काठमाडौं । खस्कँदो व्यापारको मारमा परेको नेपाल टेलिकमले दिने लाभांशसमेत घटेको छ ।
पछिल्लो १५ वर्षमा ४० प्रतिशतभन्दा बढी लाभांश दिइरहेको नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
१८ अर्ब चुक्ता पुँजी रहेको टेलिकममा सरकारको ९२ प्रतिशत र कर्मचारीसहित सर्वसाधारणको ८ प्रतिशत सेयर स्वामित्व रहेको छ । टेलिकमबाट सरकारले पुस मसान्तभित्रमा ४ अर्ब ९६ करोड लाभांश पाउने छ ।
विगतमा भ्वाइस सेवामा अध्याधिक फाइदा रहेका टेलिकम कम्पनीहरुको व्यापार वर्षेनी घट्दो क्रममा रहेको छ । नेपाल टेलिकम मात्र नभएर निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको समेत व्यापार हरेक वर्ष घट्दो क्रममा रहेको छ ।
इन्टरनेट सेवा प्रदायक कम्पनीको बढ्दो व्यापार तथा फेसबुक,भाइबर,ह्वाट्सएप तथा माध्यमको विकास गर्दा टेलिकम कम्पनीले भ्वाइस सेवा मार्फत गर्ने आम्दानी घटेको छ । डेटा प्याकको व्यापार सोचेअनुसार टेलिकम कम्पनीले बढाउन सकेका छैनन् ।
तथ्यांक हेर्दा टेलिकम कम्पनीको व्यापार हरेक वर्ष घट्दो क्रममा छ । सरकारी लगानीको नेपाल टेलिकमले आर्थिक वर्ष २०७३/७४ मा गरेको व्यापार ४० अर्ब ७४ करोड रुपैयाँको थियो । टेलिकमको व्यापार त्यसपछि भने बढ्न सकेको छैन । गत आर्थिक वर्षमा टेलिकमले ३४ अर्ब ४७ करोड रुपैयाँको व्यापार गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा टेलिकमको व्यापार ३६ अर्ब २७ करोड रुपैयाँ थियो ।
निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ६ वर्ष अगाडि ५९ अर्ब २१ करोड रुपैयाँसम्म कारोबार गरेको थियो । त्यसपछिका वर्षहरुमा एनसेलको कारोबार घट्दै गएको देखिन्छ । एकवर्ष अगाडिको वित्तीय विवरणमा एनसेलले जम्मा ३७ अर्ब ४४ करोड रुपैयाँको व्यापार गरेको थियो ।
दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन अनुसार भ्वाइस सेवाको कारोबार हरेक वर्ष घट्दो क्रममा रहेको छ । प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७५/७६ मा भ्वाइस सेवाको बजार ८९ प्रतिशत र इन्टरनेटको बजार ११ प्रतिशत थियो । आर्थिक वर्ष २०७९/८० मा आइपुग्दा भ्वाइस सेवाको बजार ७७ प्रतिशत र इन्टरनेट सेवाको बजार २३ प्रतिशत छ ।
सरकारी लगानीको टेलिकमले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई पहिलो पटक बोनस सेयर दिएको थियो । जसले गर्दा १५ अर्ब भएको टेलिकमको चुक्ता पुँजी १८ अर्ब भएको थियो ।
प्रतिक्रिया दिनुहोस्