले संस्कृति, सकारात्मक सोच, परिवर्तन र अर्थपूर्ण प्रभावलाई समेट्ने बताइएको छ । यस समूहअन्तर्गत सञ्चालनमा रहेका उद्योग र कम्पनीको नाम पनि घोषणा गरिएको छ ।
उक्त समूहको अध्यक्षमा पद्म ज्योति आफैं रहनेछन् । उनले बुबा मणिहर्षको विरासतलाई अवलम्बन गर्दै नयाँ अध्याय सुरु भएको बताए । उनका अनुसार पद्मज्योति ग्रुपअन्तर्गत हिमाल स्टिल, भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स, हिमाल सिमेन्ट, हिमाल अक्सिजन, हिमाल वायर्स, ज्योति स्पिनिङ मिल्स, भाजुरत्न फार्मास्युटिकल्स र होन्डा मोटरसाइकल छन् ।
समूहका निर्देशक सौरभ ज्योतिले लामो विरासत बोकेको व्यावसायिक समूह छुट्टिनु परेको भन्दै दुःख व्यक्त गरे । काकासँगको व्यावसायिक सम्बन्ध बिग्रिए पनि अब यसलाई एउटा सिकाइ र पाठका रुपमा लिएर अगाडि बढ्ने उनको भनाइ छ ।
मणिहर्ष ज्योतिले सन् १९२० मा व्यवसाय सुरु गरेका थिए । पद्म ज्योतिले सौरभ ज्योति, सृजना शाक्य ज्योति, सुहिद ज्योति र आरती ज्योतिलाई सँगै लिएर नयाँ अध्याय सुरु भएको बताए ।












प्रतिक्रिया दिनुहोस्